Breaking

रविविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै केन्द्रीय कार्यालय वनस्थलीमा प्रहरीको टोली पुग्यो


काठमाडौँ— जिल्ला अदालत कास्कीले रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै प्रहरीको एक टोली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय वनस्थलीमा पुगेको छ ।

अहिले रास्वपाको केन्द्रीय कार्यालयमा ठूलो संख्यामा सञ्चारकर्मी र रास्वपाका समर्थकहरूको उपस्थिति छ ।

यसअघि, कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध आज पक्राउ पुर्जी जारी गरेको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता देखिएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन दिएको थियो ।

सोही प्रतिवेदनका आधारमा अनुसन्धान गर्न प्रहरीले उनीविरुद्ध पक्राउ अनुमति मागेको हो । कास्की जिल्ला अदालतबाट उनलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी लिएको हो । सहकारी हिनामिना प्रकरणमा मुछिएका उनलाई पक्राउ गर्न अदालतबाट प्रहरीले पुर्जी लिएको हो ।

यसअघि सोही प्रकरणमा लामिछानेका पूर्वसाझेदार तथा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परिसकेका छन् ।