चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पाँच वर्षपछि रुसको कजानमा पहिलोपटक द्विपक्षीय वार्ता भएको छ । पाँच प्रमुख उदीयमान अर्थव्यवस्था भएका देशहरुको समूह ब्रिक्सको शिखर सम्मेलनमा रुसमा भएको यो भेटले दुई देशबीचको सीमा विवादको तनाव कम भएको संकेत गरेको छ ।
पछिल्ला केही दशकमा विश्व परिवेश धेरै नै परिवर्तन भएको छ । युद्धरत देशबीच मिलेर बस्ने अवस्था सिर्जना हुँदै गएको छ । विभिन्न राष्ट्रहरूबीचको सम्बन्ध विस्तार र विश्वव्यापीकरणले पनि ठूलो भूमिका खेलेको छ । जसले सहकार्यमार्फत् आर्थिक विकास चाहने देशबीचको सम्बन्धको आयाम र गतिशीलतालाई परिवर्तन गरिदिएको छ । एसियाका दुई ठूला र उदीयमान शक्ति भारत र चीनले पनि केही दशकमा मुठभेडबाट आफ्नो मुख्य ध्यान हटाएर सहकार्यमा केन्द्रित गरेका छन् । यो कुरा सीमा क्षेत्रमा पनि देख्न सकिन्छ, जुन पहिलेको तुलनामा शान्तिपूर्ण छ ।
यद्यपि भारत–चीन सीमामा बितेका केही दशकमा सानातिना कैयौं मुठभेड भएका छन्, तर दुवै देश विद्यमान संयन्त्रमार्फत नै तनाव समाधान गर्न सफल भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्वले भारत–चीन सम्बन्धमा नयाँ गति पैदा गरेको छ । गल्वान झडपबाट युद्ध नै हुने चरम अवस्थासम्म पुगेका दुई देशबीचको सम्बन्ध पछिल्लो समय मजबुद हुँदै गएको छ । चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच पाँच वर्षपछि हालै द्विपक्षीय वार्ता भएको छ । उदीयमान अर्थतन्त्र भएका देशहरुको समूह ब्रिक्सको शिखर सम्मेलनका क्रममा रुसमा भएको यो भेटले दुई देशबीचको सीमा तनाव कम भएको संकेत गरेको हो । ‘पाँच वर्षपछि यो हाम्रो पहिलो औपचारिक बैठक हो ।
महामहिम, सीमाबारे भएको सम्झौताको हामी स्वागत गर्छौँ । सीमामा शान्ति कायम राख्नु हाम्रो प्राथमिकता हुनुपर्छ र आपसी विश्वास, सम्मान र संवेदनशीलता हाम्रो सम्बन्धको आधार हुनुपर्छ । मलाई विश्वास छ, हामी खुला मनले कुराकानी गर्नेछौँ र हाम्रो छलफल रचनात्मक हुनेछ,’ वार्ताको सुरुवातमा मोदीले सीलाई भनेका छन् ।
सीले भने चीन र भारतले एकअर्काको विकासको लक्ष्यलाई सघाउनुपर्ने बताए । त्यसका लागि दुवै पक्षले सञ्चार र सहकार्य विकास गर्नुका साथै असहमति र मतभेदलाई उचित ढंगले व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । आफूहरुको बैठकलाई दुई देशका जनता र अन्तर्राष्ट्रिय समुदायले पनि ध्यानपूर्वक हेरिरहेको भन्दै द्विपक्षीय सम्बन्धलाई उचित दिशामा लैजानु दुवै देशको हितमा हुने सीले बताए । उदीयमान दुई एशियाली शक्ति राष्ट्रले पश्चिमाहरुमाथि दबाब बढाउने संकेत गरेका छन् । अमेरिकाको कठपूतली बनेर घुम्दै गरेको भारतले समयमै शक्तिशाली छिमेकीसंगको लगन गाँठोले ठूलो उपलब्धि महशुस गरेको छ । लामो समयदेखिको विवादलाई अन्त्य गर्न बिचको पुलको भूमिका रुसले निर्वाह गरेको देखिन्छ ।
अमेरिकाविरुद्ध आवाज उठाउदै आएको रुसको यो रणनीतिले राम्रो काम गरेको विश्लेषण हुन थालेको छ । शान्तिपूर्ण परिवर्तन र साझेदारीका माध्यमबाट भारत र चीनले एक असाधारण द्विपक्षीय सम्बन्ध स्थापना गरिरहेका छन् । यसबाट पुरै एशियालाई फाइदा पुग्ने विश्वास लिइएको छ । तर, एशियाका शक्ति राष्ट्र भारत र चीनबीच सम्बन्ध सुधारसँगै बढ्दो निकटताले भने पश्चिमाहरुमा तरंग पैदा हुने अवस्था बनेको छ । भारतमाथि आफ्नो प्रभाव कायम गर्दै आएको अमेरिका यस कदमबाट बिच्किन सक्ने सम्भावना रहँदा भारतले शक्ति सन्तुलनका लागि लिने विदेश नीति कस्तो रहँछ, त्यो भने निकट भविष्यले निर्धारण गर्नेछ ।
प्रतिक्रिया