Breaking

मखमली फूलले पाएन बजार, किसानको लगानी उठेन


तिहार आउन अब केही दिन मात्रै बाँकी छ । यस वर्ष कार्तिक १८ गते भाइटिका परेको छ । १४ गतेदेखि तिहार विधिवत रुपमा शुरु हुनेछ । यतिबेला भक्तपुरका फूल व्यवसायी र किसानलाई मखमली फूलको माला बनाउन भ्याइ नभ्याइ छ ।

तिहारमा मखमली फूलको माला विशेष मानिन्छ । त्यसैले पनि भक्तपुरबासी यतिबेला माला उन्न, फूल टिप्नमा व्यस्त छन् । भक्तपुरको गुण्डुका कृषक मखमली फूल टिप्न बिहानै बारीमा पुग्छन् । दिउँसो घाम लागेको बेलामा बिहान टिपेको फूल उन्छन् र माग अनुसार बजार पठाउँछन् । मखमली फूलको पकेट मानिने गुण्डुको मुख्य आयश्रोत नै फूलको व्यापार हो । नेपालीहरूको सांस्कृतिक पर्व तिहारमा विशेष माग हुने र नजिकको बजार (काठमाडौं) लाई पायक बनाइ माला उन्ने काम धमाधम भइरहेको स्थानीयवासीले बताए ।

भक्तपुर गुण्डुकी जानु कार्की यस वर्ष धेरै पानी परेकाले फूल राम्रो नभएको बताउँछिन् । अहिलेसम्म २५ हजार रुपैयाँ जतिको माला बिक्री गरिसकेको बताइन् । उनले माला र फूलको मूल्य भने विगतको सरह नै रहेको बताइन् । एउटा मालाको २५ रुपैयाँसम्ममा बेच्ने गरेको जानकारी दिइन् । स्थानीय सुमित्रा कार्की पनि फूल राम्रो नभएको गुनासो गर्छिन् । युवा पुस्ताले चासो नदेखाउने र वृद्धवृद्धाले काम गर्न नसक्दा गुण्डुमा फूलको उब्जनी नै मासिने हो की भन्ने चिन्ता उनलाई छ । आफूसँग किनेर लैजानेहरुले बढी नाफा खाने गरेको तर किसानलाई २० रुपैयाँ भन्दा बढी नदिने गरेको गुनासो उनको छ ।

उनीहरुका अनुसार फूलको खेती गरेर माला बनाउनसके धान भन्दा नाफा हुन्छ । भक्तपुरको गुण्डुमै विगत १० वर्ष यता मखमली फूलको माला बनाइ बेच्दै आएकी किसान सानु सुनुवार काम केही नभएकाले फूलको उत्पादन गरी माला बनाएर बेच्नसके घर खर्च चलाउन सहज भएकाले माला उन्ने र बेच्ने काममा लागेको बताउँछिन् । उनले यसवर्ष फूलको व्यापार राम्रो नभएको गुनासो गर्दै उन्नत जातको फूल किसानलाई दिनसके त्यसबाट फाइदा हुने बताइन् ।

नगरपालिका र वडाहरुले राम्रो र उन्नत बीउ वितरण गर्नसके किसानले फूल उब्जाउन कठिनाइ भोग्न नपर्ने स्थानीय बताउँछन् । महिला मात्रै होइन गुण्डुका पुरुष पनि माला उन्नमा व्यस्त देखिन्छन् । सूर्यविनायकका किसान शहदेव बस्नेत १२ वर्षदेखि फूलको माला उन्दै र बेच्दै आएका छन् । पोहोरको तुलनामा फूल सिजन केही ढिला भएको र बेमौसमी झरीले क्षति गरेको उनी बताउँछन् । गत वर्ष २५ सय माला बनाएकोमा यस वर्ष अहिलेसम्म १ हजार माला मात्रै बनाउनसकेको उनको भनाइ छ ।

विगतको तुलनामा अहिले फूल व्यापार गर्न गाह्रो रहेको किसान बताउँछन् । विचौलियाका कारण फूल बेच्न कठिन भएको किसान गुनासो गर्दछन् । गुण्डुकी निर्मला बस्नेत पहिला व्यापारीहरु घरघरमा आएर किन्ने गरेपनि अहिले नआएको बताउँछिन् । घरबाटै व्यापारीहरुले ३५ रुपैयाँसम्म तिरेर लैजाने गरेको भएपनि अहिले व्यापारीलाई आउनै नदिने गरेको उनको अनुभव छ । पहिला १÷२ लाखको माला बेच्ने गरेको भएपनि अहिले व्यापार खस्किएको उनको भनाइ छ ।

फूलको व्यापार क्रमशः वर्षेनी घट्दै गएको किसानको दाबी छ । यसवर्ष विगतको तुलनामा फूलको उत्पादन कम भएको र बजार पनि नरहेको किसानको गुनासो छ । विचौलियाकाकारण किसानसँग व्यापारीहरुको भेट नहुने र विचौलियाले बाटोबाटै व्यापारीहरुलाई फर्काइदिने गरेको किसान बताउँछन् । सरकारले पनि उन्नत प्रकारको बीउबिजन दिन नसकोको गुनासो उनीहरुको छ । साथै आयातित फूलले बजार लिँदा देशका किसानले लगाएको फूल विक्री हुन छोडेको गुनासो उनीहरुको छ । यद्यपि, तिहार नजिकिँदै गएकाले अबको केही दिनपछि बजारमा फूलको माग ह्वात्तै बढ्ने छ । तिहारको पहिलो दिन काग तिहार लागेसँगै लक्ष्मी पूजा र भाइ टिकाको दिनसम्म फूलको व्यापार उच्च हुने भएकाले अहिले व्यापार राम्रो हुन नसकेको भनेर निराश किसानमा तिहारले बहार ल्याउने देखिन्छ ।