अन्तर्राष्ट्रिय

मुम्बईका डन ‘लरेन्स बिस्नोई’: फिल्मी शैलीकै अपराध, सलमान लिस्टमा, ठूला नेतामाथि टार्गेट


काठमाडौँ— मुम्बईमा एनसीपी नेता बाबा सिद्दिकीको हत्या भएपछि यतिबेला भारतमा पुनः एकपटक प्रहरी प्रशानमा हलचल मच्चिएको छ । भारतको महाराष्ट्रको राजनीतिमा चर्चित नाम बाबा सिद्दिकीको शनिबार राति गोली हानी हत्या गरिएको थियो । उनको हत्याको जिम्मा गुन्डा नाइके लरेन्स बिस्नोईले लिएका छन् । जेलभित्र रहेर पनि प्रहरी प्रशासनमा हलचल ल्याउने गुन्डा नाइके बिस्नोई को हुन् त ?
छिमेकी मुलुक भारमा शनिबार राति प्रहरी प्रशासनलाई नै चुनौती दिँदै भारत महाराष्ट्रको राजनीतिका चर्चित नाम रहेका बाबा सिद्दिकीको गोली हानी हत्या भयो । सुनसान रातमा सिद्दिकीको हत्या पछि भारतमा मात्रै नभई अन्य देशमा पनि यसले तरंग ल्यायो । सिद्दिकीको हत्या पछि यसको जिम्मा गुन्डा नाइके लरेन्स बिस्नोईले लिएका छन् । सिद्दिकीको हत्या घटनाको जिम्मा लरेन्स बिस्नोई गिरोहले लिएपछि अहिले यो प्रकरण चर्चामा छ । भारतभर दबदबा बनाएर उदय भएको गुन्डा नाइके लरेन्स बिस्नोईले यसअघि पनि चर्चित पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्याको जिम्मा सो ग्याङले लिएको थियो । बाबा सिद्दिकीलाई बलिउड अभिनेता सलमान खानको नजिकको साथी मानिन्थ्यो । र सलमान विगत ६ वर्षदेखि लरेन्स ग्याङको निशानामा रहँदै आउका छन् ।

लरेन्स गिरोहलाई डी कम्पनीसँग तुलना गरिएको छ । राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)ले पनि लरेन्सले दाउद इब्राहिमको ‘डी कम्पनी’ जस्तै बिस्नोई गिरोह स्थापना गरेको स्वीकार गरेको छ । अन्डर वल्र्डको चंगुलबाट मुक्त भएपछि विगत दुई दशकदेखि भारतको आर्थिक राजधानी मुम्बईमा सापेक्षिक शान्ति थियो । प्रहरीको राजनीतिक इच्छाशक्ति र सक्रियताका कारण यहाँ उपस्थित सबै गिरोह सखाप भएका थिए । बाँचेका सबै दुबई लगायत अन्य देशमा गएर बसे । वन्डर वल्र्ड डन दाउद इब्राहिमले दुबईमा बसेर लामो समयसम्म डी कम्पनी सञ्चालन गरे । तर, पछि यसको जरा पनि काटियो । यद्यपि, अहिले बिस्नोई गिरोह मुम्बईमा प्रवेश गरेको छ । अहिले भारतभर लरेन्स बिस्नोई गिरोहको नाम निकै चर्चित छ । ग्याङ्गस्टर लरेन्स बिस्नोई जेलमा बसेर आफ्नो पूरै गिरोह सञ्चालन गरिरहेका छन् । उनका साथी गोल्डी बरार, सम्पत नेहरा, अनमोल बिस्नोई र रोहित गोदारा क्यानडामा बसेर भारतमा आपराधिक गतिविधि गरिरहेका छन् ।


लरेन्स बिस्नोईले एक टेलिभिजन अन्तरवार्तामा भनेका छन्, ‘जब म पहिलो पटक जेल गएँ, म विद्यार्थी थिएँ । पछि जेलभित्रै ‘गुन्डा’ भएँ । मेरो दाजुभाइको हत्या भयो, हामीले त्यसको जवाफ मात्रै दिएका थियौँ । मान्छे कस्तो बन्छ, त्यो उसको वातावरणमा भर पर्छ ।’ ग्याङ्स्टर लरेन्स बिस्नोईले जेलबाट एक निजी टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा यस्तो बताएका थिए । यति मात्रै होइन उनले जीवनको लक्ष्य नै सलमान खानलाई मार्ने रहेको बताएका थिए ।

३३ वर्षीय लरेन्स बिस्नोईमाथि हत्या, चोरी–डकैती र एक व्यक्तिमाथि जानाजानी आक्रमणको आरोपहरू छन् । यी मामिलाहरू पञ्जाब, दिल्ली र राजस्थानमा दर्ता भएका छन् । उनीविरुद्ध पञ्जाब, दिल्ली र राजस्थानमा दर्जनौँ मुद्दा दर्ता छन् । प्रहरीका अनुसार लरेन्सलाई चारवटा मुद्दामा दोषी ठहर गरिएको छ । लरेन्स बिस्नोईविरुद्ध हाल २२ मुद्दा विचाराधीन छन् भने उनीविरुद्ध ७ वटा मुद्दामा अनुसन्धान भइरहेको छ । अन्डर वल्र्ड डनहरुको चंगुलबाट बाहिर निस्कन नपाउँदै बिस्नोई गिरोह समूहले मुम्बई लगायत भारतमा फैलाइरहेको आतंकले भारत सरकार र प्रहरी प्रशासनका लागि टाउको दुखाई बनिरहेको देखिन्छ ।