कर्णाली

जुम्लाका अर्गानिक स्याउ खोसाखोस, ज्ञानेन्द्र शाहीको अभियान, मनिषाको सपोर्ट, राज्य झस्कियोस्


काठमाडौँ— कुनै समय स्याउ नबिकेर हैरान जुम्लासहित कर्णालीका स्याउ उत्पादक किसान अहिले बजार पाएपछि हर्षित देखिन्छन् । ढुवानी लगायत विभिन्न समस्या अझै कायम रहे पनि नेपाली उत्पादनप्रति सर्वसाधारणको उत्साह र विदेशी स्याउ प्रतिस्थापन हुनेगरी नै पछिल्लो एक महिनामा भएको व्यापारले उनीहरुमा हर्ष थपेको हो ।

कर्णालीबाट काठमाडौं पुग्दा पनि बजार नपाएर पशुपतिका बाँदरलाई खुवाउनु पर्ने जुुम्ली स्याउको कथा अहिले फेरिएको छ । पहिले बजार नपाएर बाँदरको हातहातमा हुने स्याउ अहिले माग धान्न नसक्ने अवस्था बन्दा मानिसहरुबीच नै खोसाखोस छ । जुम्लासहित कर्णाली जिल्ला र मुस्ताङका स्याउले अहिले देशका ठूला बजार ढाकेको छ । यस पटकको दशैँमा अधिकांशका लागि कर्णालीकै स्याउ कोसेली बन्यो । एक महिना अघिसम्म मात्रै पनि जुम्लाबाट लाखौँमा ढुवानी खर्च गरेर स्याउ बेच्न काठमाडौं आएका किसानको स्याउ आलुको भाउमासमेत बिकेको थिएन । तर, दशैँको बीचमा माग र खपत ह्वात्तै बढ्यो । जसले गर्दा कर्णालीका स्याउले नसोचेको बजार पाउने अवस्था बन्यो । दुई महिना अघिसम्म सहरमा जुम्लाको स्याउ किन्न माइकिङ गर्दै हिँड्ने किसानहरु अहिले स्याउ बिक्री भएकोमा थप व्यवसायीक बन्दै देशमै केही गर्ने सपना देख्न थालेका छन् ।

त्यसो त कर्णाली र मुस्ताङको अहिलेकै उत्पादनले मात्र वर्षभरीको माग धान्न सक्दैन । तर केही महिनाका लागि भने चिनियाँ र भारतीय स्याउलाई स्वदेशी उत्पादनले विस्थापित नै गरिदिने अवस्था बनेको छ । अझ नेपालगञ्ज, बुटवलजस्ता भारतसँगको सीमावर्ती बजारमा भारतीय र चिनियाँ स्याउको राज हुने गथ्र्यो । तर, अहिले भारतीय पनि नेपाली स्याउको स्वादको पारखी बन्न पुगेका छन् । एक वर्ष अघिसम्म स्याउ कुहाएर पुुर्पुरोमा हात लगानुपर्ने किसानलाई अहिले माग धान्न भ्याइ नभ्याइ छ । २०६४ सालमै जुम्ला अर्गानिक र विषाधिरहित जिल्ला घोषणा भएकाले जुम्लाको स्याउ अर्गानिक, मिठो र मूल्य पनि शुलभ हुँदा सर्वसाधारणको आकर्षण बढेको देखिन्छ । यसबाहेक अहिले जुम्लामा फुजी स्याउ उत्पादन धरै हुने गरेको र किसानहरु पनि व्यवसायीक बन्दै गएको देखिन्छ । अर्कोतर्फ काँचो स्याउ नै बजारमा पठाउँदा जुम्ली स्याउको पहिचान गुम्ने जोखिम बढेपछि स्थानीय सरकारहरुले समेत बोट मै स्याउ नपाकुन्जेल टिप्न र बिक्री गर्न प्रतिबन्ध लगाएपछि यसवर्ष ब्रान्डिङमा सहयोग पुुगेको देखिन्छ ।
जुम्ली स्याउको खपत एवं प्रचारमा प्रशंसाको अर्का पात्र हुन् जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्रबहादुर शाही । जसले आफ्ना जिल्लाबासीको पीडा सरकारदेखि संसदसम्म उठाउँदै जुम्ली स्याउ र स्थानीय उत्पादनको प्रर्वद्धन, बजारीकरण र प्रचारप्रसारमा भरपूर प्रयास गरेका छन् । अहिले पनि स्याउको ब्रान्डिङमा किसानहरुसँगै उनी देखिन्छन् ।

