अन्तर्राष्ट्रिय

सलमान खान खतरामा, बढाइयो सुरक्षा, बाबा सिद्दिकी हत्यासँग कसरी जोडिए ?


काठमाडौँ— भारतको महाराष्ट्र राज्यका पूर्वमन्त्री तथा एनसीपीमा नेता बाबा सिद्दिकीको मुम्बईको बान्द्रा इष्टमा खुलेआम गोली हानी हत्या गरिएको छ । यो घटनापछि महाराष्ट्र र बलिउड फिल्म सिटी मुम्बईको राजनीतिमा हलचल मच्चिएको छ ।
भारतको मुम्बईमा पूर्वमन्त्री समेत रहेका एनसीपीका नेता बाबा सिद्दिकीको शनिबार राति गोली हानी हत्या भयो । मुम्बईको बान्द्रा पूर्वमा नेता सिद्दिकीमाथि गोली प्रहार भएको थियो । छातीमा गोली लागेर गम्भीर घाइते भएका उनलाई लगत्तै लिलावती अस्पतालमा भर्ना गरिएको थियो । छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा आक्रमण भएको र घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । एक जना फरार रहेको भारतीय प्रहरी अधिकारीको भनाइ छ ।

यस्तै अन्य केही व्यक्तिसमेत पक्राउ परेका छन् । गोली लागेर ज्यान गुमाएका सिद्दिकी महाराष्ट्रका पूर्वमन्त्रीसमेत हुन् । यसै वर्ष गएको फेब्रुअरीमा उनी कांग्रेस छोडेर एनसीपी अजित पवार गुटमा सामेल भएका थिए । सिद्दिकी विगत ४८ वर्षदेखि कांग्रेसमा थिए । यो घटनापछि महाराष्ट्र र बलिउड फिल्म सिटी मुम्बईको राजनीतिमा हलचल मच्चिएको छ । बाबा सिद्दीकीको बलिउड फिल्मका कलाकारहरूसँग गहिरो सम्बन्ध थियो । उनको निधनमा धेरै बलिउड कलाकारहरुले दुःख व्यक्त गरेका छन् । अभिनेता सलमान खान ‘बिग बोस सिजन १८’ को सुटिङमा व्यस्त थिए । यो खबर पाएलगत्तै उनले सुटिङ बीचमै रोकेर सिद्दिकी परिवारलाई भेट्न लीलावती अस्पताल पुगेका थिए ।


अभिनेता सञ्जय दत्त र शिल्पा शेट्टी पनि परिवारलाई भेट्न अस्पताल पुगेका थिए । सलमान खान र बाबाको मित्रता निकै घनिष्ट रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । २०२० र २०२१ मा कोरोना लकडाउनका बेला पनि बाबाका छोरा जिशान सिद्दीकीसँग सलमानको टोलीले समस्यामा परेका मानिसहरूलाई सहयोग गर्ने व्यवस्था गरेको थियो । खराब समयमा पनि बाबाले सलमानलाई साथ दिएका थिए । हरिण प्रकरणमा सलमान समस्यामा पर्दा बाबा सिद्दिकी उनको साथमा थिए । उनी बान्द्रा पश्चिमबाट १५ वर्षसम्म विधायक थिए । यस क्षेत्रमा धेरै बलिउड सेलिब्रेटीहरू बस्छन् । हरेक वर्ष रमजानको महिनामा बाबा सिद्दिकीको इफ्तार पार्टीको चर्चा हुने गरेको छ । उनको इफ्तार पार्टीमा राजनीतिज्ञ बाहेक शाहरुख खान, आमिर खान, सलमान खानदेखि सञ्जय दत्तसम्मका बलिउड सेलिब्रेटीहरु उपस्थित हुने गरेका छन् । शाहरुख खान र सलमान खानको बीचमा वर्षौंसम्म चलिरहेको दरारलाई अन्त्य गर्न बाबा सिद्दिकीले महत्वपूर्ण भूमिका खेलेको मानिन्छ । सिद्दीकी परिवारसँग सञ्जय दत्त र प्रिया दत्तको पनि निकट सम्बन्ध रहेको छ ।


प्रहरीले हत्या आरोपितको साथबाट दुई पेस्तोल र २१ राउन्ड गोली बरामद गरेको जनाएको छ । घटनामा संलग्न रहेका भनिएका आरोपितमाथि प्रहरीले गम्भीर रुपमा अनुसन्धान गरिरहेको छ । प्रहरीको अपराध शाखाको १५ टिमले यस घटनाको जाँच गरिरहेको जनाइएको छ । साथै अन्य प्रदेशको प्रहरीको समेत सहयोग लिइएको छ । हत्याको घटना हुनुका पछाडि के उद्देश्य थियो भन्ने अहिले नै खुलिसकेको छैन । यो राजनीतिक प्रतिशोध थियो वा व्यक्तिगत ? भन्ने स्पष्ट हुन बाँकी नै छ । साथै भारतको सुरक्षा प्रबन्धमाथि समेत यो घटनाले फेरि एकपटक प्रश्न खडा गरिदिएको छ ।