देश

ओलीलाई सत्ता जोगाउन मुस्किल, रवि–प्रचण्ड नै सक्रिय, भारत र चीनमा के गर्दैछन् प्रचण्डका दूत ?


काठमाडौँ— विकसित पछिल्ला केही घटनाक्रमले वर्तमान सरकार धर्मराएको संकेत गरेको छ । कांग्रेस–एमालेकै बीचमा रास्वपा सभापति रवि लामिछानेको पक्राउ र दल फुटाउने अध्यादेशमा कुुरा नमिल्दा सरकार ढाल्न हौसिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप राहत मिलेको देखिन्छ ।

केपी शर्मा ओली प्रधानमन्त्री बनेयता नै आफ्नो कार्यकालको आयु तोक्दै आएका छन् । दुई दिनअघि मात्रै ओलीले डेढ वर्षपछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने विश्वास दिलाए । यो अरु केही नभई अवस्था काबु बाहिर जान नदिन कांग्रेस फकाउने मन्त्र मात्रै थियो उनको । सरकारले ९० दिन पार गरेकै दिन ओलीले फेरि कांग्रेसलाई आश्वस्त पार्नु, सरकार ढाल्न प्रतिपक्षी मात्र नभई कांग्रेसकै नेताहरुले समेत दशैँको भाका तोक्नु र छठपछि ठूलै आन्दोलनको तयारीमा प्रतिपक्षीहरु रहनुले ओलीको यो अभिव्यक्ति सामान्य कदापि पनि थिएन । अर्थात, कांग्रेसले साथ छाड्न खोजेको वा कांग्रेसबाटै चेपुवामा परेको स्पष्ट संकेत दिएका छन् । यसैकारण ओलीले कांग्रेसको विश्वास जित्न खोज्नु सामान्य भए पनि यी गतिविधिले विपक्षीलाई थप हौसाइरहेको देखिन्छ ।

भूराजनीतिक र आन्तरिक परिस्थितिकै कारण चेपुवामा परेका ओली विश्वास टिकाइराख्न कांग्रेस फकाउन हरसम्भव लागे पनि आफ्नो पक्षमा माहोल बन्ने देखिएपछि माओवादी लगायत दलहरु पनि कांग्रेसलाई नै विश्वासमा लिएर वैकल्पिक बाटो खोज्न तम्सिएका छन् । यता मौका मिले सरकार ढाल्ने जोखाना हेरेर बसेका माओवादी अध्यक्ष प्रचण्डलाई भने अहिले निकै अनुकूलको वातावण बनेको छ । अहिले ओली सरकार ढाल्न हरसम्भव प्रयास गरिरहेका प्रचण्डका लागि कांग्रेस पनि केही मुद्दामा बाध्य भएर प्रचण्डलाई सहयोग गर्न पुगिरहेको देखिन्छ ।

दल फुटाउने अध्यादेश ल्याउन अस्वीकार
एमाले–माओवादी समीकरणमा तत्कालीन प्रधानमन्त्री प्रचण्डकै हातबाट जनता समाजवादी पार्टी फुुटाएका ओली अहिले आफ्नै हात जगन्नाथ भएपछि अध्यादेशमार्फत एकीकृत समाजवादी फुटाउने रणनीतिमा छन् । यसको त्रास रास्वपादेखि माओवादीसम्मै छ । सबैभन्दा बढी त्रासमा रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुुर देउवालाई अध्यादेश ल्याउन नदिन बिन्ती बिसाइसकेका छन् । यसमा देउवा पनि सकारात्मक हुँदा अध्यादेश ल्याउने बिषयमा ओली–देउवाकै स्पष्ट बिमती देखिन्छ । त्यसमाथि दल फुटाएर एमालेलाई पहिलो पार्टी बन्न दिएर आफ्नै हातमा आउनै लागेको सत्ता गुमाउने गरी कच्चा निर्णय गर्ने पक्षमा कांग्रेस पनि देखिँदैन । तर, माधवको पार्टी जोगाउनु देउवालाई बाध्यता भएझैँ अशोक राई नेतृत्वको जसपा जोगाउनुपर्ने बाध्यता पनि ओलीमा हुँदा विवाद कायम रहनेछ । यसमा जति अविश्वास बढ्छ त्यति नै प्रचण्डलाई फाइदा हुने देखिन्छ ।

