Breaking

रविलाई ओलीकै धोका, दोस्ती यसरी दुश्मनीमा बदलियो


टेलिभिजनको पर्दाबाट जोडिएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीचको सम्बन्ध अहिले सत्ता र प्रतिपक्षी दलको टकरावसम्म पुगेको छ । आठ वर्षअघि ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ टेलिभिजन कार्यक्रमबाट स्थापित भएको उनीहरूबीचको सम्बन्ध अहिले व्यक्तिगत रुपमै दरार आएको छ ।

२०७३ सालमा पहिलो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा हालका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ टेलिभिजन कार्यक्रम मार्फत् व्यक्तिगत रुपमा सम्बन्ध स्थापित गरेका थिए । रविले ओलीकै निगाहमा प्रधानमन्त्रीसँग कार्यक्रम चलाउने अवसर पाएका थिए । कामको प्रचारप्रसार पनि हुने र जनतासँग पनि जोडिन पाउने प्रस्तावसहित विस्तार भएको उनीहरूको सम्बन्ध त्यसै बेलादेखि एकअर्काप्रति सकारात्मक हुने गरेका थिए । पत्रकारितालाई छोडेर राजनीतिक दल खोल्दै संसदीय राजनीतिमा होमिएका रवि र ओलीले राजनीतिमा पनि आफ्नो सम्बन्धलाई सुमधुर बनाई नै राखे ।

माओवादी र एमालेका साथै अन्य दलको पनि सहयोगमा पहिलो पटक सरकार गठन हुँदा एमाले र रास्वपा एकै कित्तामा थिए । ओलीकै बलमा रविले पहिलो पटकमै गृहमन्त्रालय सम्हाल्ने अवसर पाएका थिए । त्यस्तै एमालेले सरकार छोडेपछि रास्वपा पनि प्रतिपक्षी कित्तामा उभिन पुगेको थियो । पुनः एमाले–माओवादी नेतृत्वको सरकारमा जाने निश्चित भएसँगै रास्वपा पनि एमालेसँगै सरकारमा सामेल मात्रै भएन कि ओलीकै जोडबलमा रविलाई दोहो¥याएर गृह मन्त्रालयको नेतृत्वमा पु¥याए । योसँगै चिढिएको प्रतिपक्षी कांग्रेसले रविलाई सहकारी ठगी प्रकरणमा जोडेर संसदीय छानविन समितिको माग राख्दै संसद् अवरोध गर्दा पनि रविको बचाउमा ओली खुलेरै बोल्ने गरेका थिए । तत्कालीन सत्ता साझेदार दलका नेता ओलीले छानबिन समिति बनाउनै नहुने अडान पनि लिएका थिए ।

तर, अहिले समयसँगै यी दुईबीचको सम्बन्धमा पनि ठूलै उतरचढाव आइसकेको छ । माओवादीलाई छोडेर एमालेले कांग्रेससँग सहकार्य गरेपछि रवि र ओलीबीचको आठ वर्षदेखिको सम्बन्धमा चिसो पसेको हो । संसदीय राजनीतिमा फरक फरक कित्तामा उभिएसँगै यी दुईमा पनि मतभेद सुरु भयो । एक अर्काको प्रतिरक्षामा खर्चने गरेका शब्द अहिले रवि र ओलीले एकअर्काको विरोधमा प्रयोग गरिरहेका छन् । राजनीतिमा स्थायी मित्र र शत्रु कोही हुँदैन भत्रे भनाइलाई ओली र रविबीच हालको टसलले पनि पुष्टि गर्छ ।

सत्ताका लागि रविलाई प्रयोग गरेको आरोप ओलीमाथि लाग्ने गरेको छ । त्योभन्दा पहिले रवि गृहमन्त्री हुँदादेखि नै ओली उनीदेखि रुष्ट भएको जानकाहरू बताउँछन् । नक्कली भुटानी शरणार्थी काण्डको फाइल बुढानीलकण्ठतिर तेर्सिने भए पछि कांग्रेसकै दबावमा माओवादीको सरकार ढलेको अहिलेको प्रतिपक्षीले बारम्बार बताउँदै आएको छ । त्यही भुटानी शरणार्थी प्रकरणमा बेचन झाको पक्राउले नै ओली र रविको सम्बन्धमा दरार आएको उनीहरूको बुझाइ छ ।

टेलिभिजन कार्यक्रमबाट सुमधुर सम्बन्धको सुरुवात गरेका ओली र रविको सम्बन्ध अहिले सत्ता र प्रतिपक्षी बन्दा तिक्ततामा परिणत भएको छ । यो तिक्तता यतिसम्म बढेको छ कि अहिले रविको जेलको बास भएको छ भने यो कहिलेसम्म लम्बिने हो कुनै ठेगान छैन । तारिफबाट सुरु भएको उनीहरूको सम्बन्ध गालीलौजसम्म आइपुगेको छ । रास्वपासहित प्रतिपक्षीहरुले रविमाथि सरकारले प्रतिशोध साँधेको आरोप लगाइरहेका छन् भने सरकारले सहकारी ठगी प्रकरणमा संसदीय समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन थालेको दाबी गरेको छ ।

सहकारी प्रकरणमा मुछिएका व्यक्तिमाथि कानुनी प्रक्रिया बमोजिम अनुसन्धान हुनु स्वाभाविक हो । तर, लामिछानेसँग ओलीको सम्बन्ध बिग्रिएको तथा पूर्वगृहमन्त्री र रास्वपा सभापति भएकै कारण प्रतिशोध साँधियो र उनी निर्दोष छन् भन्ने अभिव्यक्ति तर्कसंगत सही नठहरिने देखिन्छ । यति चाहिँ के हो भने उनी साच्चै नै निर्दोष हुन् भने कानुनी प्रक्रियाबाटै उनले सफाइ पाउन जरुरी छ । त्यतिञ्जेलसम्म कुर्ने धैर्यता स्वयम् रविले राख्नै पर्नेहुन्छ ।