Uncategorized

प्रचण्डका अनौठा उथलपुथल, देश हार्दा उनी जितिरहे, ओरालो यात्राको कथा…


पुष्पकमल दाहाल प्रचण्ड । जसको तुलना उथलपुथल, अस्थिर र धोकाधडीसँग जोडिन्छ । के प्रचण्डको परिचय यही हो त ? वा यही थियो ? यदि होइन भने कस्ता थिए प्रचण्ड ? जो पार्टी को गति ओरालो लाग्दा पनि आफुलाई सर्बशक्तिमान देखाईरहेकाछन् । कहाँ पुग्यो प्रचण्ड युग अनि कहाँ छुट्यो प्रचण्ड पथ ? आजको तथ्य तलासमा– ती प्रचण्ड र यी प्रचण्ड ।

नेपालीमा एक चर्चित उखान छ नि– किन चाउरिस् मरिच आफ्नै रागले । यो उखान अहिलेको अवस्थामा ठ्याक्कै कसैसंग मेल खान्छ भने सायद त्यो पार्टीगत रुपमा
नेकपा माओवादी केन्द्र र व्यक्तिगत रुपमा प्रचण्डनै हुनुपर्छ । पार्टी कमजोर बन्दै जाँदा पनि देशको राजनीति भने प्रचण्डको पेरिफेरिमै घुमिरहेको छ ।

माओवादी संसदमा तेस्रो पार्टी भएर पनि राजनीतिका प्रखर खेलाडी प्रचण्डको चातुर्यताले एमाले र कांग्रेसंग पालैपालो काध फेर्दै १८ महिना बालुवाटार बसेर सिंहदरबारमा साशन गरे ।भलै उनको छेपारे प्रवती र जादु बाला ३२ सिटको चमत्कार चल्न छोडेपछि अहिले खुमलटारमा थन्किएकाछन् ।

सत्ताको रापताप बाट विश्राम पाएपछि घर बुढो भएका कुनै बेलाका नायक प्रचण्ड कतै गुमनाम त बन्दै छैनन् ? के अब उनको शक्ति क्षीण बन्दै गएको हो ? अथवा कुनै समयका शक्तिशाली प्रचण्ड अहिले किन नीरिह देखिँदैछन् ? यस्तैयस्तै प्रश्नले अहिले धेरै स्थान पाउन थालेको छ ।

जब सत्ताबाट बाहिरिए तब प्रचण्डलाई एकाएक जनताको माया जाग्यो, सहयोद्धा, जनयुद्धका घाइते सम्झिए, गणतन्त्र र संविधान सम्झिए र जनतामा जाने निर्णय पनि गरे । लाग्थ्यो कि सरकारमा जानु र जनतामा जानु फरक कुरा हो र सरकारमा भएको दल जनतामा जान सक्दैन । शान्ति प्रकृयापछि भएको पहिलो संविधानसभा निर्वाचनमा हिरो बनेको माओवादीको औधोगति यही ढंगले रसातालमा भासिदै जाने हो भने इतिहासको पानामा सिमित हुन बेर छैन । प्रचण्डले जुन सपना बाँडेर हतियार उठाए आफू सत्तामा पुगेपछि त्यो सबै बिर्सिए । र अहिले समीक्षा गर्नुपर्ने निष्कर्षमा पुगे । साच्चै भन्ने हो भने, कुनै बेला जंगलको शेर माओवादी अब, कागजी बाघमा सिमित हुदैछ ।

शिक्षक प्रचण्ड
वि.संं २०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरीमा जन्मिएका प्रचण्डले ०२६ सालमा चितवनको शिवनगरस्थित नारायणी विद्यामन्दिरबाट एसएलसी पास गरे । त्यसपछि०२७ देखि ०२९ साल सम्म पाटन बहुमुखी क्याम्पसमा आइएसी पढे । ०३१ देखि ०३६ सालसम्म चितवनको रामपुर कृषि क्याम्पसमा कृषिमा बीएससी गरे । उनले एमपीएसम्मको अध्ययन गरेका छन् । कृषिमा स्नातक गरेका प्रचण्ड भूमिगत हुनुअघि गोरखाको भीमोदय माविमा पढाउँथे । ०२९ सालमा उनी चितवनको शिवनगरमा शिक्षकको भूमिकामा पनि देखिए । ०३३ देखि ०३५ सम्म उनले नवलपरासीको डण्डा मावि र गोरखा आरुघाटको भीमोदय माविमा पढाएका थिए ।

