मौसम

पश्चिमी वायुको प्रभाव: पाँच प्रदेशका पहाडी क्षेत्रको केही ठाउँमा वर्षा हुने


काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, बाग्मती र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागमा एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जारी गेको बुलेटिनमा उल्लेख छ ।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बुधबार र बिहीबार पनि देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।