देश

सत्ता ढाल्ने कसैको आँट छैन–ओली, रवि जस्ता ५ सय थुन्ने ठोकुवा, सीके–महन्त–रञ्जितालाई बैठकमै थर्काए


काठमाडौँ— पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ र केही विवादले शिथिल बनेका प्रधानमन्त्री केपी शर्मा ओली एकाएक आक्रामक बनेका छन् । सरकारको १०० दिनका उपलब्धि सार्वजनिक गर्नुअघि ओलीको त्यो रुप सत्ता गठबन्धनको बैठकमा देखिएको थियो । खासमा कांग्रेसले नै साथ छाड्न सक्ने विश्लेषणका बीच कांग्रेसले नै ओलीलाई भर दिएपछि ओलीको एकाएक आत्मबल पलाएको देखिन्छ ।

पूर्वगृहमन्त्री रवि लामिछानेको पक्राउ परेको केही दिनपछि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनको बैठक डाके । जहाँ शेरबहादुुर देउवा केही शान्त देखिए पनि ओली भने अलिक बढी नै आक्रामक देखिन्थे । खासमा साना दलहरुप्रति उनको आक्रोश उच्च थियो । यसको घानमा सबैभन्दा बढी नागरिक उन्मुक्ति र जनमत पार्टी परे । रवि पक्राउ पर्दा सबैभन्दा पहिले जनमतका अध्यक्ष सीके राउतले प्रतिशोध र निषेधको राजनीति भएको भन्दै सरकारको विरोध गरेका थिए । ओलीले कांग्रेस र एमाले सत्तापक्षको कित्तामा क्लियर भएकाले आफ्नो कित्ता क्लियर गर्न जनमत र नाउपालाई भनेका थिए । प्रतिपक्षको भाषा नै बोल्ने भए मधेश प्रदेशको मुख्यमन्त्री छाड्नसम्मको विकल्प सीकेलाई दिएका थिए । यस्तै प्रतिपक्षको बैठकमा पनि सहभागी भएको नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पनि ओलीले हपारे । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको पक्षमा उभिए फाइदा हुने र राजनीतिक उद्देश्य उतै मिल्ने भए कित्ता क्लियर गर्न ओलीले सुझाए । रञ्जिताले केही दिनअघि मात्रै दल फुटाउने गरी अध्यादेश आए मान्य नहुने अभिव्यक्ति दिएकी थिइन् । ओलीको हप्काइमा लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर पनि परे । उनी गत शुक्रबार प्रतिपक्षीको बैठकमा सहभागी भएका थिए र तर, झुक्किएर गएको भन्दै गल्ती स्वीकारी सकेको बताएपछि ओली चुप भए ।

कांग्रेसले रवि लामछानेलाई हिरासतको हावा खुवाएपछि उसले आफ्नो राजनीतिक मुद्दा सफल भएको बुझेको छ । तर, हिजो रविलाई गृह मन्त्रालय उपहार दिने एमालेसँगै रास्वपाको दुस्मनी बढेको छ । त्यसमाथि बयानका लागि अदालत जाँदै गर्दा लामिछानेले ओलीको सरकार नढालेसम्म सडक आन्दोलन नरोक्न भन्दै कार्यकर्ता उक्साउँदै ओलीमाथि आगो ओकलेका थिए । गठबन्धनको बैठकमा यसबारे पनि आक्रोशित मुद्रामा देखिएका ओलीले अराजकता सह्य नहुने भनेका छन् । सरकारले सहकारी ठगहरुविरुद्ध कारबाही सुरु गरेको बताएका ओलीले ठगीमा संलग्न ६ सयभन्दा बढीमाथि कारबाही गरेको र ५ सय भन्दा बढी जेलमा रहेको विवरण सार्वजनिक सम्बोधनकै क्रममा सुनाएका छन् । यसबाहेक पाँच सयभन्दा बढी सहकारी ठग र अरु केही व्यक्ति पक्राउको सूचीमा रहेको र चाँडै एक्सन लिने ब्रिफिङ ओलीले गठबन्धन दलहरुलाई गरेका छन् । यस्तै रास्वपालाई चेतावनीको भाषा बोल्दै ओलीले न्यायीक निरुपणको प्रकृयामा गइसकेको मुद्दा प्रभावित पार्ने प्रयास नगर्न र मान्छे उतारे सह्य नहुने चेतावनी दिएका छन् ।

खासमा अहिले ओली कांग्रेसले काँध नफेरेसम्म आफ्नो सरकार सुरक्षित रहनेमा विश्वस्त छन् । र, ओलीको यो विश्वासमा देउवाले पनि आडभरोसा थपेका छन् । कुर्सीको मुख हेर्दै देउवाका सारा माग पूरा गरिरहेका ओलीलाई देउवाले पनि ‘अगाडि बढ्नुहोस् मेरो साथ छ । यो काम गर्ने बेला हो’ भन्दै धापमारेपछि ओलीको मनोबल बढेको देखिन्छ । खासमा ओलीलाई संविधान संशोधनका लागि दुई तिहाइ चाहिएको हो । तर, यो मुद्दा सत्तारोहणको भ¥याङ मात्र भएको स्पष्ट भइसक्दा ओलीलाई प्रधानमन्त्री मात्रै भइरहनका लागि बहुमत मात्रै भए पुग्नेछ । त्यसका लागि कांग्रेस–एमालेकै संख्या काफी छ । सरकार बनाउन १३८ सांसद भए पुग्छ । तर, एमाले–कांग्रेससँग १६७ सांसद छन् । यही बुझेका ओलीले अरु साना दललाई कित्ता क्लियर गर्न भनेका हुन् । देउवाको छत्रछायाँ पाएका कारण ओलीले शक्तिशाली दलको सरकार ढाल्ने दिवा सपना नदेख्न सार्वजनिक रुपमै चेतावनी दिएका छन् ।

पछिल्लो समय प्रतिपक्षी दलहरु आन्दोलनमा छन् । माओवादी पनि सडकमा आउँदैछ । तर, यी आन्दोलनलाई सामान्य मानेका ओलीले यस्ता आन्दोलनबाट नतर्सिने ब्रिफङ गरेका छन् । तर, सरकारले एकतर्फी सफलताको फेहरिस्त सुनाइरहेको छ । तीन महिनामै ७० प्रतिशत काम गरेको ओलीको रेकर्ड सुन्दा एक्कासी देशका सबै समस्या समाधान भएको भान हुन्छ । तर, प्रधानमन्त्रीको अनुहार देख्दा जनता आक्रोशित हुनुपर्ने अवस्थाको विश्लेषण गर्न सरकारलाई फुर्सद छैन । अहिले पनि दुईचार जना कराइरहेका छन् र ती कराउँदै गर्छन् । देश ठिकठाक चलिरहेको छ भन्ने भ्रममा ओली चलिरहेको देखिन्छन् ।