अन्तर्राष्ट्रिय

बाइडेन पछि हट्दा ट्रम्पलाई सास्ती, मत सर्वेक्षणमा ह्यारिस अगाडि, दोस्रो टेलिभिजन डिबेटमा किन डराए ?


काठमाडौँ— आगामी नोभेम्बरमा हुने विश्व शक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति चुनावको मिति निजिकिँदै गएको छ । यस चुनावका लागि यसअघि टेलिभिजन डिबेडमा पछि परेका राष्ट्रपतिको उम्मेदवार डोनाल्ड ट्रम्पले अर्की प्रत्यासी कमला ह्यारीससंग फेरि टेलिभिजन डिबेड नगर्ने भएका छन् ।


अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ । यसक्रममा रिपब्लिकन पार्टीबाट उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिकको तर्फबाट कमला ह्यारिस चुनावी मैदानमा छन् । यी दुई जनामध्ये एकले आगामी चुनाव पछि अमेरिकाको शक्ति सम्हाल्ने छन् । चुनाव आउन केही दिन बाँकी रहँदा ह्यारिस र ट्रम्पबीच चुनावी सभामा आरोपप्रत्यारोपको श्रृंखला चलिनै रहेको छ । चुनावी मैदानमा होमिएका ट्रम्प र ह्यारिसबीच यसअघि एक टेलिभिजन डिबेटसमेत भएको थियो । अमेरिकामा चुनाव हुन केही महिना बाँकी रहँदा टेलिभिजन डिबेट हुने चलन छ । पहिलो प्रत्यक्ष बहसमा आक्रामक कमलाविरुद्ध रक्षात्मक ढंगले प्रस्तुत भएका ट्रम्पले दोस्रो बहस अस्वीकार गरेका छन् । डोनाल्ड ट्रम्पले नोभेम्बर ५ मा हुने निर्वाचनअघि कमला ह्यारिससँग ‘पुनः कुनै खेल नहुने’ स्पष्ट पारेका छन् । पूर्वराष्ट्रपतिसमेत रहेका ट्रम्पले बहालवाला उपराष्ट्रपति ह्यारिस र प्रजातान्त्रिक चुनौतीसँग सम्भावित दोस्रो बहसमा भाग लिन फक्स न्यूजले गरेको निमन्त्रणालाई अस्वीकार गर्दै अब कुनै बहस नहुने स्पष्ट पारेका हुन् ।

पहिलो प्रत्यक्ष टेलिभिजन बहस ‘प्रेसिडेन्सियल डिबेट’ पछि निर्वाचनको सरगर्मी बढ्दो छ । गत सेप्टेम्बर १० मा भएको पहिलो प्रत्यक्ष बहसमा ट्रम्पविरुद्ध कमला हाबी भएकी थिइन् । चुनावी एजेन्डा होस् या प्रस्तुति, कमला जति आक्रामक थिइन्, ट्रम्प उति नै रक्षात्मक ढंगले प्रस्तुत भएका थिए । बहसपछि ९१ प्रतिशत डेमोक्रेटले कमलाले जित्ने दाबी गर्दा ट्रम्पलाई ५३ प्रतिशतको समर्थन रह्यो । प्रत्यक्ष बहसपछि १४ प्रतिशत ट्रम्प समर्थकले नै कमलाले राम्रो गरेको बताउँदा ३१ प्रतिशतले कसैले नजितेको दाबी गरेका थिए । रिपब्लिकन उम्मेदवार ट्रम्पभन्दा डेमोक्रेटिक उम्मेदवार कमलाले राम्रो प्रस्तुति दिएको मतदाताको विश्लेषण छ । प्रेसिडेन्सियल डिबेटपछिका अधिकांश मत सर्वेक्षणहरुमा कमलाले आफ्नो प्रतिशत बढाएकी छन् भने ट्रम्पको मत खासै बढेको छैन । फेरि पनि डिबेटमा ट्रम्प पछि पर्ने हो भने ह्यारिसको अगाडि ट्रम्पले घुँडा टेक्नुपर्ने अवस्था आउँछ कि भन्ने विष्लेषणसमेत हुन थालेको छ । हुन त यतिबेला चुनावी मैदानमा कमला ह्यारिस हाबी देखिन्छिन् ।

सुरुवाती चरणमा ट्रम्प अघि थिए । तर जुलाईमा राष्ट्रपति जो बाइडेनले आफ्नो चुनावी अभियान समाप्त गर्दै उपराष्ट्रपति ह्यारिसलाई समर्थन गरेपछि एकाएक ट्रम्पको भाग्यमा ग्रहण लाग्यो । अहिले चुनावी पोलमा ट्रम्पभन्दा ह्यारिसलाई अग्रता मिल्दै गएको छ । यद्यपि, मत सर्वेक्षणका तथ्यांक वास्तविक चुनावीसँग मेल नखान सक्छ । तर पनि राष्ट्रपतिका प्रतिस्पर्धी उम्मेदवारको लोकप्रियता जाँचका लागि यसलाई महत्वपूर्ण आधार मान्ने गरिन्छ । मत सर्वेक्षणहरुले राष्ट्रपतिका जो कोही उम्मेदवारलाई अगाडि वा पछाडि देखाए पनि वास्तविक जित–हारको परीक्षा मतदानबाटै टुंगो लाग्ने भएकाले नोभेम्बर ५ मा हुने चुनावले सही नतिजा दिने नै छ । नोभेम्बरमा हुने चुनावबाट अमेरिकाले पहिलो महिला राष्ट्रपति प्राप्त गर्ने छ वा ट्रम्पलाई फेरि एकपटक सत्ता शक्तिमा ल्याउने छ ? यसको छिनोफानो अमेरिकी जनताकै हातमा छ ।