समाचार

तात्यो दसैंको माहोल, घर जानेको लर्को, कपडादेखि खसी किन्नेसम्मको भिड, महँगीलाई चिरेर खुसी खोज्दै


काठमाडौँ— दसैं जतिजति नजिकिँदै छ, बजारको भिड पनि त्यति नै बढ्दै गएको छ । सबैभन्दा बढी किनमेल र कारोबार चाड दसैंको चहल पहलले हरेक क्षेत्रमा रौनक देखिएको छ ।
चलनचल्तीको भाषामा भन्ने हो भने अहिले नुनदेखि सुनसम्म किन्ने पसलमा निकै भिड छ । नेपालीको महान चाड दसैं आँगनमै आइसक्दा अझै पनि दसैं लक्षित सरसामान किन्नेको बजारमा घुइँचो देख्न सकिन्छ । दसैंअघि कार्यालय खुल्ने अन्तिम दिन बुधबार त झन् यो भिड अत्यधिक मात्रामा देख्न सकिन्थ्यो । बैंकदेखि खाद्यन्न, लत्ताकपडा पसल हुँदै खसीबोका बिक्री केन्द्र र बसपार्कसम्मै मानिसहरुको भिडभाड थेगिनसक्नु छ ।

बिहीबारदेखि औपचारिक रुपमा दसैंको सार्वजिनक बिदा सुरु हुँदैछ । त्यसैले कामको शिलशिलामा संघीय राजधानी काठमाडौंमा बस्नेहरू प्राय बिहीबार नै पूख्र्यौली थलो फर्कदै छन् । यद्यपि, दसैंको पहिलो दिन घटस्थापना सुरु भएदेखि नै बुधबार बिहान ६ बजेसम्ममा पाँच लाख ६ हजार पाँच सय २५ जनाले सडकमार्ग भएर काठमाडौं छोडिसकेका छन् । काठमाडौंमा विभित्र पेशा, व्यवसाय र अध्ययनका लागि बसोबास गर्दै आएकाहरू अहिले दसैं मनाउन पूख्र्याैली घर फर्कने क्रम जारी छ । पछिल्लो तीनदेखि दैनिक एक लाखभन्दा बढीले उपत्यका छोडिरहेको प्रहरीले जानकारी दिएको छ । ठूलाबडाको आर्शिवाद थाप्न गाउँ फर्कन लागेकाहरुले दसैं अगाडिदेखि नै अग्रिम टिकट बुकिङ गर्न टिकट काउन्टरहरुमा धाएका थिए । यद्यपि, कतिपयले भने पटक पटक काउन्टरमा धाउँदा पनि टिकट नपाएको गुनासो गरेका छन् । दसैंको मुखैमा देशमा आएको बाढी पहिरोको विपद्ले मुख्य राजमार्गहरू ठप्प हुँदा र खुलेका सडकको स्तर पनि सन्तोष जनक नहुँदा सकसपूर्ण यात्रा गर्न बाध्य छन् । तर, परिस्थिति असहज हुँदाहुँदै पनि बसपार्कको भिड सामान्य बन्न सकेको छैन ।

त्यसो त एकसरो नयाँ लुगा फेर्न र एक छाक मिठो खान दसैं नै कुर्नुपर्ने बाध्यता नहोला । तर दसैं भन्नासाथ मिठो खाने र राम्रो लगाउने मात्रै नभई अग्रजबाट आर्शिवाद लिने नेपालीहरुको प्रमुख चाड भएकाले पनि यसको खास महत्व रहँदै आएको छ । अरु समयभन्दा दसैंमा मानिसहरुको किनमेलमा बढी नै भिड लाग्ने गर्दछ । दश दिनसम्म दसैं मनाउने परम्परा भए पनि फूलपातीदेखि विजया दशमीको दिनसम्मलाई दसैंको विशेष दिनका रुपमा लिइन्छ । यस अवसरमा मानिसहरुले किनमेल र रमाइलोमा बढी जोड दिँदा सहर, बजारदेखि गाउँघरसम्मै दसैंको रौनक छाउने गरेको छ ।

दसैंअघि कार्यालय खुल्ने अन्तिम दिन बुधबार बैंकमा पनि सर्वसाधाणको भिड उल्लेख्य देखियो । मानिसहरु पैसा साट्न लाइनमा धैर्य गरेर बसिरहेका थिए । बैंकका कर्मचारीदेखि ग्राहकहरू सबै फेस्टिभ मुडको चटारोमा भएको महसुस हुन्थ्यो । दसैं लागेदेखि नै बैङ्कमा ग्राहकको भिडभाड सुरु भएकोमा पछिल्लो तीन÷चार दिन भने ग्राहकको उपस्थिति बाक्लिएको कर्मचारी बताउँछन् । यद्यपि, बैङ्कले टोकन सिस्टमबाट सेवासुविधा दिँदै आएको हुँदा व्यवस्थापन पनि सहज भएको उनीहरुको भनाइ छ ।

चाडबाड नजिकिएसँगै बजारमा महँगी बढ्ने गरेको छ । तर त्यसको नियन्त्रणमा सम्बन्धित निकायको गम्भीर ध्यान नजाँदा कतिपय व्यापारीबाट सर्वसाधारण ठगिने गरेका छन् । योसँगै बढ्दो महँगीले हरेक वर्ष नेपालीहरुको प्रमुख चाड दसैं पनि महँगो बन्दै गएको अनुभूति धेरैले गरेका छन् । त्यसमा पनि अरुको देखासिखी गर्ने प्रवृत्ति हाबी हुँदा ऋण काँडेर भए पनि दसैं मनाउनु पर्ने बाध्यताले कतिपयलाई ऋणको भारी थपिने गरेको छ । यद्यपि, सदियौँदेखिको संस्कृति र परम्पराको जगेर्ना गर्दै आएको दसैंमा सबै नेपालीहरुको भान्सामा आफ्नो आर्थिकस्तर अनुसार परिकार पाक्ने गरेको छ । सरकारले दसैंमा फुलपाती अर्थात् सप्तमीदेखि एकादशी पाँच दिनसम्म राष्ट्रिय बिदा दिने गरेको छ । पाँचदिनसम्म राष्ट्रिय पर्वकै रुपमा मान्यता पाएको दसैंले पारिवारिक जमघटसँगै समाजिक सद्भाव कायम राख्न पनि ठूलो भूमिका खेलेको छ ।