Breaking

ओलीलाई छोड्ने मोडमा कांग्रेस, सत्तासंकटको संकेत (भिडियो)


काठमाडौं । नागरिकलाई आश देखाउन बनेको सरकारकै कारण बद्नाम हुने अवस्थामा पुग्दा सत्तामा किन रहने भन्ने प्रश्न कांग्रेसमा पेचिलो बन्न थालेको छ । जहाँ सहमति अनुसारसरकार अघि नबढेको कांग्रेस नेताहरुले आरोप लगाउन सुरु गर्दा एमालेको कदम नै उनीहरुलाई भारी पर्न थालेको छ । जसले काम बिगार्ने एमाले, चोट पाउने कांग्रेसको स्थिति बन्दा कांग्रेसले अरुकै कारण बद्नामी कहिलेसम्म भोग्छ त ?

राम्रो जस आफूले लिने अपजस आए कांग्रेसमाथि खन्याउने एमाले नेताहरुको प्रवृत्तिमाथिको प्रश्न पेचिलो बन्न थालेको छ । प्रधानमन्त्रीको हैसियतमा यो सबैको जिम्मेवारी केपी शर्मा ओलीले लिनुपर्ने भएपनि ठूलो दलको नैतिकता भन्दै प्रहार कांग्रेसमाथि नै छ । जसको उदाहरण असोज ११ र १२ गतेको भीषण वर्षापछि उत्पन्न विपदमा एमालेले निर्माण गरेको कार्यबहाक सरकारको अकर्मण्यताको भाष्य एक थियो । जसमा सबैभन्दा बढी प्रश्नमा कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री परे भने मन्त्रिपरिषदको बैठक भने ओलीकै कारण बस्न सकेको थिएन । जहाँ पशुपतिको धर्मशालाको विषयमै पनि कांग्रेसबाट मन्त्री बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका बद्री पाण्डे बद्नामीको पात्र बन्दै छन् ।

उनको अध्यक्षतामै असोज २० मा बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद बैठकले नै धर्मशाला सन्चालनको जिम्मा काठमाडौं महानगरलाई दिने निर्णय गरेको थियो । तर १० दिनमै उनी आफ्नो निर्णयबाट पछाडि हट्नुको कारण मारवाडी सेवा समितिका अध्यक्षसँग ओलीको निकटता मानिदा पाण्डे भने नैतिकताको प्रश्नमा छन् । यसअघि कुलमान घिसिङको विषयसमेत व्यवसायी फकाउने ओलीको इच्छासँगै बढी जोडिदा भिडन्तमा भने उर्जामन्त्री दीपक खड्का पुगेका थिए ।

त्यस्तै उपसभामुख इन्दिरा रानामगरलाई हटाएर संवैधानिक परिषदमा कांग्रेसलाई नै भाग दिन लागेको भाष्य निर्माण गर्ने अस्त्रसमेत ओलीले प्रयोग गरे । जतिबेला कांग्रेस नै यो पक्षमा नदेखिँदा उनले भने रास्वपालाई साइजमा राख्नेदेखि काँग्रेसलाई भाग दिन आफू दत्तचित्त भएको विश्वास दिलाउने दोहोरो अस्त्रका रुपमा यसलाई प्रयोग गरे ।

फलतः लाभहीन बद्नामीको सिकार काँग्रेस बन्दा यसबारे सोच्नु पर्ने बेला आएको डा.शेखर कोइराला जस्ता काँग्रेस नेताहरुले नै संकेत गर्न थालेका छन् । अर्थात देउवालाई प्रधानमन्त्री बनाउने पालो कुरेकै भरमा सबैथोक गुमाउन नहुने तर्क कांग्रेसभित्र जोडदार बन्न थालेको छ ।
(भिडियो सहित)