देश

कुलमान हटाउने तयारी पूरा, यसरी बन्यो योजना, ऋषिकेशको खाका, उद्योगी जोगाउने ओलीको भाका


काठमाडौँ— केही समय ओझेलमा परेको नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती फेरि चर्चामा आएको छ । सरकारले विवरण माग्ने निहुँमा १५ दिनभित्र बुझाउने गरी १५ बुँदे स्पष्टीकरण सोध्दा कुलमानको पद तिहारभन्दा बढी नटिक्ने चर्चा चुलिएको छ ।

केही समय चुपचाप बसेको सरकार फेरि नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई चलाउन सक्रिय बनेको छ । दसैं बिदाकै संघारमा विभिन्न स्पष्टीकरण र विवरण माग गर्ने बहानामा उनलाई हटाउने वैधानिक बाटोको खोजीमा सरकार लागेको हो । फलतः उर्जामन्त्री दीपक खड्काले कुलमानलाई १५ दिनभित्र बुझाउने गरी १५ बुँदे स्पष्टीकरण सोधका छन् । जसले कुलमानले दसैं प्राधिकरणमै मनाए पनि उज्यालोको चाड तिहारमा भने बर्हिगमन हुनुपर्ने स्पष्ट संकेतको रुपमा हेर्न थालिएको छ । किन कि कांग्रेस–एमाले समीकरण बनेदेखि नै कुलमान प्रधानमन्त्री केपी शर्मा ओलीको तारो बनेका थिए । यसैकारण बक्यौता नतिरेका उद्योगका लाइन जोड्न प्रधानमन्त्री ओलीले हुकुमी शैलीमा दिएको निर्देशन कुलमानले अटेरी गरेकै दिनदेखि उनको दिनगन्ति सुरु भइसकेको थियो ।

के छ स्पष्टीकरणको १५ बुँदामा ?
खासगरी कुलमानलाई स्पष्टीकरण सोध्नुभन्दा पहिले उर्जामन्त्री खड्काले प्राधिकरणको बोर्ड बैठक बोलाएका थिए । बुधबार बिहान ११ बजे बोर्ड बैठक बस्ने तयारी भइसकेको थियो । खासमा यो बैठक मन्त्रीको सल्लाहमा कुलमानले बोलाउनु पर्ने हो । तर, यसटक कुलमानलाई नै थाहा नदिई मन्त्रालयका सहसचिव स्तरबाटै बैठकको निम्तो आएको बोर्ड सदस्यहरु बताउँछन् । तर, यो बैठक बस्दै नबसी स्थगित भएको छ । बैठक किन बोलाइएको थियो ?, किन कुलमानलाई निम्तो गरिएन ? र किन स्थगित भयो ? भन्नेबारे केही पनि खुलाइएको छैन । बैठक स्थगित भएको केही समयमै कुलमानको हातमा विवरण माग गर्ने बहानामा १५ बुँदे अघोषित स्पष्टीकरण थमाइएको छ ।


जसमा विगत ४ वर्षको अवधिमा सञ्चालक समितिले गरेका निर्णय, सञ्चालक समितिले कुलमानलाई दिएका अधिकारको विवरण, छिमेकी मुलुकसँग भएका व्यवसायीक सम्झौता, प्राधिकरण र कुलमानबाट स्वीकृत भएका ठेक्का सम्बन्धी विवरण, विवादका कारण काम सम्पन्न हुन नसकेका ठेक्का सम्झौताको अवस्था, सञ्चालक समितिका सदस्यहरुको विदेश भ्रमण सम्बन्धी विवरण र खर्चको लेखाजोखा, डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी उठाउन बाँकी रहेको महसुल र यसबारे भएका निर्णय, प्राधिकरणले विभिन्न बोलपत्रमार्फत् खरिद गरी जडान हुन बाँकी स्टोरमा मौज्दात ट्रान्सफरमरको विवरण माग गरिएको छ । यस्तै, प्राधिकरण आफैँले सिमेन्टेड पोल प्लान्टहरु स्थापना गरी उत्पादन गरेका पोलहरुको लागत मूल्य, बोलपत्रहरुबाट खरिद भएमा विभिन्न पोलहरुको खरिद मूल्यसहित चार वर्षको विवरण माग गरिएको छ ।

यहाँ उनलाई स्पष्टीकरण सोधिएका अधिकांश बुँदा उनीमाथि लाग्ने गरेका अनियमितताको आरोप र बक्यौता विवादसम्बन्धित देखिन्छन् । किन कि १५ बुँदे स्पष्टीकरणमा उल्लेख गरिएका अधिकांश विषय यसअघि सार्वजनिक लेखा समितिले तयार पारेको फेक प्रतिवेदनसँग मिलेका छन् । खासगरी ट्रान्समिटर र पोल खरिदमा कुलमानले आफ्ना नजिकका पात्र र कम्पनीहरुलाई ठेक्का पारेर आर्थिक लाभ लिएको आरोप लाग्ने गरेको छ । त्यसमाथि विद्युत नियमन आयोगले नै बक्यौता नतिर्ने व्यापारीका उद्योगमा लाइन जोड्न निर्देशन दिएपछि तीन महिनाका लागि लाइन जोड्ने निर्णय कुलमानले गरेका थिए । अर्थात अब कात्तिक सात गते तीन महिना पुग्दैछ । सरकार भने बक्यौता विवाद टुंग्याउनुुको साटो कुलमानलाई नै साइड लगाएर व्यापारी बोक्न अघि सरेको देखिन्छ । यदि सरकारले विवाद समाधान गर्न चाहेको भए लेखा समितिमा भइरहेको छलफललाई पूर्णता दिन सक्नुपर्ने थियो ।

तर, त्यो छलफल पनि अलपत्र परेको र अख्तियार लगाउने योजना पनि सफल हुन नसकेपछि सरकार कुलमानलाई अनावश्यक झमेला थोपरेर राजीनामा दिन बाध्य पार्ने रणनीतिमा देखिएको छ । किन कि कुलमानलाई सिधै बर्खास्त गरे अदालत गएर स्टे अडर लिन सक्ने डरले सरकार हच्किएको हो । यसअघि पनि अदालत नै सञ्चालक समितिका दुई सदस्यको पद जोगाइ दिएको थियो । अर्कोतर्फ गत असोज ११ र १२ गतेको बाढीले उर्जा क्षेत्रमा १७ अर्ब बढीको क्षति पु¥याएको छ । अब पुनर्निर्माणका क्रममा त्यहाँ पनि ठूलै खेलोफड्को हुने भएकाले सरकार उनलाई हटाएर आफू निकटको कार्यकारी निर्देशकको नियुक्ति चाहन्छ । यसअघि कुलमान हटाउने बाटोमा कांग्रेस बाधक बनेको थियो । अब कांग्रेसकै मन्त्री खड्का कुलमान हटाउन हात धोएर लागेपछि कांग्रेसको झुकाव कता रहन्छ त्यो हेर्न बाँकी छ । तर, अरु समयमा कुलमान हटाए विरोध हुन सक्ने भएकाले दसैं तिहारकै मौका छोप्ने रणनीतिमा सरकार छ । स्रोतका अनुसार कुलमानले दसैं मनाउन पाए पनि तिहारसम्म टिक्न नदिने योजना देखिन्छ ।