देश

ओलीलाई गाली गर्न प्रचण्डले पाँचतारे होटलमा सम्पादक गुहारे, देउवाको तारिफ, रवि पक्रिसक्ने तर…


काठमाडौँ— कांग्रेस–एमालेको मिलनले प्रतिपक्षमा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ताच्युत भएयता थप सक्रिय बनेका छन् । प्रतिपक्षलाई लपेट्नेदेखि विपद्मा छायाँ सरकारको झल्को दिन भ्याएका प्रचण्डले चाडपर्वमासमेत राजनीतिक समीक्षासहित सक्रियता बढाएका छन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बहिर्गमन भएको तीन महिना भयो । कांग्रेस–एमालेको अप्रत्याशित मिलनले विपक्षमा पुगेका अध्यक्ष प्रचण्ड यो अवधिमा सत्तारुढ कांग्रेससँग केही नरम देखिए पनि एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कडारुपमा प्रस्तुत भइरहेका छन् । यतिसम्म कि प्रधानमन्त्री ओलीको विरोध गर्न उनले कुनै कसर बाँकी राखेका छैनन् । प्रधानमन्त्री ओलीलाई लपेट्नु नै प्रचण्डको प्राथमिकतामा परेको देखिन्छ । पार्टी संगठन सुदृढीकरण गर्दै पार्टीलाई नयाँ जीवन दिन दौडधुप गरिरहेका प्रचण्ड बाढी पहिरोले निम्त्याएको विपदमा जहाँ जहाँ सरकार चुक्यो, त्यहीँ आफू सक्रिय भएर जनताको अघि उपस्थिति देखाउने काम गरे । सरोकारवाला निकायसँग समन्वय गर्नेदेखि बाढीपीडितको घरदैलोमै पुगेका प्रचण्डले दशैंको मुखैमा सम्पादकहरुलाई पाँचतारे होटलमा बोलाएर छलफल चलाए । सरकारबाट बाहिरिएपछि पहिलो पटक सम्पादकहरुसँग भेटघाट गरेका प्रचण्डले प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा खेलेको भूमिकाबारे व्याख्या गरे । यहाँ पनि कांग्रेसप्रति नरम र एमालेप्रति प्रचण्डको आक्रामक शैलीले निरन्तरता पायो । बाढीपहिरो र डुबानको विपदमा सरकारको भूमिका कमजोर भएको जनगुनासो रहेको टिप्पणी गर्दै सरकार चुकेको तर गाली नगर्ने उनको भनाइ थियो । कांग्रेसको नामसमेत उच्चारण नगरेका प्रचण्डले एमालेको उद्देश्य संविधान संशोधन नभएको टिप्पणी गर्दै वर्तमान सत्ता समीकरण संविधान खारेजीको खेलमा लागेको आक्षेप लगाए ।

यसैगरी हालै पूर्वराजा ज्ञानेन्द्र शाहको भुटान भ्रमणबारे पनि प्रचण्डले मुख खोलेका छन् । पूर्वराजा ज्ञानेन्द्रको भुटान भ्रमण नेपालको आन्तरिक राजनीतिक संकटको अभिव्यक्ति भएको उनको बुझाई छ । तर नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको प्रचण्डले दाबी गरे ।

पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्ने तयारी भइसके पनि अदालतका कारण रोकिएको प्रचण्डले बताए । कास्की अदालतले पक्राउ गर्नुपर्ने कारण नभएको राय दिएपछि सरकार पछि हटेको आफूलाई सूचना प्राप्त भएको उनले बताए । प्रचण्डले सहकारीको बचत अपचलन, दुरूपयोग, ठगीबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनमा राजनीतिक चलखेल भइरहेको दाबीसमेत गरे ।

प्रतिपक्ष बेन्चमा पुग्दा नपुग्दै पार्टीभित्रको आन्तरिक शक्ति संघर्षको सामना गर्नु परेका प्रचण्डले पार्टीलाई फुटबाट जोगाएको बताउन भ्याए । यस्तै उनले आगामी निर्वाचनमा माओवादी सम्भव भएसम्म एक्लै प्रतिस्पर्धामा जाने स्पष्ट पारे । कहिले कोसँग, कहिले कोसँग गठबन्धन गर्दा माओवादीको पहिचान नै संकटमा परेकोजस्तो भएको उनको बुझाई छ । अध्यक्ष प्रचण्डले यसपालि चुनावमा एक्लै लड्ने मुख्य कुरा भए पनि समाजवादी मोर्चामा रहेकाहरूले तालमेल गरौं भनेको खण्डमा तालमेल हुन सक्ने संकेत गरे । प्रतिपक्ष बेन्चको नेतासमेत रहेका प्रचण्ड प्रतिपक्षमा रहेका बेला पार्टीले शक्ति आर्जन गर्न खोज्नु नौलो विषय होइन । फलतः प्रचण्डको यो सक्रियता आफँैमा स्वभाविक छ । तर उनको यो सक्रियताको कुनै अर्थ नरहेको विश्लेषणसमेत हुने गरेको छ ।

निरन्तर ९ वर्षसम्म सरकारमा रहँदा माओवादी पार्टी र प्रचण्डको अधोगति रोक्न प्रतिपक्षमा पुगेपछि उनले देखाएको सक्रियताले केही हदसम्म सफलता मिलेको देखिन्छ । प्रतिपक्षमा पुगेपछि प्रचण्डको सक्रियताले प्रशंसा बटुली रहेको छ भने उनको लोकप्रियता बढ्दै गएको देखिन्छ । यसलाई राजनीतिक लाभका रुपमा रुपान्तरण गर्न उनी सफल हुन्छन् वा हुँदैनन् ? त्यो भने निकट भविष्यले छर्लङ्ग पार्ने नै छ ।