मनोरञ्जन

‘१२ गाउँ’को तहल्का, ८ करोडको व्यापार, दीपक–दीपालाई धक्का, निश्चलले मैदान छोडे, जितुलाई अझै आश


काठमाडौँ— लामो समयपछि नेपाली चलचित्रले सिनेमा हलमा तहल्का पिट्दा चलचित्रकर्मीहरु उत्साही बनेका छन् भने सम्बन्धित चलचित्रका निर्माता तथा कलाकारहरु हौसिएका छन् । दसैंको छेको पारेर प्रदर्शनमा आएका ठूला ब्यानरका तीन चलचित्र हेर्न अहिले दर्शकको ओइरो लागेको छ । योसँगै ती चलचित्रको व्यापारमा बहार आएको छ भने कसले कति कमाई गर्ने भन्ने प्रतिस्पर्धा पनि देखिएको छ ।
बडादसैंको अवसर पारेर प्रदर्शनमा आएका नेपाली चलचित्रहरुको व्यापारमा बहार छाएको छ । यसबाट दसैं नेपाली चलचित्रका लागि पनि उत्सवमय बन्दा नेपाली चलचित्रकर्मीहरु समेत उत्साही बनेका छन् । असोज २४ गते फूलपातीका दिनदेखि दीपक–दीपाको ‘छक्का पञ्जा–५’ । विराज भट्टको ‘१२ गाउँ’ र जितु नेपाल र नीति शाह अभिनित ‘ज्वाइँ साब’ प्रदर्शनरत छन् । यस्तै, घटस्थापनामा रिलिज भएको निश्चल बस्नेत–स्वस्तिमा खड्काको बेहुली ‘फ्रम मेघौली’ पनि सिनेमा हलमा चलिरहेको छ । दसैंको लामो बिदामा चलचित्र हेर्न सिनेमा हलमा दर्शकको घुइँचो बढ्दा नेपाली चलचित्रको व्यापार पनि फष्टाएको छ । नेपाली चलचित्र क्षेत्रमा एक्सन स्टारको रुपमा स्थापित अभिनेता विराज भट्टले चलचित्र ‘१२ गाउँ’बाट हिट कमब्याक गरेका छन् । लामो समय नेपाली सिनेक्षेत्रबाट टाढिएर भोजपुरी चलचित्रमा चम्किरहेका विराजले निर्देशन गरेको पहिलो चलचित्र १२ गाउँ बक्स अफिसमा हिट लिस्टमा परिसकेको छ । चलचित्र मात्र हिट भएन कि ‘१२ गाउँ’बाट नेपाली चलचित्रमा डेब्यू गरेका विराजका छोरा समीर भट्टको जबरजस्त उदय भएको छ । पहिलो चलचित्रबाटै उनले दर्शकको मन जित्न सफल भए । विराजसँगै समीर यस चलचित्रको आकर्षण बनेका छन् ।

दक्षिण भारतीय चलचित्रको नक्कल गरेको आलोचनाकाबीच विराजको ‘१२ गाउँ’ ले प्रर्दशनको छैटौँ दिनसम्म आइपुग्दा काठमाडौं उपत्यकासँगै मोफसलमा हाउसफुल व्यापार गरिरहेको छ । दीपकराज गिरी र दीपा श्री निरौलाको छक्का पञ्जा ५ लाई पछाडि पार्दै १२ गाउँले सोज संख्या पनि बढी पाएको देखिएको छ । व्यवसायिक हिसाबले ब्राण्ड बनिसकेको सिक्वल चलचित्र छक्का पञ्जा ५ सुरुवाती दिनमा धेरै सोज पाएको थियो ।

