काठमाडौँ— अमेरिकाको जबर्जस्त साथले इजरायलले मध्यपूर्वमा युद्ध चर्काएको छ । इजरायलले हमास र हिजबुल्लामाथि दबाब राख्दै उनीहरुका प्रमुख नेतामाथि नै निसाना साँधिरहेको छ । इजरायलको आक्रमणमा मारिने प्रमुुख नेताहरु कोको हुन् ।
इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच सुरु भएको युद्ध एक वर्ष पार गर्दा पनि अन्त्य हुने संकेत अझै देखा परेको छैन । इजरायल–गाजा युद्ध दोस्रो वर्षमा प्रवेश गरिरहँदा युद्ध रोकिने भन्दा यो युद्ध लेबनान, इरान हुँदै मध्यपूर्वमै झांगिदै गएको छ । हमास र हिजबुल्लामाथिको निरन्तर इजरायलको आक्रमण, त्यसमा पनि प्रमुख नेता नै निसानामा पार्दा यी दुवै समूह थप उत्तेजित हुन पुगे । गत वर्षको अक्टोबर ७ मा हमासले इजरायलमाथि एक्कासी भीषण आक्रमण गरेपछि यो युद्ध सुरु भएको थियो । हमासलाई सिध्याएर छाड्ने इजरायलको अठोटले यसबीचमा कयौँ पटक भएका युद्ध विरामको प्रयाससमेत विफल बन्दै आइरहेको छ । इजरायलले निरन्तर हमास र त्यसपछि हिजबुल्लाहमाथि आक्रमण जारी राखेपछि यी समूहहरु पनि आक्रामक बन्दा मध्यपूर्वको अवस्था शान्त बन्न सकिरहेको छैन ।
यो एक वर्षको अवधिमा हमास र हिजबुल्लाहका कुन कुन नेता मारिए ?
याह्या सिनवार
याह्या सिनवार हमासका प्रमुख नेतामध्येका एक हुन् । उनी गाजा क्षेत्रमा हमासको राजनीतिक एकाइ प्रमुख पनि हुन् । सन् १९६२ मा जन्मेका सिनवार हमासको सुरक्षा सेवा ‘मजद’ का संस्थापकसमेत हुन् । उनी सन्दिग्ध इजरायली एजेन्टहरूको अनुसन्धान गर्नेजस्ता कार्यहरूमा समावेश रहँदै इजरायली गुप्तचर र सुरक्षा सेवाका अधिकारीहरूमाथि नजर राख्दथे । सिनवार तीनपटक पक्राउ परेका थिए । उनी जेलमै रहेका समयमा हमासको क्षेप्यास्त्रले इजरायली सैनिक ग्लाड शालितको ट्याङ्क ध्वस्त भयो र ती सैनिकलाई हमासले बन्धक बनायो । उनको आतंककारी प्रवृत्तिलाई लिएर विश्व समुदाय आतंकित थियो । अमेरिकाले उनलाई सन् २०१५ मा ‘अन्तर्राष्ट्रिय आतंककारी’ को सूचीमा राखेको थियो । इजरायली सेनाले हालै चलाएको एक कारबाहीमा उनी मारिएका थिए ।
इस्माइल हानिया
इस्माइल हानिया, अबु अलअब्द पनि भनेर पनि चिनिन्छन् । प्यालेस्टिनी शरणार्थी शिविरमा जन्मिएका उनले सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्रीको रूपमा काम गरेका थिए । सन् १९८९ मा इजरायलले उनलाई तीन वर्ष जेलमा हालेको थियो । यसपछि उनलाई हमासका धेरै नेताहरूसँगै इजरायल र लेबनान बीचको ‘नो म्यान्स ल्यान्ड’को रूपमा रहेको मार्ज अल–जुहुरमा निर्वासनमा पठाइयो । आफ्नो निर्वासन पूरा गरेपछि उनी गाजा फर्किए । सन् १९९७ मा उनी हमास आन्दोलनका आध्यात्मिक नेता शेख अहमद यासिनको कार्यालयको प्रमुख नियुक्त भए । हमासले उनलाई सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्री नियुक्त गरेको थियो । तर त्यसको एक वर्षपछि प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणका प्रमुख महमूद अब्बासले उनलाई आफ्नो पदबाट बर्खास्त गरेका थिए । सन् २०१७ मा हमासको राजनीतिक इकाई प्रमुखमा निर्वाचित भएका उनलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा आतङ्कवादी घोषणा गरेको थियो । इरान भ्रमणमा रहेका बेला तेहरानमा इजरायली हवाई कारबाहीमा गत जुलाई ३१ मा उनी मारिएका थिए ।
(मोहम्म दिएफ)
