नेपालमा एकाध मुद्दा बाहेक त्यस्ता अनेक मुद्दा छन्, जुन असन्तुष्ट पक्षको माग आन्दोलनकै कारण टुंगोमा पुगेको छ । त्यसैले पनि होला आफ्नो माग सिद्ध गर्न सडकमा मान्छे उतारे पुग्छ भत्रे भाष्य निर्माण भएको छ । तर, अहिले भने पार्टीको प्राथमिकतामा जनताको मुद्दाभन्दा आफ्नै स्वार्थमा सीमित हुँदा राजनीतिक दलले गर्ने आन्दोलन फिका सावित हुँदै गएको छ ।
नयाँ वैकल्पिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले विगत एक सातादेखि देशका विभित्र स्थानमा आन्दोलन गरिरहेको छ । पोखरा, चिवतन, काठमाडौं जस्ता देशका ठूला शहरहरूमा रास्वपाले दिनदिनै आन्दोलन चर्काइ रहेको छ । तर, यो आन्दोलन जनताको कुनै मुद्दा बोकेरभन्दा पनि आफ्नै पार्टीको स्वार्थका लागि भइरहेको स्पष्ट छ । सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाका नेता कार्यकर्ताहरू उनको रिहाइको माग गर्दै सडक तताउन लागि परेका हुन् । सहकारीको रकम रवि आफैँले झिकेर अपचलन नगरेको भए पनि सहकारीबाट लगिएको रकम हिनामिनामा उनको पनि जिम्मेवार रहेको निष्कर्ष संसदीय विशेष छानविन समितिको प्रतिवेदनले निकाल्दा उनी कानुनी अनुसन्धानको दायरमा तानिएका छन् । त्यसैका विरुद्ध सडकमा उत्रिएका रास्वपा नेता, कार्यकर्ता आन्दोलनबाट नै सरकारलाई घुडा टेकाउने योजनामा छन् । तर, उनीहरूको योजनाले पोखरामा फेल खाइसकेको हुँदा काठमाडौंलाई नयाँ आन्दोलनको केन्द्र बनाउने तयारी छ ।
आन्दोलनबाट नै नेपाली राजनीतिमा स्थापित भएको हालका नेकपा माओवादी केन्द्र अब फेरि अर्काे आन्दोलन गर्ने तयारीमा छ । सरकारले भ्रष्टाचार, अनियमिततालाई नियन्त्रण गर्न नसकेको, विवादित व्यक्ति बचाउनतर्फ लागेको भन्दै आन्दोलनको घोषणा गरेको माओवादीको मुख्य एजेण्डामा पनि जनताको मुद्दा भेटिदैन । दैनिक उपभोग्य खाद्यात्र लगायतका सामानको मुल्य बढेर छोइ नसक्नु भइरहेको अवस्थामा माओवादीले राजनीतिक मुद्दालाई नै प्राथमिकतामा राखेर आन्दोलनमा होमिन खोजेको छ । रविमाथि सरकारले प्रतिशोधको राजनीति गरेको भन्दै प्रतिपक्षीलाई गोलबन्द गरेर सरकारविरुद्ध आन्दोलनमा जान लागेको हो ।
त्यस्तै अहिलको सत्ता पक्ष नेपाली कांग्रेस र नेकपा एमालेले पनि प्रतिपक्षमा हुँदा सडक सङ्घर्ष गरेको थियो । एमालेले गत वर्षको मंसिर ७ गते भ्रष्टाचार, अनियमितताको विषयलाई उठाएर सरकार विरुद्ध आन्दोलन गरेको थियो । तर, उक्त आन्दोलन सरकारविरुद्ध भने पनि आवरणमा एमालेले मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध शक्ति प्रदर्शन नै गरेर सडकमा कार्यकर्ता उतारेको थियो । कांग्रेसले पनि रवि दोस्रो पटक गृहमन्त्री भईसकेपछि उनीमाथि सहकारी ठगीमा छानविन गर्न भन्दै सडक र सदन दुवै तताएकै हो । यसले के पुष्टि गर्छ भने सबै राजनीतिक दलहरू आफू प्रतिपक्षमा हुँदा सडकमा त आएका छन् । तर, जनताको मुद्दाभन्दा आफ्नो स्वार्थका राजनीतिक मुद्दा लिएर । त्यसैले कार्यकर्ताले भरिने राजनीतिक दलहरूको आन्दोलन जनताको प्राथमिकतामा नै पर्न छोडेको छ ।
हात्तीको देखाउने र खाने दाँत दुइटा हुन्छ भने झै आन्दोलनको नेतृत्व गर्नेहरूको एजेण्डा पनि त्यस्तै देखिन्छ । आन्दोलनको उद्देश्य र आफ्नो भित्री स्वार्थ छुट्टै भए पनि बाहिर भने आमजनता सामु जे बिक्छ त्यही नै एजेण्डा बनाएर आन्दोलनलाई ठूलो रुप दिने गर्छन् । आन्दोलनको हवाला दिँदै जनतालाई सडकमा उतार्ने अनि आफ्नो दुनो सोझ्याउने परिपाटी बढ्दै जाँदा नयाँ र विकल्प भनिएकाहरुबाट पनि जनताले धोका पाउन थालेका छन् । साथै आशा जनाउनु पर्ने बेला उल्टै निराश बन्दै गएका छन् । दलहरूले जनताको मुद्दाभन्दा आफ्नो राजनीतिक स्वार्थलाई प्राथमिकतामा राख्दा उनीहरूको आन्दोलनले मूर्तरुप पाउन सकेको छैन । जसको पछिल्लो उदाहरण रास्वपाको आन्दोलन बनेको छ ।
प्रतिक्रिया