अहिले जुम्लासहित कर्णालीको स्याउ लुुम्बिनी प्रदेशसम्मका बजारमा ९० देखि १२० र काठमाडौंसहित पूर्वी नेपालका बजारमा १५० देखि २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । जुम्लाबाट मात्रै चालु आर्थिक वर्षको साढे दुई महिनामा पाँच हजार आठ सय ६२ मेट्रिकटन स्याउ बजारमा पुुगेको छ । यसबाट जिल्लाका किसानले ५० करोड रुपैयाँ बढी आम्दानी गरेका छन् । जुम्लामात्र नभई अहिले मुस्ताङका किसान र व्यापारीहरुलाई पनि स्याउ टिपेर बजार पठाउने चटारो छ । यसवर्ष मुस्ताङको स्याउको उत्पादनसँगै गुणस्तर पनि बढेको छ । गत वर्ष करिब ५० करोड बराबरको स्याउ बिक्री भएकोमा यसवर्ष यो परिमाण २५ देखि ३० प्रतिशतले बढ्ने अनुमान छ । अहिले स्वदेशी स्याउ किन्ने र किन्न प्रोत्साहत गर्नेहरु बढेका छन् ।

नेपालमा प्रतिवर्ष करिब ९ अर्ब रुपैयाँ बराबरको स्याउ खपत हुुने गरेको छ । भन्सार विभागको तथ्यांक हेर्दा गत आर्थिक वर्षमा मात्रै बिभिन्न देशबाट ८ अर्ब ४४ करोड ८९ लाख बढीको स्याउ आयात भएको छ । यसमा करिब ९० प्रतिशत हिस्सा चीनको मात्रै छ । अर्थात एक वर्षमा चीनबाट सबैभन्दा बढी सात अर्ब ११ करोड बराबरको स्याउ आयात हुने गरेको छ । यसबाहेक भारतबाट ८५ करोडसहित न्युजिल्याण्ड, टर्की, थाइल्याण्ड, अमेरिकाबाट समेत नेपालमा स्याउ आएको देखिन्छ । यो वर्षको दशैँअघि साउन र भदौमा मात्रै एक अर्ब ३८ करोड ३७ लाख बराबरको स्याउ आयात भएको छ । यसमध्ये १ अर्ब ५२ करोड रुपैयाँ त चीन गएको देखिन्छ ।
विदेशी स्याउले नेपाली अर्बौँको बजार धान्दा कर्णालीका किसानलाई अहिले पनि ढुवानीको समस्या छ । सरकारको सहयोगको खाँचो छ । अनुदान र प्रोत्साहनको खाँचो छ । स्याउ एकमात्रै सिजनमा फल्छ । तर, भारत र चीनले स्टोर गरेर बाह्रै महिना बेच्ने गरेका छन् । तर, कर्णालीका किसान अहिले पनि भक्तपुरका खुला सटरबाट जोखिम उठाएरै स्याउ बेच्दै आएका छन् । स्वदेशी उत्पादनप्रति सर्वसाधारणको रुची बढेका बेला देशव्यापी बजारीकरण गरि सबैभन्दा पहिला आत्मनिर्भर बन्ने र नेपालमा स्याउ पठाउने देशहरुलाई पनि निर्यात गरेर नेपाली स्याउको स्वादमा भुलाउने योजनातर्फ उन्मुख हुने कि ? यसतर्फ तीनै तहका सरकारको ध्यान जान आवश्यक छ ।