खेलकुद

साफ खेल्न सात देश तयार, उपाधिमा भारतको दबदबा, पाँचपटक फाइनलमा हारेको नेपालले के गर्ला ?


काठमाडौँ— दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता भोलिदेखि काठमाडौंमा हुँदैछ । दक्षिण एसियाली सात राष्ट्र सहभागी हुने खेलमा भारत र पाकिस्ताबीच उद्घाटन खेल हुँदैछ । खेलको पूर्वसन्ध्यामा सबै टोलीले आफ्नो तयारीबारे जानकारी गराएका छन् । यसमध्ये पाँचपटक फाइनल पुुगेर पनि उपाधि उचाल्न नपाएको नेपालका लागि यसपटकको खेल निकै महत्वपूर्ण र बहुप्रतिक्षित छ ।

सातौं संस्करणको साफ महिला च्याम्पियनसिप बिहीबारदेखि काठमाडौंमा हुँदैछ । दक्षिण एसियाका सात राष्ट्रले सहभागिता जनाउने यो प्रतियोगिता नेपालले तेस्रोपटक आयोजना गरेको हो । यसपटक नेपालको तर्फबाट अनुुभवी टोली मैदन उत्रिँदा उपाधी जित्नु नै नेपालको मुख्य उद्देश्य रहेको छ । अहिलेसम्म पाँचपटक फाइनलमा पुगे पनि उपाधी जित्न नसकेको नेपाल यसपटक भने घरेलु मैदानमा घरेलु दर्शकको भरपुुर साथको फाइदा उठाउँदै उपाधीको खडेरी तोड्न चाहन्छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुुने उद्घाटन खेलमा भारत र पाकिस्तानबीच खेल हुनेछ । नेपालले आफ्नो पहिलो खेल शुक्रबार भुटानसँग खेल्नेछ । नेपाली टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा यसपटक च्याम्पियन बन्ने लक्ष्य रहेको सुनाउँछिन् । यसपल्ट आफ्नो टोलीको मेहनत खेर नजानेमा आशावादी देखिएकी सुब्बा खेलको तयारीका लागि समय छोटो भए पनि घरेलु लिगले मद्दत पु¥याउने विश्वासमा छिन् । डिफेन्समा समस्या हुँदा गोलकिपरले महत्वपूर्ण भूमिका खेल्नुपर्ने र यसमा राम्रो गर्नसके टोलीमा सुधार आउने उनको विश्वास छ ।

केही समय अगाडि मात्र एन्फा महिला लिगको पहिलो चरणको प्रदर्शनका आधारमा एन्फाले ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो । त्यहीबाट राष्ट्रिय टोली घोषणा गरिएको थियो । यद्यपि, नेपाली टालीको प्रमुख खेलाडी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा)ले भने साफको पहिलो खेल गुमाउने भएकी छन् । फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा आबद्ध सावित्राले रिलिजपत्र नपाएका कारण पहिलो खेल खेल्न नभ्याउने भएकी हुन् । नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले घरेलु लिग सञ्चालन भएकाले दुई हप्ता मात्रै तयारी गरेको र योजनाअनुरूप तयारी गर्ने समय नमिलेको बताए । फिजिकल स्ट्रेन्थ र इन्डुरेन्समा काम गर्न नपाएको उनको भनाइ छ । त्यसमाथि प्रशिक्षणकै समयमा केही स्ट्राइकरहरू विदेशमा रहेकाले टिममा एकसाथ प्रशिक्षण गर्ने अवसर नमिलेको उनले बताए । यसअघि पाँच पटक साफको फाइनल खेले पनि उपाधिमा चुक्नुको मुख्य कारण डिफेन्समा कमजोरी रहेको बुझेका तामाङ अहिले केही सुधार भएको र खेलाडीहरु थप सजक हुनुुपर्ने बताउँछन् ।

नेपालको समूहमा रहेको भूटानले फुटबलमा धेरै लगानी र त्यही अनुसार प्रदर्शन पनि गरिरहेकाले नेपालका लागि सहज प्रतिद्वन्द्वी पक्कै होइन । महिला साफ च्याम्पियनसिपको सफल टोली हो भारत । भारतले पाँचपटक उपाधि उचाल्दा गत संस्करण मात्र बंगलादेशले जितेको थियो । भारतका प्रशिक्षक सन्तोष कश्यपले सहभागी धेरै टोली बलियो रहेकाले प्रतिस्पर्धात्मक खेल हुने आशा व्यक्त गरे । आफ्नो टोलीले २१ दिन मात्रै तयारी गरे पनि रणनीतिक रूपमा राम्रा खेलाडीबीच टोली बलियो बनेको उनको विश्वास छ ।

पाकिस्तान यसपटक आफ्नो टोलीमा केही नयाँ खेलाडीसमेत रहेकाले अघिल्लो वर्षभन्दा खेल सुधारिने अपेक्षामा छ । करिब ४० दिन तयारीमा बिताएको श्रीलंका यसपल्ट सुखद् प्रदर्शनको आशामा छ । भुटानले पनि च्याम्पियनसिपका लागि लामो र प्रभावकारी तयारी गरेकाले आफ्नो टोली उत्साहित रहेको प्रतिक्रिया दिएको छ । माल्दिभ्स भने तयारीका लागि पर्याप्त समय नपाए पनि राम्रो प्रदर्शन गर्ने विश्वासमा छ । च्याम्पियनसिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी सात राष्ट्रले प्रतिष्पर्धा गर्नेछन् । कुल सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा छ । यो समूहमा श्रीलंका माल्दिभ्स र भुटान गरी चार राष्ट्र छन् । अर्को समूह ‘ए’ मा भने बलिया राष्ट्र भारत, पाकिस्तान र साविक विजेता बंगलादेशले प्रतिष्पर्धा गर्ने छन् ।