काठमाडौँ— पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परे यता राष्ट्रिय राजनीति तरंगित छ । स्वदेश र विदेशमासमेत लामिछानेका समर्थकहरु आन्दोलित छन् । लामिछानेको पक्राउलाई राजनीतिक पूर्वाग्रह साँधेको आरोप लगाउँदै रिहाइको मागसहित उनका समर्थकहरु आन्दोलित छन् । यता सरकारले सहकारी ठगी प्रकरणको अनुसन्धानमा थप निर्मम् ढंगले अगाडि बढ्ने संकेत गरेको छ । फलतः रास्वपा भर्सेस सरकारबीचको द्वन्द्व थप उत्कर्षमा पुगेको छ ।
संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने ६ दिनदेखि प्रहरीको हिरासतमा छन् । रविले कास्की प्रहरी हिरासतको हावा खाइरहँदा बाहिर रास्वपा नेता कार्यकर्ताले आन्दोलनको नाममा अराजकता मच्चाई रहेका छन् । सहकारी पीडित लखेट्नेलाईदेखि आफ्नै कार्यकर्तामाथि कुटपिट् गर्नसम्म भ्याएका छन् । तर, दिन बित्दै जाँदा सडकमा रास्वपा कार्यकर्ता तथा समर्थकको भिड पातलिँदै गएको छ । जसका कारण अत्तालिएका रास्वपा नेता तथा कार्यकर्ताहरु थप भड्किने चिन्ताले कार्यकर्ताहरुलाई सम्हालिन सर्कुलर नै जारी गर्नु परेको छ ।
शनिबारदेखि सडक आन्दोलन थालेको रास्वपा नेता कार्यकर्ताको विस्तारै सडकमा संख्या घट्न थालेको छ । समर्थक घट्न थालेपछि सहकारी पीडितलाई नै उक्साउन लागेको आरोप पनि लागेको छ । पीडितहरुको घर घरमै पुगेर आन्दोलनमा आउन रास्वपाले धम्की नै दिएको खुल्न आएको छ । सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा सहकारी बचत पीडित संघ कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू घरघरमा पुगेर सहकारी पीडितलाई भड्काउने काम गरेको भन्दै आपत्ति नै जनाएको छ । आन्दोलन थालेको पाँच दिनमै यो हर्कतमा उत्रिएका रास्वपा नेता कार्यकर्ताहरु सडकमा घट्दो संख्याले संयमता गुमाउने अवस्थामा पुगेको देखिन्छ । दिनहुँको आन्दोलनले नेता कार्यकर्ताहरु थकित देखिन्छन् । आन्दोलन नै सेलाउने हो कि भन्ने चिन्ताबीच रास्वपाको अबको रणनीति के होला ? भन्ने चासो पनि उत्तिकै छ ।
पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मीलगायतका सहकारीबाट गोर्खा मिडिया प्रालिमा रकम लगेर अपचलन गरेको आरोप लागेका रविलाई पाँचवटै जिल्ला घुमाउनेसम्मको तयारी छ । अहिले ठगी र संगठित अपराधमाथि अनुसन्धान भइरहेका उनीमाथि सम्पत्ति शुद्धीकरण र कीर्तेसमेत थप गरी चारवटा कसुरमा अभियोजनको प्रक्रिया अगाडि बढ्न सक्ने सम्भावना छ । हाल हिरासतमा रहेका रविमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसक्रममा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि कास्की जिल्ला अदालत लैजाँदा अदालतका प्रमुख न्यायाधीश नवराज दाहाल र रविबीच एक्लाएक्लै कुराकानी भएको खुलेको छ । उनीहरुबीच के कुराकानी भयो भन्ने खुल्न सकेको छैन भने बन्द इजलासमा सुनुवाइ गर्नुपर्ने