युक्रेनले आफूसँगको युद्धमा रुसले उत्तर कोरियाली सैनिक परिचालन गरेको दाबी गरेको छ । यसअघि ठूलो संख्यामा उत्तर कोरियाली सैनिकले रुसमा तालिम लिइरहेको चर्चा भएको थियो । युक्रेनले हालै सिमावर्ती रुसी सहर कुस्र्क क्षेत्रमा उत्तर कोरियाली सैनिकले गस्ती गरेको पाइएको दाबी गरेको हो ।
सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनविरुद्ध विशेष सैन्य अप्रेसन सुरु ग¥यो । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को सदस्यता प्राप्तिका लागि युक्रेनको निरन्तर प्रयास र रुसको कडा चेतावनीका बिचमा रुसले विशेष सैन्य अप्रेसन सुरु गरेको थियो । जुन हालसम्म जारी छ । रुसले युक्रेनलाई उक्त संगठनमा सामेल नहुन भनेको थियो । रुसको राष्ट्रिय सुरक्षा र सम्प्रभुतामा कतैबाट पनि आँच आउने स्थिति भएमा जुनसुकै कदम चाल्न सक्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निरन्तर चेतावनीलाई युक्रेनी राष्ट्रपतिले बेवास्ता गर्नु नै आजको स्थितिको प्रमुख कारण थियो ।
यो युद्धको साढे दुई वर्षको अवधिमा विकसित घटनाक्रम र विश्वभरिको तीव्र ध्रुवीकरण हेर्दा तेस्रो विश्वयुद्धको सम्भावना समेत देखिन्छ । युक्रेनसँग युद्ध जारी रहेकै अवस्थामा अहिले रुसमा उत्तर कोरियाका सेना पुगेका छन् । तालिमका लागि रुस पुगेका उत्तर कोरियाली सैनिकलाई रुसले परिचालन गरेको युक्रेनको दाबी छ । युक्रेनले हालै सीमावर्ती रुसी सहर कुस्र्क क्षेत्रमा उत्तर कोरियाली सैनिकले गस्ती गरेको पाइएको दाबी गरेको हो । युक्रेनले आफ्नो जासुसी एजेन्सीले यस्तो भेटाएको बताएको छ ।
युक्रेनी जासुस एजेन्सीले टेलिग्राममा गरेको एक पोष्टमा रुसको सुदूरपूर्वी क्षेत्रमा तालिम गरी उत्तर कोरियाली सैनिक पश्चिम रुस पुगेको र युक्रेनमा घुसपैठ गर्न लागेको आरोप लगाएको छ । उसले झण्डै १५ हजार उत्तर कोरियाली सैनिक रुसमा रहेको दाबी गरेको छ । यता दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रुटले रूसमा उत्तर कोरियाली सेनाको गस्तिलाई लिएर चिन्ता व्यक्त गरेका छन् । यसले अन्तर्राष्ट्रिय व्यवस्थालाई कमजोर पारी कोरियाली प्रायद्वीप र विश्वव्यापी शान्तिलाई खतरामा पार्नेसमेत उनीहरुले उल्लेख गरेका छन् । नेटो र यसका सदस्य राष्ट्रहरूसँगको सहकार्यमा यसको प्रतिक्रिया खोज्ने आशा व्यक्त गर्दै युनले दक्षिण कोरियाले प्योङयाङ र मस्कोबिचको सैन्य सहयोगको विरुद्ध सक्रिय रहि ‘चरणबद्ध उपायहरू’ अवलम्बन गर्ने बताएका छन् ।
यता तालिमका लागि रुसमा आइपुगेका हजारौं उत्तर कोरियाली सेना युक्रेनमा मस्कोको लडाइँलाई बलियो बनाउन तैनाथ गरिन सक्ने चिन्ता बढाएको अमेरिकी गुप्तचर निकायले पनि व्यक्त गरेका छन् । यति मात्रै होइन चीन, इरान पनि रुसको पक्षमा उभिएका छन् । अमेरिका विरोधी शक्ति राष्ट्रहरु एक जुट हुँदै गएपछि पश्चिमा राष्ट्रकासाथै अमेरिकामाथि दबाब बढ्न थालेको छ । यसले पश्चिमा र एसियाको शक्ति प्रदर्शनका साथै युद्धको संकेतका रुपमासमेत हेर्न थालिएको छ ।
प्रतिक्रिया