Breaking

माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपालको ४ गोल


काठमाडौँ – साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत माल्दिभ्स विरुद्ध भइरहेको खेलको पहिलो हाफमा नेपालले गोलको वर्षा गरेको छ ।

दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले पहिलो हाफमा चार गोल गरेको छ । रेखा पौडेलले दुई तथा प्रीति राई र सविता राना मगरले एक एक गोल गरे ।

खेलको सुरुवातदेखि नै नेपालले बलमाथि पकड राख्दै लगातार विपक्षीको पोष्टमा आक्रमण गरेको थियो ।

छैटौं मिनेटमा प्रीति राईको गोलबाट नेपालले अग्रता लिएको थियो । सविता रानाको कर्नर पासमा प्रीतिले बायाँ साइडबाट हानेको प्रहार गोल भएको थियो । सविताले २९ औं मिनेटमा बक्स बाहिरबाट सुन्दर गोल गर्दै अग्रता दोब्बर पारिन् । त्यसपछि रेखा पौडेलले ३२ औं र ४२ औं मिनेटमा गोल गरिन् । रेखाले पहिलो गोल रश्मीकुमारी घिसिङको कटब्याक पासमा चेस्टले गोल गरेकी हुन् । रेखाले अर्को गोल सविताको पासमा गरेकी हुन् ।

गोलमेसिन सावित्रा भण्डारी साम्बा टिममा सामेल भएपनि उनी पहिलो हाफमा बेन्चमै छिन् ।

पहिलो हाफमा नेपालले गोलको अन्य अवसर पनि बनाएको थियो । तर सदुपयोग गर्न सकेन । ३८ औं मिनेटमा विमला चौधरीले हानेको फ्रिकिक बारमा लागेर बाहिरिएको थियो ।