मुद्दा नभएका रविसँग न्यायाधीशले एक्लै सोधपुछ गर्नुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्न उठेको छ । सहकारी पीडित र लामिछाने दुवै पक्षका कानुन व्यवसायीले बहस सकेपछि न्यायाधीश र रविबीच कुराकानी भएको हो । न्यायाधीश र रविबीचको गोप्य कुराकानीले पनि शंका उब्जाएको छ । यद्यपि, यस विषयमा अहिले नै धेरै टिप्पणी गर्न नमिल्ने कानुन व्यवसायीहरुकै तर्क छ ।
त्यसो त देशको मुहार परिवर्तन गर्ने भन्दै वैकल्पिक शक्तिको रुपमा राजनीतिमा उदाएको रास्वपाका नेताहरुको विवेकमाथि नै प्रश्न उठ्न थालेको छ । आफ्नो स्वविवेकलाई तिलाञ्जली दिँदै सभापतिका लागि सती जान तयार भएका रास्वपाका नेता, कार्यकर्ताले देखाएको हर्कतले उनीहरु पनि पुरानाभन्दा फरक छन् भन्न सकिने अवस्था देखिँदैन । न्यायिक निरुपणमा सघाउने हुँकार गरेका सभापति लामिछाने प्रहरीको फन्दामा पर्नासाथ यति हड्बढाए, यति डराए कि आफ्ना नेता कार्यकर्तालाई सरकार नढलेसम्म सडकमै संघर्ष गर्न निर्देशन दिएका थिए ।
आफ्नै नेतामाथि प्रश्न उठ्दा प्रतिशोध देख्ने रास्वपाका केही व्यक्ति समस्या समाधानका लागि राजनीतिक बार्गेनिङमा समेत सक्रिय भएका छन् । रविपत्नी निकिता पौडेल र उपसभापति स्वर्णिम वाग्ले लगायतका नेताहरु सत्तारुढ दलहरुसँग वार्ताका लागि लबिङमा रहेको चर्चा राजनीतिक वृत्तमा छ । रविको बचाउमा उत्रिएका समर्थकहरुको आन्दोलनकै कारण संसदको पहिलो र दोस्रो दल मिलेर बनेको शक्तिशाली सरकार ढल्छ भन्नु केवल दिवा सपना बाहेक अरु हुन सक्दैन । अर्को रवि आरोप लाग्नासाथ हतारोमा नभई लामो समयको तयारी र प्रमाणको आधारमा पक्राउ परेका हुन् । चितवनमा रास्वपा कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुत्ला बनाएर नारायणीमा दाहसंस्कार गर्दै बगाएपछि गृह मन्त्रालयले चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवलाई केन्द्रमा तानेको छ । सोही घटना रोक्न नसकेको भन्दै दबाब बढेपछि सीडीओ यादवलाई गृह मन्त्रालयमा तानिएको हो । प्रहरी प्रधान कार्यालयले चितवन प्रहरी प्रमुख एसपी भावेश रिमाललाई पनि केन्द्रमा तानेको छ । एसपी रिमाललाई काज सरुवा गरेर मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसपी गौतम मिश्रलाई चितवन पठाइएको छ ।
रवि लामिछाने पक्राउपछि चर्किएको सहकारी प्रकरणको अनुसन्धानमा सरकारले थप निर्मम हुने संकेत गरेको छ । यो मुद्दा किनारा नलागेसम्म सरकारले आफ्नो खुट्टा लुलो नबनाउने हो भने सहकारी पीडितले न्याय पाउने निश्चित छ । तर, ‘निर्दोष नफसुन्, दोषी नउकिउन्’, भन्ने नारा लगाउने सरकारले राजनीतिक सौदाबाजीमा दोषीलाई चोख्याउने नियत राखेर अहिले चर्किएको मुद्दालाई कमजोर पार्न नहुने देखिन्छ । सँगै राजनीतिक प्रतिशोध साँधेर निदोर्षलाई फसाउने रणनीतिबाट पनि सरकार सचेत रहनु पर्ने छ ।
प्रतिक्रिया