मोहम्म दिएफ हमासका सेना संगठन इजे–अल–दीन अल–कÞासिम ब्रिगेडको प्रमुख थिए । उनको जन्म १९६५ मा गाजा भएको थियो । प्यालेस्टिनीहरूले उनलाई मास्टरमाइन्डका रूपमा चिन्छन् । मोहम्मद दिऐफले सुरुङ निर्माण गर्ने योजना बनाएका थिए जसबाट हमास लडाकुहरू गाजाबाट इजरायलमा प्रवेश गरेका थिए। उनको वास्तविक नाम मोहम्मद दीब अल–मसरी हो, तर उनलाई अबु खालिद र अल डेफ नामले पनि चिनिन्थे । बस बम विष्फोटको योजना र अनुगमन गरेको आरोपमा डेफ इजरायलका मोस्ट वान्टेड व्यक्तिहरूमध्ये एक थिए । इजरायली सेनाले गत १ अगस्टमा गरेको हवाई आक्रमणमा उनी मारिएका थिए । सन् २००० को दशकको सुरुवातदेखि उनी इजरायली सूचीमा परेका थिए । यस्तै इजरायली आक्रमणमा मारिने हमासका नेता फतह शरीफ पनि एक हुन् । इजरायली सेनाको कारबाहीमा गत सेप्टेम्बर ३० मा लेबनानमा उनी मारिएका थिए ।
यस्तै, हमासलाई सहयोग गर्दै आएको हिजबुल्लाह समूहमाथिको क्षति पनि कम छैन । हमाससँगै हिजबुल्लाह समूहका नेताहरु पनि इजरायली सेनाको निसानामा पर्दै आएका छन् । यसक्रममा हिजबुल्लाहले पनि आफ्ना थुप्रै शीर्ष कमान्डरलाई गुमाउनु परेको छ । इजरायली आक्रमणमा मारिने हिजबुल्लाहका नेताहरुमध्ये हसन नसरल्लाह पनि एक हुन् ।
हसन नसरल्लाह
लेबनानस्थित हिजबुल्लाह समूहका नेतामध्ये एक हसन नसरल्लाह पनि एक हुन् । १९६० अगस्ट ३१ मा जन्मिएका उनले लेबनानको राजनीतिक तथा अर्धसैनिक समूह हिजबुल्लाहको तेस्रो र पछिल्लो समय नेतृत्व सम्हालेका थिए । पूर्ववर्ती अब्बास अल मुसावी इजरायली सेनाको आक्रमणमा परेर १९९२ फेब्रुअरीमा मारिएपछि उनले सो समूहको नेतृत्व गर्दै आएका थिए । उनी १९८२ को लेबनान युद्धपछि हिजबुल्लाह समूहमा जोडिएका थिए । १९८९ मा उनी धार्मिक अध्ययनका लागि इरान गएका थिए । उनको इरानसँग निकट सम्बन्ध रहँदै आएको थियो । इजरायली आक्रमणमा परी गत सेप्टेम्बर २७ मा उनी मारिएका थिए । इजरायलले त्यसको भोलिपल्ट उनी मारिएको पुष्टि गरेको थियो । नसरल्लाहसँगै हिजबुल्लाहका अर्का नेता अली कराकी पनि मारिएका थिए । इजरायली सेनाले भूमिगत बंकरमा गरेको आक्रमणमा उनीहरुसहित विभिन्न तहका २० भन्दा बढी हिजबुल्लाहका नेता तथा लडाकु मारिएका थिए ।
यसैगरी, सन् १९८३ मा बेरुतमा भएको दुई ट्रक बम विस्फोटको घटनाका मुख्य आरोपी इब्राहिम अकिलसमेत गत सेप्टेम्बर २० मा इजरायली आक्रमणमा मारिएका थिए । अमेरिकी दूतावास र युएस मरिन ब्यारेकमा भएको उक्त विस्फोटको घटनामा ३ सय जनाको मृत्यु भएको थियो भने इब्राहिमबारे सूचना दिनेलाई ७० लाख डलरको पुरस्कार घोषणा गरिएको थियो । सेप्टेम्बर २० मा इजरायलले गरेको आक्रमणमा अर्का हिजबुल्लाहका शीर्ष कमान्डरमध्येका एक अहमद महमुद वहबी पनि मारिएका थिए ।
यस्तै, हिजबुल्लाहको शीर्ष कमान्डर फुआद शुक्र पनि लेबनानको राजधानीको दक्षिणी उपनगरमा इजरायली हमलामा परी मारिएका थिए ।
जुलाई ३० मा भएको आक्रमणमा मारिएका शुक्र सन १९८२ मा इरानको रिभोल्युसनरी गार्डसले हिजबुल्लाह स्थापना गर्दा प्रमुख सैन्य कमान्डर मध्ये उनी पनि एक थिए । यसैगरी हिजबुल्लाहको शीर्ष नेतृत्वमा रहेकामध्ये मोहम्मद नासिर, तालेब अब्दुल्ला, सालेह अल अरोरी र मारवान इस्साको पनि इजरायली कारबाहीमा मृत्यु भएको थियो । यता हमास नेता सिनवार मारिएपछि नयाँ नेता चयन गर्न हमासका लागि चुनौती देखिएको छ । हमासका अधिकारीहरुले समूहको नेता चयन गर्न चाँडै चुनावको तयारी भइरहेको बताएका छन् । सिनवारको उपप्रमुख रहेका खलील अल हय्यालाई हमासको प्रमुख नेताको रुपमा हेर्न थालिएको छ । हिजबुल्लाह समूहमाथि इजरायलले पछिल्लो समय आक्रमणलाई तीव्रता दिए पनि हमासको जस्तो अवस्थामा हिजबुल्लाह पुगेको छैन । इरानको बलियो साथ रहेको हिजबुल्लाहले इजरायलमाथि धावा बोल्न अझै छाडेको छैन । जसका कारण इजरायलले आफ्नो सबै शक्ति लगाउँदा पनि हिजबुल्लाहको मुख्य जग हल्लाउन अझै ठूलो संघर्ष गर्नु पर्ने देखिन्छ । प्यालेस्टिनी हमास समूहलाई पूर्ण रुपमा निमिट्यान्न पार्न नसके पनि इजरायलले उसको ठूलो सञ्जाललाई भत्काउन सफल भएको छ । यद्यपि, इजरायलविरुद्ध हमासले आफ्नो टाउको उठाउन भने अझै प्रयास गरिरहेको छ ।
प्रतिक्रिया