Uncategorized

रमिता हेर्दै देउवा, ओली कब्जामा, रवि थुनिए, प्रचण्ड सडकमा


प्रमुख सत्ता साझेदार भएका नाताले सरकार सञ्चालनमा कांग्रेसको हस्तक्षेप स्वभाविक हो । तर पछिल्ला केही विवादित निर्णय र कदममा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दवाव बढाउँदै कांग्रेस सभापति शेरबहादुुर देउवा स्वार्थपूर्तिमा लागेका छन् । पूर्वउपप्रधानमन्त्री रवि लामिछानेको पक्राउदेखि पार्टी विभाजनको अध्यादेश प्रकरणसम्मलाई त्यसकै बाछिटाका रुपमा हेरिएको छ ।

नेपालको राजनीतिमा एकजना शान्त तर चतुर पात्र छन्– जसले राष्ट्रिय राजनीतिमा हलचल मच्चाइरहेका छन् । एमाले–रास्वपाको मित्रता एकैछिनमा उनले दुस्मनीमा परिणत गराइदिए । जो एमाले रास्वपाको झगडाको बिउ बनेर आफ्ना सारा स्वार्थ पूरा गरिरहेका छन् । प्रधानमन्त्रीलाई समेत आफ्नो इसारामा नचाइरहेका छन् । ती व्यक्ति हुन्– कांग्रेस सभापति शेरबहादुुर देउवा । जो पछिल्ला राजनीतिक रमिताका डिजाइनर हुन् । तर, सारा दुुनियाँ भिड्दा उनै देउवा भने बुढानीलकण्ठको बार्दलीमा घाम तापेर रमिता हेरिरहेका छन् ।
देउवाको पहिलो स्वार्थ थियो – रवि लामिछानेको पक्राउ ।

यतिसम्म कि देउवाले सहकारी प्रतिवेदन कार्यान्वयन नभएसम्म अर्थात घुमाउरो पारामा रवि पक्राउ नपरेसम्म बालुवाटार नै नआउने अड्डी प्रधानमन्त्री केपी शर्मा ओलीसँग कसेका थिए । अहिले उनै देउवा रवि पक्राउ परेयता दुई पटक बालुवाटार पुगिसकेको चर्चा छ । देउवाले रवि पक्राउ परे माधव नेपालको दल फुटाउने गरी आउने अध्यादेशमा सहमति जनाउने भनेका थिए । तर, अन्तिम समयमा इतर पक्षको विरोधका कारण सहयोग गर्न नसक्ने भनेपछि ओलीलाई छक्याएका छन् । अर्थात, ओली फेरि एकपटक हेरेको हे¥यै भएका छन् ।

जसरी पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा देउवाको इशारामा चल्थे । संख्याको तागत पनि गज्जब हुने रहेछ । अहिले त्यैगरी प्रधानमन्त्री ओली देउवाको इशारामा चल्न बाध्य छन् । र, त्यसैको फाइदा उठाउँदै अपजस आउने सबै काम ओलीकै कार्यकालमा निमिट्यान्न पार्ने र आफ्नो प्रधानमन्त्रीकाल शान्तिका साथ चलाउने मूडमा देउवा छन् । रविको पक्राउदेखि कांग्रेस नेता जोडिएका काण्ड रापसाफसम्मका घटनालाई हेर्न सकिन्छ । अब देउवाको एक स्वार्थ पूरा भएकाले आगामी तीन चार महिना देउवाले ओलीसँग केही माग्ने छैनन् ।

केही घटना छन् जसमा फेरि पनि देउवा नै निर्णायक हुनेछन् । रवि लामिछाने कहिलेसम्म थुनिने वा कुन हदसम्मको अनुसन्धान गर्ने भन्ने देउवामै भर पर्नेछ । किनकी कांग्रेसकै मातहतमा गृहमन्त्रालय मात्र छैन कि देउवाकै इशारामा ओली चल्नुपर्ने बाध्यता छ । यहि बुझेका रवि आफूपक्राउ पर्नुअघि देउवालाई भेट्न चाहन्थे । यतिसम्म कि आफूलाई जोगाइदिए देउवालाई प्रधानमन्त्री मान्न जस्तोसुकै कागजमा हस्ताक्षर गर्न तयार रहेकोसम्मका बिषय सार्वजनिक भएका छन् । अब बुटवल र चितवन कतासम्मको अनुस्न्धानमा तान्ने यो उनकै हातमा रहनेछ ।

