अन्तर्राष्ट्रिय

लेबननमा सैन्य कारबाही रोक्न अमेरिकासामु इजराइलले राखेको दुई शर्त


इजराइलले पछिल्लो केही सातादेखि हिजबुल्लाहविरूद्ध लेबननमा गरिरहेको सैन्य कारबाही कूटनीतिक माध्यमबाट रोक्न अमेरिकासामु आफ्ना शर्तहरू राखेको छ। इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले इसराइल र लेबननको सीमावर्ती इलाकामा दुवै देशका आ-आफ्ना नागरिक फर्किने वातावरण बनाउन भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनसमक्ष शर्तहरू सहितको दस्तावेज बिहीवार दिएको भनेर एक्सियस अनलाइनले खुलासा गरेको छ।

इसराइलले ती शर्तहरू रक्षा मन्त्रालय तथा सेनासँग छलफल गरेर राखेको बताइएको छ। एक्सियसले लेखेको समाचारमा नाम नखुलाइएका दुई अमेरिकी र दुई इसराइली अधिकारीलाई उदृत गरेको छ। यसले लेखेअनुसार इसराइलले आफ्नो उत्तरी सीमा पारीको दक्षिणी लेबननमा हिजबुल्लाहले फेरि संरचना नबनाओस् भनेर इसराइली सेनाले पछि पनि कारबाही गर्न पाउनु पर्ने शर्त राखेको छ।

त्यस्तै आफ्नो वायु सेनाले लेबननको आकाश प्रयोग गर्न पाउनुपर्ने शर्त पनि उक्त दस्तावेजमा उल्लेख छ। यी दुबै शर्त संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको प्रस्ताव १७०१ को खिलाफ भएकाले अमेरिकाले मान्न मुस्किल पर्नेछ। सो प्रस्ताव इसराइल र हिजबुल्लाह बीच सन् २००६को युद्ध रोक्न ल्याइएको थियो।

हिजबुल्लाहले सन् २००६ मा इसराइलभित्र पसेर केही इसराइली सैनिक मार्‍यो र केहीलाई अपहरण गरेर लेबनन लग्यो। त्यसपछि इसराइलले लेबननमा सेना पठाएर आक्रमण गर्‍यो। धेरै सर्वसाधारण मारिए भने हिजबुल्लाहले पनि ठूलो क्षति बेहोर्‍यो। तर इसराइलले हिजबुल्लाहलाई निमिट्यान्न पार्न सकेन।संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको प्रस्ताव १७०१ का आधारमा सो युद्ध अन्ततःरोकियो।

सो सहमति अनुसार इसराइली सेना लेबननबाट फर्किए भने इसराइली सीमाबाट करिब २९ किलोमिटर उत्तरमा रहेको लिटानी नदी कटेर दक्षिणतिर हिजबुल्लाह लडाकू आउन नपाउने भए। सो ुबफर जोनु मा संयुक्त राष्ट्र संघको शान्ति सेना र लेबननको राष्ट्रिय सेनाले मात्रै हतियार राख्न पाउने भयो।

हिजबुल्लाहले लिटानी नदी पार गरेर इसराइलको सीमाना छेउमै सैन्य संरचना बनाएको औंल्याउँदै इसराइलले प्रस्ताव १७०१को पालना नभएको बताउँदै आएको छ। संयुक्त राष्ट्र संघको शान्ति सेनाले आफ्नो शिविर छेवैमा हिजबुल्लाहलाई बंकर र सुरूङहरू बनाउन दिएको भन्दै आएको छ।

त्यसैले फेरि पनि हिजबुल्लाहले त्यहाँ त्यस्ता संरचना नबनाओस् र अन्ततिर पनि फेरि शक्ति आर्जन गरेर बलियो नबनोस् भनेर इसराइलले आफ्नो जारी कारवाही रोक्न ती शर्तहरू राखेको मानिन्छ।

इसराइलले पछिल्ला केही हप्तामा हिजबुल्लाह माथिको प्रहार तीब्र पारेको छ।