देश

बालेनका प्रहरीले गौशालाबाट मारवाडी लखेटे, दिनभर घम्साघम्सी, अब धर्मशाला महानगरको


काठमाडौँ— पशुपति क्षेत्रस्थित गौशाला धर्मशाला खाली गराउने विषयमा काठमाडौं महानगरपालिका र मारवाडी सेवा समितिबीच विवाद चर्किएको छ । यो विवादको बिउ रोप्ने काम भने पशुपति क्षेत्र विकास कोषले गरेको हो । कोषले गौशाला धर्मशाला सञ्चालनका लागि महानगरसँग सम्झौता गरेसँगै यसअघिदेखि धर्मशाला सञ्चालन गर्दै आएको मारवाडी सेवा समितिले प्रतिवाद गरेपछि विवाद थप चिर्किएको हो ।

बुधबार पशुपतिको गौशाला क्षेत्र दिनभर जसो अस्तव्यस्त रह्यो । काठमाडौं महानगरको नगर प्रहरी र मारवाडी सेवा समितिका प्रतिनिधिहरुबीच गौशाला धर्मशाला खाली गराउने विषयमा घम्साघम्सीकै अवस्था बन्दा गौशाला क्षेत्र अस्तव्यस्त बनेको हो । काठमाडौं महानगरपालिकाले तारन्तार माइकिङ गरेर बुधबार विहान १० बजेसम्ममा धर्मशाला खाली गर्न सूचना दिए पनि मारवाडी सेवा समितिले अटेर गरेपछि महानगर टोली दलबलसहित धर्मशाला पुगेको थियो । महानगरको टोली आउने खबर पाएपछि मारवाडी सेवा समितिका प्रतिनिधिहरु प्ले कार्डसहित विरोधमा उत्रिएका थिए । उनीहरु महानगरको टोलीविरुद्ध प्रतिकारमै उत्रिएपछि विवाद थप चर्किएको हो ।

महानगरको नगर प्रहरी, काठमाडौं नगरपालिकाको वडा नम्बर ८ का वडाध्यक्ष, महानगरका प्रतिनिधि, पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच सहमति नजुटेपछि महानगरले बल नै प्रयोग गरेर धर्मशालाको पुरानो बोर्ड हटाएर महानगरले आफ्नो बोर्ड लगाएको छ । नगर प्रहरीले धर्मशाला खाली गराउन भित्र उर्दी जारी गरिरहँदा बाहिर भने मारवाडी सेवा समितिले विरोध गरिरहेको थियो । यता, धर्मशाला खाली गराउन गएको महानगरको नगर प्रहरीलाई प्रहरी प्रशासनले फिर्ता पठाएपछि मेयर बालेन्द्र शाह (बालेन) ले प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका छन् । उनले अदालतले दाबी पुग्दैन भनिसकेको अवस्थामा प्रहरीले हस्तक्षेप गरेर मारवाडी समितिलाई संरक्षण गरेको भन्दै विरोध गरेका छन् । धर्मशाला खाली गराउने विषयमा अदालतमा मुद्दा नै परेको र उक्त मुद्दाको अदालतबाट पूर्णपाठ नआएकाले पूर्णपाठ आएपछि पुनरावेदन गर्न पाउने अधिकार दिनुपर्ने मारवाडी सेवा समितिको अडान छ ।

२०६० सालमा तत्कालीन पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको सम्झौता यही असोज १६ गते काठमाडौं जिल्ला अदालतले खारेज गरिदिएपछि काठमाडौंको गौशालास्थित कित्ता नं. ८३ को ४ रोपनी १५ आना २ पैसा र सोही स्थानको कित्ता नं. ८५ को ४ रोपनी १० आना जग्गा पशुपति क्षेत्र विकास कोषमा फिर्ता आएको थियो । कौडीको मूल्यमा बर्षौंदेखि गौशालास्थित पशुपतिनाथको धर्मशाला कब्जा गरेको मारवाडी सेवा समिति र कोषबीचको सम्झौता अदालतले खारेज गरिदिएपछि गौशाला धर्मशालामा मारवाडीको साम्राज्य भत्किएको थियो । मारवाडी सेवा समितिले बार्षिक ५१ हजार अर्थात मासिक ४ हजार २५० रुपैयाँ बुझाएर गौशाला मुल चोकको ९ रोपनी बढी जग्गा कब्जा गरेर १९ वटा सटर भएको भवन भाडामा लगाई रकम असुल्दै आएको थियो । आराध्यदेव पुशपतिनाथको समिपमा बसेर लुटधन्दा चलाएको मारवाडी सेवा समितिले कोषलाई सिंगो संरचनाको मासिक ४ हजार २५० रुपैयाँ भाडा तिर्ने गरे पनि आफूले भने प्रतिसटर ३५ हजार रुपैयाँसम्म असुल्दै आएको थियो ।

शक्ति र पहुँचको भरमा सम्झौताको तुरुप फाल्दै मारवाडी सेवा समितिले काठमाडौंको प्राइम लोकेसनमा रहेको गौशाला चोकै छेउको जग्गा कब्जा गरेर सञ्चालन गरिरहेका १९ वटा सटरबाट मात्रै मासिक ६ लाख ६५ हजार रुपैयाँ भाडा उठाउने गरेको थियो । तर यो समितिले बार्षिक ५१ हजार रुपैयाँमै सबै टिपनटापन उठाएर लुटतन्त्र मच्चाई रहेको थियो । मारवाडी ग्याङले होटेल, लज, रेस्टुरेन्ट र डायलिसिस सेन्टर सञ्चालन गरी वार्षिक करोडौँ रुपैयाँको लाभ लिँदै आएको थियो । २१ वर्षपछि धर्मशाला आफ्नो स्वामित्वमा फिर्ता आए लगत्तै पशुपति क्षेत्र विकास कोषले धर्मशाला सञ्चालनको जिम्मा काठमाडौं महानगरपालिकालाई दिँदै सम्झौता गरेको थियो । मंगलबार गौशाला धर्मशाला महानगरले व्यवस्थापन गर्नेसम्बन्धी सहमति भएको थियो । कोष र महानगरबीच भएको सम्झौताअनुसार धर्मशाला निःशुल्क रुपमा सञ्चालन गर्न लागिएको थियो ।