Breaking

भुटानलाई हराउँदै बंगलादेश लगातार दोस्रोपटक साफ महिला च्याम्पियनसिपको फाइनलमा


काठमाडौँ— तोहुरा खातुनको ह्याट्रिकप्रेरित बंगलादेशले भुटानलाई हराउँदै लगातार दोस्रोपटक साफ महिला च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ । बंगलादेशले भुटानविरुद्ध ७–१ को सहज जित निकालेको हो ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशको जितमा तोहुराले ह्याट्रिक गर्दा कप्तान सविना खातुनले दुई गोल थपिन् । रितु पोर्ना चक्मा र सिउलियाजमले एकरएक गोल गरे ।

भुटानकी देकी ल्हाजोमले एक गोल फर्काइन् । जारी संस्करणमा ल्हाजोमको यो आठौँ गोल हो । उनी हालसम्म प्रतियोगिताको उच्च गोलकर्ता हुन् ।बंगलादेशले सातौँ मिनेटमा रितुको गोलबाट अग्रता बनाएको थियो । बंगलादेश पहिलो हाफमा ५–१ ले अगाडि थियो । बंगलादेशले दोस्रो हाफमा दुई गोल थप्यो ।

बंगलादेशले अब उपाधिका निम्ति भारत र नेपालबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल पनि आजै साँझ ६ः३० बजेदेखि दशरथ रंगशालामा हुने तालिका छ ।

साफको इतिहासमा लगातार दोस्रोपटक फाइनल पुगेको बंगलादेशले समग्रमा तेस्रोपल्ट फाइनल खेल्न लागेको हो । बंगलादेशले यसअघि सन् २०२२ मा उपाधि जित्दा फाइनलमा नेपाललाई पराजित गरेको थियो । बंगलादेशले त्यसअघि २०१६ को संस्करणमा फाइनल खेलेको थियो ।