देउवालाई प्रधानमन्त्री अफर
माओवादीले अनौपचारिक रुपमा एमालेसँगको सहमति भंग गरे देउवालाई प्रधानमन्त्री बनाउने वचन दिइसकेको छ । विपक्षमा बरालिएर हिंड्नु भन्दा सानै भाग भए पनि सत्ता भोग गर्न पाउने र पार्टीको आन्तरिक सन्तुलन मिलाउन चाहने प्रचण्ड आफू प्रधानमन्त्री नबने पनि पार्टी सत्तामा होस् भन्ने चाहन्छन् । यसैकारण प्रचण्डले कांग्रेस उपसभापति पूर्णबहादुुर खड्कामार्फत देउवालाई प्रधानमन्त्री अफर गरेका छन् । कांग्रेससँग मिल्न नहुने पक्षमा रहेका खड्काको प्रचण्डसँगै मिल्नुपर्ने अडानले यो बिचमा पार्टीमा केही असन्तुष्टि नै बढेको थियो । अहिले बिगतको केमेस्ट्रीबाट प्रचण्ड चल्न खोजिरहेका छन् ।

सत्तारुढ दल नै सकरारको विपक्षमा
सामान्यतया विपक्षी दलहरुले सरकारलाई खबरदारी गर्न एकीकृत योजना बनाउनु अन्यथा होइन । तर, शुक्रबार दृश्य फरक देखियो । प्रचण्डले सबै विपक्षी दलको बैठक बोलाएका थिए । तर, सो बैठकमा श्रम मन्त्रालय लिएको लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुुर सहभागी भए । सरकारलाई नै समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसमेत सो बैठकमा सहभागी भएकी थिइन् । यसले पनि समर्थन गरेकै दलहरुले साथ छोड्दा प्रचण्ड नै बलियो बन्दैछन् । यद्यपि लोसपाले पनि प्रचण्डले आफूलाई झुक्याएर बोलाएको बताएको छ ।

ओलीमाथि कांग्रेसकै दवाव, एजेण्डामा बरालिएको सरकार
संख्यामा दुई तिहाई भए पनि सरकारको जग निकै कमजोर भइसकेको स्वयं कांग्रेसकै असन्तोषले देखाउँछ । मूलतः सरकार बनाउनुअघि भएको सातबुँदे कार्यान्वयनमा सरकार उदासीन देखिएकाले कांग्रेसले सरकार छाड्नुपर्ने मत बलियो देखिन्छ । यसले पनि वैकल्पिक समीकरणका लागि प्रचण्ड अनिवार्य भएकाले उनलाई नै सहयोग गरेको देखिन्छ ।

नेपालमा सरकार परिवर्तनका लागि आन्तरिक कारणहरु मात्रै निर्णयक हुँदैनन् । भूराजनीतिक प्रभाव पनि उत्तिकै रहने भएकाले ओलीले चीन वा भारत कुनै पनि देशको विश्वास जित्न सकेका छैनन् । बडादशैँकै बीचमा भएको पम्फा भुसालको भारत भ्रमण र अग्नि सापकोटाको चीन भ्रमणको सन्देशले समेत सत्ता समीकरण परिवर्तन वा प्रचण्डको प्रयासलाई सार्थक रुप दिने देखिन्छ । सरकार नै परिवर्तन हुन केही थप घटनाक्रम विकास हुनुपर्ने देखिए पनि देउवा प्रधानमन्त्री बन्ने गरी समीकरण फेरिने सम्भावना भने बढ्दै गएको छ ।