राजनीति

ओलीले माधवको पार्टी फटाउने, झलनाथ र झाँक्रीले नै खुट्टा उचाले, पार्टी दर्ता गर्न अध्यादेश कुर्दै


काठमाडौँ— माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी फुट्ने चर्चाले फेरि एक पटक राजनीतिक वृत्त गर्माएको छ । नयाँ पार्टी घोषणा गर्न बहुमत सांसद र केन्द्रीय सदस्यहरुको सूची नै तयार भइसकेको र दशैं लगत्तै पार्टी फुट्ने चर्चा चुलिएको छ । नेकपा एसका नेताहरुले यो चर्चालाई अहिलेको अवस्थामा अस्वीकार गरे पनि दशैं लगत्तै पार्टी फुट्ने सम्भावना रहेको दाबी गरिएको छ । माधवको पार्टी फुटको रहस्य के हो त ?

गत असारमा सम्पन्न पार्टीको १० औँ महाधिवेशनपछि थप संकटमा धकेलिएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी फुटको संघारमा पुगेको चर्चाले राजनीतिक वृत्त गर्माएको छ । आन्तरिक बिबाद र असन्तुष्टिले पार्टी बिभाजनको डिलमा पुगेपछि नेकपा एकीकृत समाजवादीभित्र तरंग पैदा भएको छ । चर्चित नेतृ रामकुमार झाँक्रीसहितका नेताहरुले पार्टी फुटाउन लागेको हल्लाले अध्यक्ष माधवकुमार नेपाल बेचैन बनेका छन् । महिला उपाध्यक्ष पदमा हारेपछि रुवाबासी नै गरेकी रामकुमारी झाँक्रीसहित एक दर्जन बढी नेता बहुमत सांसदको साथ लिएर पार्टी विभाजनको तयारीमा लागेको बुझिएको छ । यद्यपि, यो राजनीतिक हल्ला मात्र भएको भन्दै नेकपा एसका नेताहरु नै स्वीकार गर्न तयार छैनन् । पार्टीभित्र आन्तरिक असन्तुष्टि छ तर पार्टी नै विभाजन हुने विषय उनीहरु सुन्नसमेत तयार छैनन् । पार्टीभित्रको अन्तरविरोध आन्तरिक भएको र यसलाई हल गर्दै अघि बढ्ने जिकिर उनीहरुको छ ।

तर असन्तुष्ट समूहले पदाधिकारी र पोलिटब्युरो निर्वाचन खारेज हुनुपर्ने अडानसहित केन्द्रीय नेतृत्वलाई धम्काई रहेका छन् । नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै महाधिवेशनमा धाँधली भएको र आफ्नो गुटलाई जिताएको भन्दै असन्तुष्ट पक्ष कम्मर कसेर पार्टी फुटाउन लागेको छ । महिला उपाध्यक्ष पदमा चुनाव हारेपछि रुवाबासीमै उत्रिएकी रामकुमारी झाँक्रीसहित प्रेम आले, किसान श्रेष्ठ, अम्बरबहादुर गुरुङ, धनबहादुर बुढा लगायत मिलेर पार्टी फुटाउन लागेको चर्चा छ । दैलेखबाट निर्वाचित सांसद अम्बरबहादुर थापाको नेतृत्वमा रामकुमारी झाँक्रीलाई महासचिव बनाउँदै नेकपा एसका बहुमत सांसद, केन्द्रीय सदस्यहरुलाई समेट्दै नयाँ पार्टी गठनको तयारी भइरहेको छ । जसअनुसार नयाँ पार्टीको नेता र केन्द्रीय सदस्यहरुको सूची नै तयार भइसकेको चर्चा छ । जीवनराम श्रेष्ठ, हरि पराजुली पनि यो सूचीमा अटाएका छन् । उनीहरुको सूचीमा भानुभक्त जोशी र प्रकाश ज्वालासमेतको साथ रहेको बुझिएको छ । नेतृत्वमा मोटामोटी सहमति नै भइसकेको र प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर सघाउने भएपछि यो विषयले राष्ट्रिय राजनीति तरंगित बनेको हो । प्रधानमन्त्री ओलीसँग हारगुहार नै गरेपछि सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै सहमतिमा दशैं लगत्तै दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन सरकारले तयारी गरिरहेको बुझिएको छ ।

नेतृत्वमा नेताहरुबीच सहमति नजुट्दा भदौमा निर्वाचन गरेर पदाधिकारीलाई पूर्णता दिएपछि एकीकृत समाजवादी थप धरापपूर्ण बनेको छ । सर्वसम्मत नेतृत्व चयनको सन्देश प्रवाह गर्दै महाधिवेशन सकाएको एकीकृत समाजवादीको महाधिवेशनले सहमतिको म्यान्डेट दिएर पठाए पनि पदाधिकारी चयन गर्न भएको चुनावमा अध्यक्ष नेपालसहित शीर्ष नेताहरु नै खुलेआम गुटगत राजनीतिमा लाग्दा पार्टीभित्र विस्फोटको स्थिति उत्पन्न भएको विश्लेषण छ । नेतृत्व नै राम्रालाई नभई हाम्रालाई काखी च्याप्न लाग्नु, आफ्नो गुटका नेतालाई जिताउन खुलेआम लाग्नुले पनि पार्टीमा असन्तुष्टि चुलिँदै गएको हो । एमालेमा विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधव नेपालले अझै पनि पार्टी विभाजनको औचित्य पुष्टि गर्न सकेका छैनन् । एमालेबाट अलग हुनुको औचित्य पुष्टि हुन नपाउँदै अहिले एकीकृत समाजवादीको अस्तित्व संकटमा परेको छ । साथै नेताहरुमा देखिएको पद लोलुप्ताले पनि पार्टी विग्रहको दिशा उन्मुख हुन पुगेकाले दलको अस्थित्व नै संकटमा पर्ने त होइन ? भय बढेको छ । यसबीचमा पार्टी जोगाउन असन्तुष्ट समूह फकाउनेदेखि व्यक्तिगत रुपमा माधव छाडेरे एमालेमा जाने लहर कायम छ । असन्तुष्टिले पार्टीनै फुटको संघारमा पुगेपछि नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । यद्यपि, त्यसले बढ्दो विवाद न्यूनीकरणको सार्थकता पाउनेमा शंका छ ।।