सहकारीको रकम अपचलन प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परे यता राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा चरणबद्ध सडक आन्दोलनमा छ । पोखरापछि काठमाडौं केन्द्रित आन्दोलनमा रास्वपा होमिएको छ । सडक संघर्ष गरेरै राज्यसत्तालाई धक्का दिने रणनीतिमा रहेका रास्वपाजनले शुक्रबार काठमाडौंमा विरोध प्रर्दशन गरेका छन् ।
सहकारी ठगी तथा संगठित अपराधमा पार्टी सभापति रवि लामिछाने पक्राउ परे पछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता–कार्यकर्ता एकसातादेखि सडक आन्दोलनमा छन् । लगातार पाँच दिन पोखरा केन्द्रित विरोध प्रर्दशन गरेर थाकेपछि अझ भनौँ पोखराबाट लखेटिने भय बढेपछि काठमाडौँ केन्द्रित आन्दोलनमा होमिएको रास्वपाले शुक्रबार काठमाडौंमा आफ्नो शक्ति प्रर्दशन ग¥यो ।
न त पार्टीको झण्डा न सभापति रवि लामिछाने अंकित ब्यानर, पोष्टर नै । टाउकोमा निलो पट्टी, हातमा ‘ओई सरकार ओई, ८७ अर्ब खोइ ?’ यती ओम्नी खोई ? नक्कली भुटानी शरणार्थी खोई ? टीकापुर जग्गा, गिरीबन्धु खोई ?, राजनीतिक प्रतिशोध बन्द गर, अधिनायकवाद चल्दैन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर रास्वपाका नेता तथा कार्यकर्ताले सरकारविरुद्ध प्रदर्शन गरे । सो प्रदर्शनमा रास्वपा सांसद, केन्द्रीय नेतादेखि तल्लो तहका नेता कार्यकर्ता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह समर्थकसम्मको सहभागिता देखियो ।
पोखरामा भएको विरोध प्रदर्शनमा सर्वसाधारणको साथ नपाएको रास्वपाले काठमाडौं केन्द्रित आन्दोलनको पहिलो दिन भने समर्थक तथा सर्वसाधारण नागरिकको राम्रै साथ पायो । सहकारी प्रकरणमा रविलाई मात्रै पक्राउ गरेको भन्दै उनीहरु आक्रोशित देखिए । सहकारी ठगी प्रकरणमा मुछिएका सबैलाई पक्राउ गरेर कारबाही प्रक्रिया थालिनु पर्ने माग उनीहरुको छ । रविले न्याय नपाएसम्म आन्दोलन गर्ने उनीहरुले बताएका छन् ।
सडकमा सर्वसाधरण र समर्थकको साथले रास्वपा नेता कार्यकर्ता थप हौसिएका छन् । सभापतिको पक्राउलाई राजनीतिक प्रतिशोधको रुपमा व्याख्य गर्दै आएको रास्वपाले सरकारलाई घुँडा टेकाई छाड्ने अठोट लिएको छ । उनीहरुले सभापतिको रिहाइ मात्र नभई सहकारी पीडितको न्यायका लागि पनि आफूहरुको आन्दोलन भएको भएको दाबी गरेका छन् । सहकारी प्रकरणमा पक्राउ परेका सभापतिको रिहाइपछि पनि सहकारी पीडितलाई न्याय दिलाउन पनि आन्दोलन नरोकिने बताए ।
सरकारमाथि दबाब बढाउन भन्दै पोखरामा भएको आन्दोलनमा भने स्वयम् नेताहरुको उटपट्याङ हर्कतले रास्वपाले आलोचना खेप्नु प¥यो । सहकारी ठगी तथा संगठित अपराधको आरोपमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने अझै एकसाता प्रहरी हिरासतमा रहने छन् । बिहीबार जिल्ला अदालत कास्कीले अनुसन्धानका लागि प्रहरीलाई थप ७ दिनको म्याद दिएपछि रविको हिरासत बसाइँ लम्बिएको छ । सभापतिलाई सडकबाट न्याय दिलाउने उद्घोष गर्दै आन्दोलनमा होमिएको रास्वापजन सातौँ दिनमै थकित देखिँदा तत्काललाई आन्दोलन स्थगित गर्न बाध्य भएका छन् । शुक्रबार दिनभरी सडक तताएको रास्वपाले साँझ आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो । सडकबाद दवाव दिएकै कारण चौतर्फी आलोचना खेपिरहेको रास्वपाले अबको कार्यक्रम केन्द्रीय समिति बैठकले तय गर्ने जनाउँदै हालको आन्दोलनबाट पछि हटेको हो । अब रास्वपाको आगामी रणनीति कस्तो हुन्छ ? त्यो भने हेर्न बाँकी छ ।
प्रतिक्रिया