जंगलदेखि सिंहदरबारसम्म प्रचण्डको यात्रा

२०२६ साल ,जतिबेला प्रचण्ड मात्र १५ वर्षका थिए । त्यही समयमा सीता पौडेलसँग विवाह भयो । र ०२८ सालमा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको समूहबाट पार्टीको सदस्यता लिएपछि राजनीति यात्रामा सक्रिय भएर निस्किए प्रचण्ड । ०३४ सालमा निर्मल लामा र मोहनविक्रम सिंह लगायतले नेतृत्व गरेको नेकपामा प्रवेश गरे । र ०३६ सालमा चितवन जिल्ला कमिटी सदस्य हुँदै ०३८ सालमा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय महासचिव र ०४० सालमा संघको केन्द्रीय अध्यक्ष बने । पार्टीगत राजनीतिको मूलधारमा प्रचण्ड ०४१ सालमा नेकपा मशालको केन्द्रीय सदस्यमा निर्वाचित भए ।

प्रजातन्त्र पुर्नवहालीका लागि २०४६ फागुन ७ गतेदेखि भएको पहिलो जनआन्दोलनको समयमा सानो समूहको नेता थिए प्रचण्ड । बाम काँग्रेस गठबन्धनको संयुक्त जनआन्दोलनमा प्रचण्डको समूहले सहभागिता जनाएन । खासगरी संवैधानिक राजतन्त्रको पक्षमा प्रचण्ड थिएनन् । र ०४७ सालको संविधानले त्यही बाटो समातेपछि त्यहीबाट सुरु भयो नेकपा मसाल लगायत साना वामपन्थी दलहरुको ध्रुवीकरण ।
पुराना बोहक अहिलेका नयाँ पुस्तालाई सेक्टर काण्डबारे थाहा नहुन सक्छ ।

काठमाडौंका प्रहरी बिटहरुमा आक्रमण गर्ने, पोष्टर टास्ने कामनै सेक्टर काण्ड थियो । यो योजना असफल भएपछि मोहन वैद्यले राजीनामा दिए र नेकपा एकता केन्द्रका महासचिव बने प्रचण्ड ।


अर्कोतर्फ ०४७ सालको संविधानमा असहमति राख्ने अरु दलहरु पनि एकीकृत भइरहेका थिए । र बाबुराम भट्टराई लगायत पनि मिसिएपछि नेकपा एकता केन्द्र बन्यो र २०५१ सालमा त्यसलाई माओवादी नामाकरण गरियो । त्यसपछि प्रचण्डकै नेतृत्वमा देशको तत्कालीन अवस्थालाई अर्धसामन्ती र अर्ध औपनिवेशिक रहेको निष्कर्षसहित माओवादीले जनयुद्धको नाममा विद्रोहको विगुल फुक्यो ।

०५२ साल फागुन १ देखि शसस्त्र विद्रोह सुरु भयो । त्यतिबेलासम्म प्रचण्डलाई धेरैले भ्रम मात्र मान्थे । तर, जब प्रचण्डको भूमिकाबारे पोष्टर छापिए र तस्बिर प्रकानशन गर्न थालियो । बल्ल प्रचण्डलाई आफ्नै पार्टीका नेता कार्यकर्ता र जनताले चिन्न थाले ।


०५८ सालमा प्रचण्ड जनमुक्ति सेनाको सर्वोच्च कमाण्डर बने । यसक्रममा उनी केही वर्ष भारतमा आश्रय लिएर बसे । ०६३ असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी सार्वजनिक भएका उनी ०६४को चुनाव मार्फत जंगलबाट मुलधारको राजनीतिमा आई,
०६५ साल साउनमा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बने । यसरी प्रचण्ड जंगलदेखि सिंहदरबारसम्म पुगेका हुन् । हालसम्म प्रचण्ड तिन पटक प्रधानमन्त्री भएका छन् ।
प्रचण्डका पाँच रोचक विषय

