Breaking

साफ महिला च्याम्पियनसिप: नेपालले भुटानसँग पहिलो खेल खेल्दै


काठमाडौं । काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियनसिप–२०२४ मा आज नेपालले भुटानसँग पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।

भुटानविरुद्ध लगातार गोल गर्दै आएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ फ्रेन्च महिला लिगमा व्यस्त रहेकोले उनले पहिलो खेल गुमाउने भएकी छन् ।

तुलनात्मक रुपमा नेपालभन्दा भुटान कमजोर भएपनि पछिल्लो समय भुटानको फुटबलले प्रगति गरिरहेको छ । साम्बा नहुँदा नेपालका अन्य खेलाडीका लागि राम्रो प्रदर्शन गर्ने र गोल गर्ने अवसर हुनेछ । युएईको अबुधाबी कन्ट्री क्लबबाट एएफसी वुमन्स च्याम्पियन्स लिग खेलेर आएकी रेखा पौडेल र रश्मिकुमारी घिसिङले नेपालको फरवार्ड लाइन सम्हाल्ने सम्भावना छ ।

नेपालले यसअघि ६ संस्करणमध्ये चारपटक भुटानसँग खेलेको थिए । जसमा सबै खेल नेपालले जितेको छ । सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो साफमा नेपालले भुटानलाई ८–० ले पराजित गरेको थियो ।


हिजोको उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ ।दशरथ रंगशालामा भारतले ५–२ को जित दर्ता गर्दै ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै ४ गोल गरेको भारत दोस्रो हाफमा भने केही दबाबमा परेको थियो ।

पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टीमा गोल गरेको पाकिस्तानले दोस्रो हाफको सुरुवातमा नै अर्को गोल फर्काएको थियो । त्यसपछि लगातार दबाब कायम गरेपनि गोल गर्न नसक्दा पाकिस्तान खेलमा फर्कन सकेन ।