Breaking

गगनका अघि रवि कच्चा, देउवा र ओली रिझाएर हिरासत पु¥याए


सत्तारुढ दल नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यी दुवै लोकतान्त्रिक धारका पार्टी हुन् । दुवै पार्टी लोकतान्त्रिक कार्यशैलीमा विश्वास राख्छन् । लामो समय कांग्रेसमा राजनीति गरेका धेरै नेताहरु नै अहिले रास्वपामा आबद्ध छन् । एकै किसिमको राजनीतिक विचार धारा बोकेका दलहरुबीचको गठबन्धन गर्ने संस्कृति मौलाउँदा कांग्रेस र रास्वपा भने एकअर्काको कटु आलोचक देखिएका छन् ।

आफ्ना सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरु यतिबेला सडकमा उत्रिएका छन् । सभापति रविको पक्राउले रनथनिएका रास्वपा नेता कार्यकर्ताको निशानामा कांग्रेस महामन्त्री गगन थापा परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र गगनविरुद्ध रास्वपाजन खनिएका छन् । मानौ गगनकै आदेशमा प्रहरीले रविलाई पक्राउ गरेको भाष्य बनाएर चर्को नाराबाजी गरिरहेका छन् ।

मनिष झाहरु यसलाई नै सफलता ठानेर भड्काउपूर्ण भाषणबाजी गरिरहेका छन् । सभापतिको पक्राउको विरोध प्रर्दशनमा होमिएका कार्यबाहक प्रवक्ता एवम् सांसद मनिष झाले गगनमाथि आगो ओकलिरहेका छन् । रविको पक्राउलाई राजनीतिक प्रतिशोध भएको भन्दै प्रतिवाद गरेका उनले भनेका छन् ‘गगन थापा तिमी नाङगियौं । रविसँग आत्तिएका तिमी केपी ओलीसँग लागेर मात्तियौं ।’

तर मनिष झाले भनेझै गगन न नाङगिएका छन् न आत्तिएर मात्तिएको शैलीमै प्रकट भइरहेका छन् । गगन रविको पक्राउपछि गुमनाम छन् । सहकारी ठगी प्रकरणमा सदनमा प्रमाणको दलिल नै पेश गर्दै रविलाई घुँडा टेकाई छाड्ने रणनीतिमा रहेका गगन अहिले आफ्नै दलको गृहमन्त्री भएका बेला सफल भए । आफ्नै गृहमन्त्री भएका बेला रविलाई हिरासतमा हुले । सहकारी ठगी प्रकरणमा विवादित हुँदाहुँदै स्वार्थ बाझिने गृहमन्त्रालय सम्हालेपछि सुरु भएको रवि–गगनको राजनीतिक टसल अहिले पनि उस्तै देखिन्छ । यही टसलका बीच गगनको जित र रविको हार भएको छ । यो हार रास्वपालाई अस्वीकार्य भएको देखिन्छ । अझ भित्री रुपमा गत निर्वाचनमा काठमाडौं ४ मा उम्मेदवारी नै नदिएर गगनलाई सघाएको रास्वपालाई गगनले दिएको धक्का पाच्य हुन सकेका छैन ।

आफू पक्राउ पर्ने थाह पाएपछि कांग्रेस सभापति शेरबहादुर देउवा भेट्ने रविको प्रयास यो पटक असफल भयो । यसअघि देउवाले आफूलाई प्रधानमन्त्री अफर गरेको भन्दै हल्ला गरेका रविले चर्को मूल्य चुकाउनु प¥यो । रविको कच्चा र अपरिपक्वतापूर्ण राजनीतिक रणनीतिले गगनलाई थप सघाएको देखिन्छ । मनिष झा मात्र होइन रविको पक्राउ केवल राजनीतिक पूर्वाग्रह भएको रास्वपा नेता कार्यकर्ताको बुझाई छ । यस्तै प्रतिपक्षमा बस्दासमेत रविलाई बोकेका ओलीले सत्ताको साँचो आफैसँग भएका बेला पनि रविलाई जोगाउन सकेनन् । एमाले–कांग्रेस गठबन्धन गगनका लागि रविलाई तह लगाउने अवसर बन्यो । पछिल्लो समय ओली देउवा दुवैसँग गगनको सुमधुर सम्बन्धले उनलाई थप सहजता मिलेको देखिन्छ । अहिले रविलाई हिरासतमुक्त गर्न रविकी पत्नी निकिता पौडेल र उपसभापति स्वर्णिम वाग्ले लबिङमा रहेको चर्चा राजनीतिक वृत्तमा छ । जसका कारण राजनीतिक सहमति बिना यो समस्या हल नहुने नेताहरुको तर्क छ ।

अहिले मुलुकको सिंगो राजनीति रवि केन्द्रित बनिरहेको छ । उनको पक्राउको विषय सर्वसाधारण नागरिकदेखि माथिल्लो राजनीतिक तहसम्मै बहस र चर्चाको विषय बनेको छ । यद्यपि, सहकारी ठगी प्रकरणको आरोपमा हिरासत पुगिसकेका रविको मुद्दा न्यायिक प्रक्रियाबाटै छिनोफानो हुनेछ । यो प्रकरणलाई राजनीतिक सहमतिको रङ्ग दिन खोजिएको चर्चा चले पनि त्यो अन्तिम बिन्दु के हुने छ ? अहिले नै टिप्पणी गरिहाल्ने अवस्था छैन । उनी कानुनी प्रक्रिया बमोजिम हिरासतमुक्त त हुन सक्लान् तर उनीमाथि लागेको आरोप र मुद्दाको किनारा नलागेसम्म उनी कानुनप्रतिको जवाफदेहिताबाट उम्किन सक्ने अवस्था देखिँदैन ।