अहिले सोज संख्यामा १२ गाउँले छक्का पञ्जा ५ लाई उछिन्दा र जितु नेपाल अभिनित ज्वाइँ साबले पनि सोज संख्या बढाएको छ । यद्यपि, यो चलचित्र सोज संख्याको आधारमा अझै तेस्रो स्थानमा छ । विराजको १२ गाउँले अधिकांश हलहरुमा ५ देखि ६ वटा सोज हाउसफुल व्यापार गरिरहेको छ भने छक्का पञ्जा ५ को चारदेखि पाँच सोजमा हाउसफुल नै व्यापार गरिरहेको छ । प्रर्दशनको छैटौँ दिनसम्म आइपुग्दा जितु नेपालको ज्वाइँ साबले दुईदेखि तीन सोज धानिरहेको छ । घटस्थापनादेखि नै प्रदर्शनमा रहेको चलचित्र बेहुली फ्रम मेघौलीले अझै केही सोज धानिरहेको छ । दसैंको मौका छोपेर प्रर्दशनमा आएका छक्का पञ्जा ५, १२ गाउँ र ज्वाइँ साबका लागि दसैं उत्सवमय बन्न सफल भएको छ । भारतीय चलचित्रको बर्चश्व भत्काएर एकसाथ तीन ठूला ब्यानरका चलचित्र प्रर्दशन र प्रतिस्पर्धा गर्ने आँटमा दर्शकको राम्रो साथ मिल्दा नेपाली चलचित्र हेर्न नेपाली दर्शक हलमा जाँदैन्न भन्ने भाष्यलाई गलत सावित गरिदिएको छ । राम्रो चलचित्र बनाए नेपाली चलचित्रमा दर्शकको आकर्षण उच्च छ भन्ने पुष्टि गरिदिएको छ । पहिलो दिनमा नै बम्पर व्यापार गरेको छक्का पञ्जा ५ र १२ गाउँले करोडौंको व्यापार गरिसकेका छन् । छक्का पञ्जा ५ को कमाई मंगलबारसम्म नेपाल भित्र मात्रै १० करोड पुग्ने अनुमान छ । १२ गाउँले पनि आक्रामक व्यापार गरेकाले सोमबारसम्म ६ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको र एकैपटक एक साताको रिपोर्ट सार्वजनिक गर्ने निर्माण टिमको भनाइ छ । १२ गाउँको सोज थप हुँदा छक्का पञ्जा ५ लाई पछाडि पार्ने विश्लेषणसमेत भइरहेको छ ।

दसैं बिदाका कारण पनि सिनेमा हलमा खचाखच दर्शकको ओइरो लाग्दा पहिलो सातामै यी दुवै चलचित्रको व्यापार १० करोड नाघ्ने अनुमान छ । नेपाली चलचित्रको यो आक्रामक व्यापार आफैँमा ऐतिहासिक भएको चलचित्रकर्मीहरुको विश्लेषण छ । यसबाट चलचित्रकर्मीहरु हौसिएका छन् ।

एकैपटक ठूला ब्यानरका चलचित्रहरुबीच भएको महाभिडन्तले कतै एउटा चलचित्रको दबदबामा अर्को पर्ने त होइन ? भन्ने आशंकाका बीच सबै चलचित्रले हासफुल दर्शक पाउनु नेपाली चलचित्र उद्योगका लागि सुखद पक्ष हो । अधिकांश समय नेपाली सिनेमा हलमा आफ्नो दबदबा कायम गर्दै आएको बलिउड चलचित्रलाई समेत यो दसैंमा भने नेपाली चलचित्रले पछाडि पारिदिए । यो पनि नेपाली चलचित्रकर्मीका लागि खुसीको विषय बनेको छ । तर स्वदेशी चलचित्रको क्रेज हलमा बढ्दै गर्दा वितरक तथा प्रदर्शकले भने विदेशी चलचित्रमोह त्याग्न सकेका छैनन् । उनीहरुले यो साता भारतीय चलचित्र जिग्रा भित्र्याइ छाडे । जसको मारमा घटस्थापनादेखि प्रदर्शनमा आएको नेपाली चलचित्र बेहुली फ्रम मेघौली पर्दा सो चलचित्रका निर्माता÷निर्देशक निश्चल बस्नेतले त आक्रोश नै पोख्न भ्याए ।