Breaking

सांसद रवि लामिछाने पक्राउबारे संसद सचिवालयले गरायो जानकारी


काठमाडौँ – संघीय संसदले प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराएको छ ।
संसद सचिवालयले चितवन क्षेत्र नं २ बाट निर्वाचिन सांसद रवि लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसुरको अनुसन्धानको क्रममा पक्राउ गरिएको जानकारी गराएको हो ।

संंसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै भनेका छन्, ‘नेपालको संविधानको धारा १०३ को उपधारा (६) बमोजिम जानकारी गराइएको भन्नेसमेत व्यहोराको जिल्ला प्रहरी कार्यालय कास्की, अपराध अनुसन्धान तथा कारबाही शाखाको प.सं. २०८१/०८२ च.नं. ७०२७ मिति २०८१/०७/०२ गतेको पत्रबाट सम्माननीय सभामुखज्यूलाई लेखी आएकोले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को उपनियम (२) को प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को उपनियम (२) मा बैठक नचलेको अवस्थामा उपनियम (१) बमोजिमको सूचना प्राप्त भएमा सभामुखले सचिवालयको सूचना पाटीमा सोको सूचना टाँस गर्न लगाई सार्वजनिक गर्न लगाउने उल्लेख छ ।