Breaking

पोखरामा नाङ्गियो रास्वपा, जान्ने भन्नेनै ठाउँठाउँमा चुके


सभापति रवि लामिछाने सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेयता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ता सडक आन्दोलनमा छन् । सडक संघर्षबाटै सभापति लामिछानेलाई हिरासतमुक्त गर्ने उद्देश्यसहित रास्वपाका नेता कार्यकर्ता पोखरा केन्द्रित दबाबपूर्ण आन्दोलनमा होमिएका छन् । तर यही दबाबपूर्ण आन्दोलनमा रास्वपाजनले देखाएको हर्कत उनीहरुका लागि भारी परिरहेको छ । यतिसम्म कि उनीहरु अहिले सामाजिक सञ्जालमा ट्रोलकै सिकार बनेका छन् । एक रिपोर्ट
सबैभन्दा पहिला यी दृश्यहरु हेरौँ ।


सहकारीको रकम अपचलन प्रकरणमा सभापति रवि लामिछाने प्रहरीको खोरमा जाकिएपछि पोखरा केन्द्रित सडक संघर्षमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवम् नेता–कार्यकर्ताका यी उटपट्याङ हर्कतहरु अहिले सामाजिक सञ्जालमा भाइरल छन् । भिडभित्रै सांसदहरुको चुम्माचाटीदेखि चुटकिला शैलीका नाराबाजी । कोही दिउँसै मदिराको नशामा लठ्ठा छन् त कोही उत्तेजित र भड्काउ अभिव्यक्तिले आफैँ उदाङ्गिएका छन् । शिक्षित र विद्वान भनिएकाहरुबाटै अपरिपक्व र भड्काउ अभिव्यक्ति प्रकट हुँदा रास्वपाको हैसियत नाङ्गिएको छ । सडकमा शक्ति प्रर्दशन गरेर राज्यसत्तालाई दवाव दिन पोखरा केन्द्रित प्रर्दशनमा होमिएको रास्वपाले सामान्य विषयमा समेत ढंग पु¥याउन नसक्दा उनीहरुको आन्दोलनले दवाव सिर्जना गर्नेभन्दा पनि उल्टै हाँसीमजाकको सिकार बन्नु परेको छ । नेता–कार्यकर्ताहरु सामाजिक सञ्जालमा नमज्जाले ट्रोलको सिकार बनिरहेका छन् । ‘ओई बाख्रा खोई’ ‘तेरो प्रमाण खोई’देखि सांसद तोसिमा कार्कीको नाराबाजी यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

सांसद तोसिमा कार्कीको यो नाराबाजीको शैली अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि मजाक र ठट्टा गर्ने विषय बनेको छ । सभापति पक्राउको विरोधमा अग्रभागमा देखिएकी उनी अहिले यही भिडियो फुटेजका कारण ट्रोल बनिरहेकी छन् । पूर्वराज्यमन्त्री एवम् सांसदसमेत रहेकी डाक्टर तोसिमा र सांसद विनिता कठायतको भिडभित्रको यो चुम्बनको दृश्यले पनि उनीहरुलाई नै दुःख दिइरहेको छ । आमरुपमा यो विषय सामान्य भए पनि आन्दोलनको भिडभित्रै चुम्बन गरेको भिडियो र तस्वीरले सामाजिक सञ्जाल तताइरहेको छ ।

अश्रु ग्यास पिरो हुन्छ भन्ने अनुभूति नगरेका रास्वपा उपसभापति स्वर्णिम वाग्ले, आफूहरु मात्र शिक्षित र पढेलेखेको ढोङ पिट्दै अभिव्यक्ति दिने कार्यबाहक प्रवक्ता सांसद मनीष झादेखि सबै केन्द्रीय नेताहरु भिडलाई भड्काउने अभिव्यक्ति दिन व्यस्त हुँदा कार्यकर्ताहरु भने मदिराको नशाले टिल्ल भएर बेहोसीमै बर्बराउने गरेका छन् । आन्दोलनका लागि पोखरा पुगेका रास्वपाको हेटौंडा नगर समिति सदस्य नवराज सुवेदीले मदिराको नशामा अपशब्द प्रयोग गर्दै विरोधीहरूलाई गाली गरेको यो भिडियो झनै भाइरल बनेको छ ।

गत शुक्रबार साँझ सभापति पक्राउ परेलगत्तै पार्टी कार्यालय बनस्थली हुँदै शक्ति प्रर्दशन गर्न पोखरा पुगेका रास्वपा नेताहरु सरकार मरेको भन्दै किरियापुत्रीकै शैलीमा सडकमा उत्रिए । तर उनीहरुको हर्कत भने नाचगानमा उत्तेजित र उत्सव मनाए जस्तो देखिन्थ्यो । यसबाहेक पोखरा पुगेपछि सेल्फी खिच्ने र घुमघाम गर्ने लहर नै चलेपछि पार्टीले सर्कुलर नै जारी गर्नुप¥यो । सडक आन्दोलनमा होमिएकाहरु सबै नेता जस्ता देखिन्छन् तर आन्दोलनमा नेतृत्वको अभाव देखिन्छ । जसका कारण रास्वपाको आन्दोलन मियोबिनाको दाइँ जस्तो बन्दा न रवि लामिछाने छुटाउन सकिरहेको छ न त आन्दोलन नै प्रभावकारी बन्न सकेको छ । उल्टै उनीहरुको हर्कत भाइरल बन्दा रास्वपालाई भारी परिरहेको छ ।

शान्तिपूर्ण भनिए पनि भिड भड्काउन रास्वपाले कुनै कसर बाँकी राखेको छैन । आक्रोशपूर्ण र उत्सवको शैलीमा भइरहेको प्रर्दशनले रास्वपाको आफ्नै राजनीतिक उचाई खस्काएको छ । सत्ता नै ढाल्ने ढोल पिटेर राजनीतिक कोलाहल मच्चाएको रास्वपा पोखराबाट थाकेर अब काठमाडौं केन्द्रित आन्दोलनको तयारीमा छ । सभापति लामिछानेलाई अदालतले थुनामा राखेर अनुसन्धान गर्न थप सात दिन म्याद दिएको छ । यसबाट रास्वपा थप अत्तालिएको देखिन्छ भने अब उसको भावी रणनीतिक कस्तो हुन्छ ? त्यो भने हेर्न बाँकी नै छ ।