Uncategorized

साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई हराउँदै भुटान सेमिफाइनलनजिक


काठमाडौँ – श्रीलंकाविरुद्ध ४–१ को जितसँगै भुटानले साफ महिला च्याम्पियनसिप–२०२४ को सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भुटानलाई जित दिलाउन देकी ल्हाजोमले दुई गोल गरिन् । नाम्गेल देमा र दोर्जी एदोनले एक गोल गरिन् । श्रीलंकाकी थुशानी मदुसीकाले एक गोल फर्काइन् ।

तौँ मिनेटमा ल्हाजोमले गोल गर्दै भुटानलाई अग्रतामा राखेकी थिइन् । २३औँ मिनेटमा गोल गर्दै मदुसीकाको गोलमा श्रीलंका खेलमा फर्किएको थियो ।

तर, ३२औँ मिनेटमा नाम्गेलले गोल गर्दै भुटानलाई पुनः २–१ को अग्रतामा राखिन् । भुटानले दोस्रो हाफमा दुई गोल थप्यो ।

७६औँ मिनेटमा ल्हाजोमले व्यक्तिगत दोस्रो गोल गर्दै भुटानलाई ३–१ को अग्रतामा राखिन् । त्यसको तीन मिनेटपछि नै भुटानले चौथो गोल थप्यो । भुटानकी दोर्जी एदोनले टिमका लागि चौथो गोल गरिन् ।

जितसँगै दुई खेलबाट चार अंक जोडेको भुटान समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ । भुटानले यसअघि पहिलो खेलमा घरेलु टिम नेपाललाई गोलरहीत बराबरीमा रोकेको थियो । अब भुटानले समूह चरणको अन्तिम खेलमा माल्दिभ्सविरुद्ध खेल्नेछ ।