देश

मासुको जोहो, खसीबजारमा बढ्यो भिड, व्यापारीको आफ्नै भाउ, मूल्य तोकेको कामै लागेन


काठमाडौँ— नेपालीहरुको महान चाड बडादशैंमा सबैभन्दा बढी मासुको खपत हुने गर्छ । दशैंको विविध विशेषता भए पनि मासुको परिकारले दशैं मान्नुको खास महत्व राख्ने भएकाले खसीबजारमा खसीबोका किन्नेहरुको भिड नै लाग्ने गर्छ । खसी बजारमा हुने नियमित भिडभन्दा दशैंको सप्तमीको दिन भने ग्राहकको अचाक्ली भिड बढेको देखियो ।

दशैंमा मासुको परिकार खानुले चाडबाड मनाउनुको बेक्लै महत्व राख्ने भएकाले खसीबोकाको खपत ह्वात्तै बढ्ने गर्छ । जातीय समुदायअनुसार कसैले सुंगुर–बंगुर, कुखुरा–हाँस तथा राँगाको मासु खाने गरे पनि दशैंमा खसीबोका तथा भेडाच्याङ्ग्राको मासुको माग बढी हुने गर्छ । धनी होस् वा गरिब, दशैंमा सबै वर्गका मानिसको घरमा मासुको परिकार पाकेकै हुन्छ । चाडबाड मनाउन ऋण काँडेरै भएपनि मांसहारीहरुले मासुको व्यवस्था गरेकै हुन्छन् । दशैंको आठौं दिन अर्थात् महाअष्टमीमा खसीबोका जस्ता बलि चढ्ने पशुको काटमार हुने हुँदा यही समयमा मासुको खपत पनि धेरै नै हुने गरेको छ । त्यसैले महाअष्टमीलाई लक्षित गर्दै कलङ्कीस्थित खसीबजारमा खसीबोका खरिद बिक्री गर्नेहरुको ठूलै भिड लाग्ने गरेको छ । ‘रातो रङ्गको खसीबोका कित्रे राजा, कालो कित्रे काजी र सेतो पाजी’ गाउँ घरको उखान भन्दै सडक पेटीभरी नै खसीबोको कित्रे र बेच्नेको हुल देखिन्थ्यो ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिउँदो खसीबोकाको निश्चित रकम तोकेको छ । बजारमा मूल्य स्थिर बनाउने हेतुले जिउँदो खसीबोकाको प्रतिकिलो ६ सय ६० रुपैयाँ तोकिए पनि बजारमा भने त्यसको खास्सै असर परेको देखिएन । खुला बजारमा मान्छे अनुसार खसीबोकाको मोलमोलाई हुने गरेको छ । च्यांग्रासहित जम्मा १७ सय वटाखसीबोका आपूर्ति गरेको व्यापार कम्पनीले बजारको माग धान्न सकेको देखिँदैन । खाद्यले ल्याएका खसीबोकाले माग धान्न नसक्दा निजी व्यापारीहरुले ल्याएका खसीबोकाको मूल्य केही महँगो रहेको छ । हामीले रिपोटिङका क्रममा प्रतिकेजी ६ सय ५० देखि ७ सय रुपैयाँसम्ममा जिँउदो खसीबोकाको किनबेच भएको पायौँ ।

हरेक सामानमा मूल्यवृद्धिको चपेटा भोगिरहेका उपभोक्ताले खसीबोकामा पनि चर्काे मूल्य तिर्नु परेको गुनासो छ । परम्परादेखि नै चलिआएको मान्यताकै कारण महँगो भए पनि खसीबोका खरिद गर्नै पर्ने बाध्यता रहेको उनीहरू बताउँछन् ।
चाडबाडमा हुने महँगी नियन्त्रणका लागि खाद्यले विभिन्न जिल्लाबाट खसीबोका काठमाडौं ल्याउने गरे पनि बजारको मागअनुसार आपुर्ति गर्न सकेको छैन । यो अवस्था विगतमा पनि थियो भने यसपटक पनि उस्तै देखिएको छ । अझ विगतमा भन्दा खसीबोकाको आपूर्ति खाद्यले घटाउँदै लगेको देखिन्छ । जसका कारण खाद्यले तोकेको भन्दा बढी मूल्यमा खासीबोका किन्न सर्वसाधारण बाध्य भएका छन् ।

खसीबोकासँगै कतिपयको रोजाइमा भने च्यांग्रा पर्ने गरेको छ । खसीबोकाको भन्दा च्यांग्राको मासु निकै स्वादिष्ट हुने र हिमाली जिल्लाबाट ल्याइएको हुँदा झण्डै दोब्बर नै मूल्य पर्ने गरेको छ । च्यांग्राको मासुले स्वास्थ्यलाई पनि राम्रो गर्ने हुँदा आफूहरू च्यांग्रातिर आकर्षित भएको च्यांग्रा पारखीहरू बताउँछन् ।

त्यसो त दशैं मनाउन मासुको परिकार नै खानु पर्छ भन्ने कुनै शास्त्रीय र धार्मिक मान्यता छैन । शाकाहारीहरुले पशु बलिलाई बहिस्कार गरौँ भन्दै आवाज उठाउने गरेका छन् । तर नेपालीको राष्ट्रिय र महान चाडको रुपमा मनाइने दशैंमा मांसहारीका लागि मासुको परिकारले विशेष महत्व राख्ने भएकाले दशैंमा मासु अनिवार्य जस्तै भएको छ । मिठो खाने, राम्रो लगाउने चाड भएकाले पनि मासुको परिकार दशैं मान्नेहरुका लागि परम्परा बन्दै गएको छ । केही दशक अघि र अहिलेको अवस्था परिवर्तन भइसकेको अवस्थामा मासु खानलाई चाडबाड नै कुर्नु पर्छ भन्ने होइन । यद्यपि, परिवारका सबै सदस्य भेला भएर रमाइलो गरी मनाइने दशैंलाई उत्सवमय बनाउन पनि मासुको खपत बढी हुने गरेको छ । तर स्वास्थ्यका लागि भने खसीबोकाको रातो मासु उति हितकर मानिँदैन । त्यसैले रातो मासुको परिकार कम खान चिकित्सकको सुझाव छ । मासुको परिकारसँगै सन्तुलित भोजनमा ध्यान दिँदै स्वस्थ स्वास्थ्यका साथ दशैं मनाउन विज्ञको आग्रह छ ।।