देश

चाडपर्वका समयमा फोन अफ नगर्न खानेपानीमन्त्रीको कर्मचारीलाई निर्देशन


काठमाडौँ— खानेपानीमन्त्री प्रदीप यादवले दशैंलगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले कुनैपनि कर्मचारीले आफूसँग भएको मोबाइल फोन अफ नगर्न निर्देशन दिएका छन् ।

आज मन्त्रालयमा आयोजना गरिएको दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीका विषयमा नागरिकहरुका विभिन्न समस्या आउन सक्ने तथा अन्य अत्यावश्यक काम पर्न सक्ने भएकाले आफूसँग भएको मोबाइल अफ नगर्न निर्देशन दिए।

मन्त्री यादवले अहिले विपद्को समय भएकाले थप समस्या आउन सक्छने तर्फ ध्यान दिँदै हामीले नागरिकका समस्यालाई समाधान गर्न तर्फ लाग्नु पर्ने भएको हुँदा सबै राष्ट्र सेवक कर्मचारीहरु नागरिकका सेवामा अग्रसर रहन समेत आग्रह गरे । मन्त्री यादवले भने, ‘विपद्को समयमा पनि हामीले विभिन्न परिस्थितिको सामना गर्दै काठमाडौँमा पानी ल्याउन सफल भएका छौँ। यो हामी सबैको ठूलो उपलब्धिको विषय हो । जसरी पानी ल्याउन सफल भयौँ, त्यसैगरी नागरिकलाई पानी खुवाउन सफल बनौँ।’

काठमाडौँ उपत्यकामा हिजोदेखि वितरण गरिएको मेलम्चीको पानी कुन-कुन क्षेत्रमा पुगेको र कहाँ अपुग छ, सो विषयमा निरन्तर अनुगमन गरी पानी विरतण कार्य सूचारु गर्न समेत मन्त्री यादवले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल) का कर्मचारीहरुलाई निर्देशन दिए ।