अर्को विषय, अहिले ओलीले दल फुटाउने अध्यादेश ल्याउन चाहे ओलीलाई देउवाले पनि रोक्न नसक्ने बताइरहेका छन् । तर, त्यसको बैधानिकताका लागि कानुन मन्त्री र राष्ट्रपति आवश्यक पर्छ । शीतलनिवास कांग्रेसकै फेबरमा हुनु र कानुनमन्त्री अजय चौरसीया पनि देउवाकै दाहिने भएकाले यी दुबै अश्त्र प्रयोग हुनेछन् । एकातर्फ आफ्नै कारण बनेको एकीकृत समाजवादी आफ्नै हस्ताक्षरबाट फुुटाउन देउवा तयार देखिदैनन् ।

अर्कोतर्फ कम्युनिस्ट फुटन पनि नदिने र जुट्न पनि नदिने रणनीतिमा रहेका देउवा अध्यषदेश आए कम्युनिस्ट थप बलियो हुनेमा जानकार छन् । किनकी एकीकृत समाजवादी फुटे एमाले मात्र बलियो बन्ने छैन । केही शक्ति माओवादीले पनि आर्जन गर्नेछ । यसकारण कम्युनिस्ट शक्तिाई ठूलो बनाइदिएर आफ्नै खुट्टामा बन्चरो हान्ने काम कम्तीमा पनि देउवाले गर्ने छैनन् । देउवाको असहयोग र अमेरिका भ्रमणले अध्यादेश ल्याउन दुईपटक असफ ओली फेरि तेस्रो प्रयासमा लाग्ने नै देखिन्छन् ।

प्रधानमन्त्री ओली दुई तिहाइको बलमा जे पनि गर्न सक्ने भन्दै प्रतिपक्षलाई पेलेरै जान खोजिरहेका छन् । तर, ओलीका निर्णयमा ब्रेक लगाएर प्रतिपक्षलाई उक्साउन देउवा सक्रिय भएको देखिन्छ । किन कि यसपछि आफैँ प्रधानमन्त्री हुने भएकाले प्रतिपक्षी शक्ति जाँच्न पनि देउवा चाहन्छन् । अहिले आफ्नै दाउका साथ सबै प्रतिपक्ष सडकमा उत्रिने तयारीमा रहँदा ती आन्दोलन पनि देउवाले मज्जाले नियाल्ने छन् । ओलीको दीर्घकालीन ड्यामेज पनि देउवाको प्रमुख ध्येय हो । विभिन्न विवादित निर्णय ओलीकै हातबाट गराएर ०८४ सालमा शक्ति क्षयीकरण गराउन देउवा चाहन्छन् ।

थप क्षयीकृत गर्न गिरिबन्धु टी इस्टेट प्रकरण वा कीर्तिपुरको जग्गा दान प्रकरणलाई समेत उनले हतियार बनाउन सक्नेछन् । केही समयअघि मात्रै रअका पूर्वप्रमुख र भारतको सुरक्षा परिषद्का प्रतिनिधिले देउवासँग सुटुक्क भेट गरेको हल्ला छ । विश्व राजनीतिमा भारत–चीनको निकटता र यही बीचमा अर्थमन्त्री विष्णु पौडेलको अमेरिका भ्रमणपछिको बाछिटालाई समेत देउवाले नियालिरहेको बुझिन्छ । अन्तत्वगत्वाः अरुलाई बद्नाम गर्ने र सत्तामाथि पडक जमाउँदै छैटौँ पटक प्रधानमन्त्रीको कुर्सीमा बस्नु नै देउवाको अर्जुन दृष्टि हो ।।