अन्तर्राष्ट्रिय

इरान–इजरायलको त्यो दोस्ती, यसरी बने घोर दुस्मन, पटक–पटकको युद्ध, किन हुँदैन जित हार ?


काठमाडौँ— इजरायल–हमास युद्ध अब इजरायल–हिजबुल्लाह युद्धमा परिणत भएको छ । लेबनानको हिजबुल्लाह समूह र इजरालयबीच सन् १९८५ देखि नै बेलाबेला भयानक युद्ध हुँदै आएको छ । इजरायलसंग हिजबुल्लाहको युद्ध किन बारम्बार चर्किने गरेको छ त ?

सन् १९८५ मा पश्चिमा शक्तिसँग भिड्नका लागि लेबनानमा जन्मिएको विद्रोही समूह हो हिजबुल्लाह । लेबनानको सेनाभन्दा शक्तिशाली हिजबुल्लाह इरानले जन्माएको एउटा डरलाग्दो सैन्य फौज हो । जुन फौज प्रोक्सीवारका लागि सफल मानिन्छ । सुरुङ र हवाई दुवै हमलामा अब्बल मानिने हिजबुल्लाह इजरायलसँग पटकपकट लड्दै आएको छ । जसको गठन १९८२ मा दक्षिणी लेबनानमा इजरायलको कब्जा र हस्तक्षेपविरुद्ध लड्न गरिएको थियो । यो समूहले मुख्यतः शिया मुस्लिमहरूको समर्थन पाउँछ । यस क्षेत्रमा हिजबुल्लाह इजरायलको सबैभन्दा ठूलो शत्रु पक्ष हो । लेबनानमा सन् १९९२ यता भएका निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएको हिजबुल्लाह त्यहाँको मुख्य राजनीतिक पार्टी मानिन्छ । त्यसयता हिजबुल्लाहले लेबनानस्थित अमेरिकी र इजरायली फौजमाथि भीषण आक्रमण गर्दै आएको छ । सन् २००० मे २४ मा इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता भयो । हिजबुल्लाहले आफ्नो आक्रमणका कारण इजरायल लेबनान छाड्न बाध्य भएको बताउने गर्छ । पछिल्लो समय हिजबुल्लाहले खासगरी अमेरिका र इजरायल लक्षित आक्रमण गर्दै आएको छ । सन् २००६ मा हिजबुल्लाहले सीमाक्षेत्रबाट इजरायली भूमिमा आक्रमण गरेको थियो । सो आक्रमणका क्रममा इजरायलका ८ सैनिक मारिएका थिए भने दुई सैनिकलाई हिजबुल्लाहले बन्धक बनाएको थियो । इजरायली लडाकु विमानहरूले हिजबुल्लाहको बलियो पकड रहेको लेबनानको दक्षिण र बेरुतको बाह्य क्षेत्रमा व्यापक बमबारी गरेको थियो । जवाफमा हिजबुल्लाहले करिब ४ हजार रकेट इजरायलमाथि प्रहार गरेको थियो । ३४ दिनसम्म चलेको लडाइँका क्रममा लेबनानमा ११ सय जना मारिएका थिए । इजरायलतर्फ १ सय १९ सैनिक र ४५ सर्वसाधारण मारिएका थिए ।
इजरायली आक्रमणपछि हिजबुल्लाहले ठूलो संख्यामा लडाकु भर्ती ग¥यो र नयाँ तथा आधुनिक हतियारसमेत व्यवस्थापन ग¥यो । पश्चिमा देशहरूको समर्थन रहेको लेबनान सरकारले सन् २००८ मा हिजबुल्लाहको निजी दूरसञ्चार सञ्जाल बन्द गरेको थियो । त्यसका साथै हिजबुल्लाहसँग सम्बन्ध रहेको आरोपमा बेरुत विमानस्थलका सुरक्षा प्रमुखलाई हटाइएपछि हिजबुल्लाहले बेरुतका अधिकांश भाग कब्जा ग¥यो र प्रतिद्वन्द्वी सुन्नी समूहसँग लडाइँ गरेको थियो । ८१ जनाको ज्यान गएपछि साम्प्रदायिक दंगा रोक्न सरकार पछि हट्यो र सत्ता साझेदारी गर्ने सहमति भयो । सम्झौतापछि हिजबुल्लाहलाई मन्त्रिपरिषद्मा विशेषाधिकार दिइयो । सन् २००९ को चुनावमा १० सिट जितेपछि हिजबुल्लाह एकताको सरकारमा सहभागी भयो । त्यसयता लेबनानको राजनीतिमा हिजबुल्लाहको प्रभाव बलियो रहँदै आएको छ । राजनीतिक, सुरक्षा र सैन्य प्रभावसँगै उसले उपलब्ध गराउने सेवाका कारण लेबनानमा हिजबुल्लाहले ‘राज्यभित्र राज्य’ को प्रतिष्ठा आर्जन गरेको छ ।

हिजबुल्लाहलाई मध्यपूर्वकै ठूलो र शक्तिशाली सैन्य संगठन मानिन्छ । डेढ लाखभन्दा बढी पूर्णकालीन सैनिक र ४ लाखभन्दा बढी आंशिक सैन्य क्षमता भएको हिज्बुल्लाह इरान र रुसबाट संरक्षित मात्रै छैन कि मिसाइल र हतियारसमेत सहयोग पाइरहेको छ । इजरायलले हिजबुल्लाहको पेजर र वाकीटकीमै स्वचालित विस्फोटक राखेर आक्रमण गरेपछि अहिले लेबनानको राजधानी बेरुतमा दिनदिनै इजरायलको गोला वर्षा चलिरहेको छ । झण्डै १५ देखि २० वर्षको अवधिमा पटक–पटक भिड्न तयार हुने इजरायल हिजबुल्लाहबीचको यो लडाईं कहिले अन्त्य हुन्छ भन्न सकिने अवस्था छैन । त्यसो त हमासलाई सिध्याएरै छाड्ने इजरायलको अठोटका बीच अब उसले हिजबुल्लाहलाई पनि सखाप पार्ने रणनीतिका साथ अघि बढेको छ । जसले अहिले जारी युद्ध तत्काल रोकिने र शान्ति कायम हुने सम्भावना न्यून छ । हिजबुल्लाहको समर्थनमा इरानले समेत इजरायलमाथि आक्रमण थालेकाले मध्यपूर्वको अवस्था झनै भयावह हुने सम्भावना बढेर गएको छ ।