काठमाडौँ— दक्षिण एसियाली क्षेत्रको ठूलो फुटबल प्रतियोगिता साफ वुमन्स च्याम्पियनसिप पुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
च्याम्पियनसिपको उद्घाटन खेलमा समूह ए मा रहेका भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।
सर्वाधिक ५ पटकको विजेता भारत पछिल्लोपटक सेमिफाइनलबाटै बाहिरिएको थियो । त्यही हारको पीडालाई बिर्साउँदै यसपटक भारत उपाधि जित्ने लक्ष्यमा छ ।
अशलतादेवीको कप्तानीमा रहेको भारतीय टोली यसपटक बलियो छ । टिममा सिनिय र जुनियर खेलाडीको मिश्रण छ भने गोलमेसिन बाला देवीले यस पटक साफमा पुनरागमन गरेकी छन् । नयाँ प्रशिक्षक सन्तोष कश्यपले टोली सम्हालेका छन् । यस पटक भारतीय टिममा धेरै खेलाडी परिवर्तन भइसकेको छ ।
मुख्य प्रशिक्षक सन्तोष कश्यपले साफ वुमन्स च्याम्पियनसिप आफ्नो लागि नयाँ भए पनि टिम राम्रो रहेको र लक्ष्य उपाधि जित्ने भएको बताएका छन् । भारतीय कप्तान अशलतादेवीले पाकिस्तानविरुद्धको खेल खेल्दै एक सयौं अन्तर्राष्ट्रिय खेल पूरा गर्नेछिन् । अशलताले एक सयौँ अन्तर्राष्ट्रिय खेल खेल्नका लागि आफू उत्साहित रहेको बताएकी छन् ।
उनले पाकिस्तानविरुद्धको पहिलो खेल महत्वपूर्ण हुने बताइन् । पछिल्लोपटक सन् २०२२ मा काठमाडौंमै भएको साफ यी दुई टोली समूह चरणमा भिडेका थिए जसमा भारत ३(० ले विजयी भएको थियो । समूह ए मा भारत र पाकिस्तानसँगै साविक विजेता बंगलादेश छ । यस समूहबाट भारत र बंगलादेश सेमिफाइनल पुग्ने सम्भावना बलियो छ । उता पाकिस्तानी टिममा भने पछिल्लो संस्करणमा प्रशिक्षक रहेका अदिल रिज्की र कप्तान मारिया खान नै यथावत छन् ।
प्रतिक्रिया