अन्तर्राष्ट्रिय

अमेरिकी निर्वाचनमा व्यापारीको भिडन्त, एलन मस्कलाई बिल गेट्सको चुनौती, कसले कति चन्दा दिए ?


काठमाडौँ— विश्व शक्तिराष्ट्र अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपति चुनाव हुँदैछ । चुनावी मैदानमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिस छन् । दुवै उम्मेदवारले आ–आफ्नो मतदाताको समर्थन पनि पाइरहेका छन् । दुई उम्मेदवारबीचको प्रतिस्पर्धामा अमेरिकी दुई अर्बपति एलन मस्क र बिल गेट्सबीच पनि प्रतिस्पर्धा बढेको छ ।

संयुक्त राज्य अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपति चुनाव हुँदैछ । रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि मैदानमा छन् भने उनलाई चुनौती दिन डेमोक्य्राटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस चुनावी अभियानमा छिन् । उनीहरू आफ्नो पक्षमा नतिजा ल्याउन चुनावी प्रचारप्रसारमा होमिएका छन् । दुवै उम्मेदवारले ठूलो समर्थन पाइरहेका छन् । योसँगै खर्बपति व्यापारी एलन मस्कसमेत खुलेरै ट्रम्पलाई जिताउन सक्रिय रुपमा लागिपरेका छन् । यस्तै राष्ट्रपतिका उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति ह्यारिसलेसमेत अर्का खर्बपति व्यापारी तथा माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सको समर्थन पाएकी छन् । यद्यपि, ह्यारिसको पक्षमा बिल गेट्स खुला रुपमा प्रस्तुत नभए पनि उनले ह्यारिसलाई सहयोग गर्ने एउटा गैर–लाभकारी संस्थालाई ५ करोड डलर दान दिएको खुलासा भएको छ ।

बिल गेट्सले ह्यारिसलाई समर्थन गर्ने फ्युचर फरवार्ड नामक समूहलाई दान गरेको बताइएको छ । बिल गेट्सले डेमोक्रेटिक उम्मेदवारलाई सार्वजनिक रूपमा समर्थन नगरेकाले उक्त दानलाई गोप्य राखिएको बताइएको छ । एक मिडिया रिपोर्टकाअनुसार यस वर्ष निजी कुराकानीका क्रममा गेट्सले आफ्ना साथीहरू र अन्यलाई डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेमा के होला भन्ने चिन्ता व्यक्त गरेका थिए । ट्रम्प पुनः निर्वाचित भए भने परिवार नियोजन र विश्वव्यापी स्वास्थ्य कार्यक्रममा हुने सम्भावित कटौतीलाई लिएर बिल गेट्सको परोपकारी संस्था ‘बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन’ निकै चिन्तित रहेको बताइएको छ । यद्यपि, गेट्सले आफू जुनसुकै उम्मेदवारसँग काम गर्न सक्ने कुरामा जोड दिइरहेका छन् ।
यता एलन मस्क भने खुलेरै ट्रम्पलाई जिताउन लागि परेका छन् । हरेक दिन आफ्नो संविधानलाई समर्थन गर्ने अनलाइन याचिकामा हस्ताक्षर गर्ने एक जनालाई १० लाख डलर दिने घोषणा गरेका अर्बपति एलन मस्कले शनिबार एक जनालाई सो रकमको चेक दिएका छन् । ट्रम्पलाई जिताउन आफ्नो सारा शक्ति लगाइरहेको मस्कको अनलाइन याचिकामा लेखिएको छ । मस्कले आगामी निर्वाचनमा ट्रम्पलाई समर्थन मात्रै गरेका छैनन् कि उनले किनेको पहिले ट्विटर भनिने सामाजिक संजाल एक्सलाई ट्रम्पलाई चुनावमा फाइदा हुने गरी चलाइरहेका छन् । विश्वको पहिलो धनाढ्य व्यक्ति मस्कले अहिलेसम्म ट्रम्पलाई चुनाव प्रचारका लागि करोडौं डलर दिइसकेका छन् । यसले दुई अर्बपतिबीच अमेरिकाको राष्ट्रपतिमा कसलाई जिताउने भन्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ । त्यसो त अर्बपति व्यक्तिले पैसाको खोलो बगाउँदैमा चुनावी नतिजा पल्टिने सम्भावना कम रहे पनि केही न केही प्रभाव भने जरुर रहने छ । एलन मस्क खलेआम ट्रम्पको पक्षमा देखिँदा बिल गेट्स भने त्यसरी प्रस्तुत भएका छैनन् । यद्यपि, भित्रभित्रै उनले गरिरहेको सहयोगले ह्यारिसलाई ठूलै बल मिल्ने पक्का छ । त्यसैले डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीचको चुनावी प्रतिस्पर्धासँगै दुई अर्बपति बीचको प्रतिस्पर्धासमेत यतिबेला चर्चामा रहेको छ । यसबीच आगामी नोभेम्बर ५ मा हुने मतदानले कुन उम्मेदवारलाई विजयी बनाउने छ ? त्यो भने अन्तिम परिणाम नआउन्जेल कुनै पर्ने हुन्छ ।