Breaking

एकीकृत समाजवादी एमालेसँग एकीकरण गर्नुपर्छ : नेता मिश्र


काठमाडौँ – नेकपा एकीकृत समाजवादीका नेता वंशिधर मिश्रले पार्टीलाई नेकपा एमालेसँग एकीकरण गर्नुपर्ने बताएका छन् । नेकपा एकीकृत समाजवादीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको भन्दै नेता मिश्रले एमालेसँग पार्टीको एकीकरण गर्नुपर्ने बताएका हुन् ।
उनले तत्कालीन पार्टी एमाले फुट्दा नयाँ पार्टीमा कुनै पनि त्रुटि, कमी कमजोरी र असन्तुष्टिहरु नहोस् भन्ने आफूहरुको अपेक्षा रहेको भए पनि त्यस्तो हुन नसकेको बताए ।

नेता मिश्रले पार्टीको दशौं महाधिवेशनको म्यान्डेटविपरीत मनोनीत केन्द्रीय सदस्यहरुले पदाधिकारी र पोलिटव्युरो सदस्य चयन गरेको भन्दै त्यसमा आफूहरुको असन्तुष्टि रहेको बताए ।

उनले पार्टी विधान र महाधिवेशनको म्यान्डेटविपरीत पदाधिकारी र पोलिटव्युरो चयन हुनु त्रुटिपूर्ण काम भएकोले सो कुरा सच्चिनुपर्ने औंल्याए । पार्टीभित्र दुई पक्ष हावी भएको भन्दै उनले पार्टी संकटमा रहेको उल्लेख गरे । नेता मिश्रले पार्टीको औचित्य सकिएकाले नयाँ पार्टी बनाउनुपर्छ भन्ने एउटा पक्ष र सुधार गरेर यही पार्टी बनाउनुपर्छ भन्ने अर्को पक्ष पार्टीभित्र रहेको बताए ।