समाचार

दसैंमा देवीको पूजा, यस्तो छ दसैंको महिमा, नवरात्रमा किन दिइन्छ बलि ?


काठमाडौँ— बडादसैंमा नौ देवीको पूजा आरधना गरिन्छ । नवरात्री पर्व धार्मिक आस्था र आध्यात्मिक मान्यताको आधारमा मनाईन्छ। ९ रात, ९ देवी, ९ कथा रहेको नवरात्रीमा हरेक दिन फरक फरक देवीको आरधना गरिन्छ । दसैंमा के छ देवीको महत्व ?

बडादसैंंको ९ दिनमा फरक फरक देवीको पूजा आरधना गरिन्छ । असत्यमाथि सत्य र असुरी शक्तिमाथि दैवी शक्तिको जीतको प्रतिकका रुपमा नेपालीहरुका दशैं मानाउँछन् । सनातन संस्कृतिमा दैवी शक्तिको रुपमा नारी शक्तिको उपासना श्रृष्टीको उषाकालदेखि नै शुरु भएको पाइन्छ । यो सारा संसारको श्रृष्टीकारीका म नै हूँ भन्ने स्वयं देवीको वचन रहेको छ। श्रृष्टीमापनि आद्य श्रृष्टिकी कारण भएकी जगदम्बा जगत्की आमालाई वेदादि ग्रन्थमा ब्राह्मी, गायत्री, सावित्री आदिका नामले सम्बोधन गरेको देखिन्छ। वर्ष दिनका चाडपर्वहरू मध्ये नेपालीहरूको महान् पर्व बडादशैंकी प्रधान देवता पनि शक्ति माता दुर्गा नै हुन् ।हिन्दुहरूका ३३ कोटी देवी देवताहरूमध्ये यस पर्वमा विशेष गरी शक्क्तिस्वरूपा दुर्गामाताको आराधना गरिन्छ। वर्ष दिनसम्म लगातार काम गर्दा शक्ति क्षीण हुने र अरु धेरै काम गर्न शक्तिको आवश्यकता हुने भएकाले कम्तीमा वर्षको एकपटक शक्तिको आराधना गर्ने गरिएको हो।वर्षमा १ पटक आद्याशक्तिरूपा भगवती दुर्गाको उपासनागरी शक्तिको पुनर्नवीकरण गर्ने महत्वपूर्ण सामजिक र सांस्कृतिक पर्वका रूपमा दशैंपर्व मनाउने अनादी परम्परा हो ।

तर देवीको पूजा यही समयमा किन भन्ने प्रश्न स्वभाविक रुपमा पनि जन्मन्छ । शास्त्रमै शरद् ऋतुमा जस्ले भक्तिपूर्वक शक्ति स्वरुपा दुर्गाको महापूजा आराधना गरी सप्तशती चण्डी पाठ गर्दछ । त्यसका सम्पूर्ण दुःख कष्टहरू नाश भएर जाने र धनधान्य सुख ऐश्वर्य प्राप्तिसँगै रोग व्याध र शत्रु नाश भई जीवन आनन्दमय हुने स्वयम् मार्कण्ड पुराणको देवी महात्म्यमा बताइएको छ । त्यसैले शारदीय ऋतुमा नै दशैं मनाइन्छ र देवीकै पूजा गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदा देखि आश्विन शुक्ल नवमीसम्म शक्तिको आराधना पछि दशैं यानिकी दशमीका दिन नवदुर्गाको विसर्जनपश्चात्् प्रसादस्वरुप पुर्णिमासम्म टीका जमरा लगाउने गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्माचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिनमहागौरी र नवौं दिन सिद्धिदात्रीको उपासना गरिन्छ । ९ दिन नै शक्तिपीठमा दर्शनार्थीहरुको भीड देखिन्छ । बिहीबार फूलपातीको दिनमा पनि शक्तिपीठहरुमा दर्शनार्थीको घुँइचो देखिन्थ्यो ।

परमपुरुष शिव र शिवकी शक्तिरूपा गौरी नै विभिन्न समयमा विभिन्न रूपले जन्म लिएर कहिले मधुकैटभ विनाशकारिणी,कहिले योगमाया, कहिले महिषासुरमर्दिनी, कहिले शुम्भनिशुम्भविनाशिनी आदि विभिन्न रूप लिएर लोककल्याणका लागि विभिन्न लीलाहरू गरेको शास्त्रमा उल्लेख छ । परमेश्वरी दुर्गा भनेकी पनि भगवती गौरीमाताको नै एउटा स्वरूप हो ।जसको श्रद्धा एवं भक्तिपूर्वक आराधना उपासना गर्दा मनुष्यहरूका विभिन्न मनोरथहरू पूर्ण हुन्छ ।नेपाल आदिम कालदेखि नै देवभूमिका नामले परिचित छ। स्वयं प्राकाट्य शक्तिपीठ तथा वैदिक र तान्त्रिक पद्धतिबाट स्थापित भएका सिद्ध पीठका कारण नेपाल सिद्धभूमि र तपोभूमि हो। सती, पार्वती, सीता, गुह्येश्वरी, पाथीभरा, त्रिपुरासुन्दरी, विन्ध्यावासिनी, बंगलामुखी,मनकामनालगायतका देवीहरूको शक्तिकेन्द्र भएकोले प्रत्येक नेपालीले पारिवारिक कल्याणका साथै शक्ति सञ्चय र राष्ट्र कल्याणका लागि राष्ट्रले राष्ट्रिय पर्वका रुपमा दशैं पर्व मनाउँदै आएको छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकको रूपमा मनाउने दशैं धार्मिकका साथै नेपालीको मौलिकतासँग पनि जोडिएको छ ।