Breaking

सञ्चार मन्त्रालयमा दर्ता हुँदै टिकटक, नेपालमा कार्यालय खोल्नसक्ने


काठमाडौँ – छोटा भिडियो सेयर गर्न मिल्ने प्लेटफर्म टिकटक नेपालमा दर्ता हुने भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८० अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा टिकटक दर्ता हुने भएको हो ।

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार टिकटकका प्रतिनिधिले आइतबार मन्त्रालयमै पुगेर दर्ता प्रक्रियाका लागि आवश्यक कागजात बुझाएका हुन् ।

निर्देशिकाको तीन नम्बर बुँदामा सामाजिक सञ्जालका कम्पनी सञ्चार मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था छ । टिकटकले बुझाएका कागजातको अध्ययन गरी प्रक्रियाअनुरुप दर्ता स्वीकृतगरी सूचीकरण गरिने प्रवक्ता ठाकुरले बताए ।

निर्देशिकाको बुँदा नम्बर ६ मा यसरी सूचीकरण हुने कम्पनीले गुनासो व्यवस्थापनका लागि ‘पोइन्ट अफ कन्ट्रयाक्ट्र’को व्यवस्था गर्नुपर्छ । यसरी दर्ता भएका र नेपालमा कार्यालय नरहेका सामाजिक सञ्जाल कम्पनीले तीन महिनाभित्र कार्यालय खोल्ने वा सम्पर्क व्यक्ति तोक्नुपर्ने थ्यवस्था निर्देशिकामा छ ।

टिकटक सूचीकरण हुन आएसँगै उसले निर्देशिका अनुसार नेपालमा गुनासो व्यवस्थापन एवं आवश्यक सम्पर्कका लागि कार्यालय खोल्ने वा सम्पर्क व्यक्ति तोक्ने अपेक्षा गरिएको छ ।

गतवर्षको मंसिरमा टिकटकमाथि नेपालमा प्रतिबन्ध लागेको थियो । करिब नौ महिनापछि गत भदौमा प्रतिबन्ध हटाइएको थियो । त्यसबीचमा कम्पनीले नेपालको नीति नियम मान्ने र सबै गुनासो सम्बोधन गर्न तयार रहेको बताएको थियो ।

नेपालमा सञ्चालनमा रहेका तर कार्यालय नरहेका कम्पनी ठूला करदाता कार्यालयमा दर्ता भएर डिजिटल सेवा कर तिर्दै आएका छन् । सोहीअनुसार पहिले नै दर्ता रहेको टिकटक अब सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न बनेको निर्देशिका अनुसार सूचीकरण हुन तयार भएको हो ।