१. आफ्नै नाम छ पटक परिर्वतन
प्रचण्डले न्वारनदेखि हालसम्म आफ्नो नाम मात्रै ६ पटक परिर्वतन गरिसकेका छन् । प्रचण्डको न्वारनको नाम छविलाल दाहाल थियो । १० कक्षामा उनले आफ्नो नाम फेरेर पुष्पकमल दाहाल बनाए । ०३८ सालदेखि ०६३ सम्म भूमिगत रहेका बेला आफूलाई कल्याण, विश्वास, निर्माणको नामाबाट चिनाउने उनी शान्ति प्रकृयामा आउँदा प्रचण्ड बनेर राजनीतिमा उदाए । अर्को रोचक विषय के छ भने प्रचण्डले राजनीतिक आदर्श मान्ने गरेका स्टालिनले पनि तीन पटक नाम परिवर्तन गरेका थिए । स्टालिन नाम राख्नुअघि उनको नाम कोबा थियो भने वास्तविक नाम जोसेफ भिसारिओनोभिच जुगासभिली हो । तर, प्रचण्डले स्टालिनलाई नै उछिनेर ६ पटक आफ्नो नाम परिर्वतन गरे । अहिले भने आफूलाई प्रचण्ड भन्दा पुष्पकमल नै मिठो लाग्ने गरेको उनी सुनाउँछन् ।

२. पार्टीको नाम पनि ६ पटक परिवर्तन
प्रचण्डले आफ्ुनो नाम मात्र नभइ पार्टीको नाम पनि ६ पटक परिवर्तन गरिसकेका छन् । राजनीति सुरु गर्दा प्रचण्ड तत्कालीन कम्युनिस्ट पार्टीको पुष्पलाल समूहमा आबद्ध थिए । २०४६ सालमा पहिलो पटक पार्टी प्रमुख (महामन्त्री) हुँदा उनको पार्टीको नाम नेकपा मसाल थियो । त्यसको दुई वर्षपछि २०४८ सालमा पार्टीको नाम एकता केन्द्र भयो ।
५१ सालमा एकताकेन्द्रको नाम फेरेर नेकपा माओवादी राखियो । त्यसपछि संसदीय राजनीतिमा आएपछि माओवादी र एकता केन्द्र मसालबीच एकता भएपछि पार्टीको नाम एकीकृत माओवादी राखियो । प्रचण्डले फेरि साना कम्युनिस्ट पार्टीहरूसँग एकता गरेर पार्टीको नाम माओवादी केन्द्र बनाए । तर २०७४ मा एमालेसँगको एकता पछि त्यो नाम फेरिएर नेकपा मात्रै रह्यो । तर सर्वाेच्च अदालतले पार्र्टी एकता बदर गरेर पुरानै अवस्था व्यूत्याईदिएपछि प्रचण्ड पुरानै माओवादी केन्द्रका अध्यक्ष बने । फेरि सातौँपटक नाम नै फेनुपर्ने वहश अहिले पनि पार्टीमा चलिरहेको छ ।

३.आफ्नो र पार्टीको नामभन्दा पनि बढी गठबन्धन फेरेका प्रचण्ड
प्रचण्डले आफ्नो नाम र पार्टीको नाम जस्तै गठबन्धन फेरबदलको श्रृंखला पनि चलाएका छन् । शक्तिमा रहिरहनका लागि कहिले एमाले त कहिले कांग्रेससँग बनाएको गठबन्धन पनि उनले पटक पटक फेरेका छन् । २०६३ यता करिब १८ वर्ष सत्तामा रहे भने, त्यसबिचमा उनले पटक पटक गठबन्धन फेरे । प्रचण्डलाई अहिले आएर त कतिपयले अस्थिरताका पर्याय पनि भन्न रुचाउँछन् । उनी स्वयम् पनि आफूलाई उथलपुलथको नायक ठान्छन् ।

४. सेन्टिमेन्ट प्रचण्ड
सबैभन्दा बढी भावुक हुने र उस्तै परे आँसुनै झार्न पछि नपर्ने नेताको सूची खुट्याउने हो भने सम्भवतः प्रचण्ड पहिलो नम्बरमै पर्छन् । उनको भावूकतालाई हेरेर विश्लेषण गरियो भने यस्ता कोमल मन भएका प्रचण्डले युद्धको नाममा विध्वशंको विउ कसरी रोपे भन्ने जो कोहीलाई आश्चर्य लाग्न सक्छ । प्रचण्डले बोल्दाबोल्दै आँशु झारेको, गला नै अवरुद्ध भएको दृश्यहरु अहिले पनि अर्काइभका रुपमा भेटिन्छन् । छोरा र पत्नीवियोगमा आँशु झार्नुलाई स्वभाविक मानवीय संवेदना मान्न सकिए पनि उनी आफूलाई अलिक बढी सोझो र भावुक रहेको सुनाउँछन् र सोही अनुरुप प्रस्ुतत गर्छन् ।

५.जिब्रो चिप्लिएर सत्य ओकल्ने प्रचण्ड

छेपारोजस्तै रङ फेर्ने प्रचण्ड भन्दै उपमा पाएका उनको बोल पनि त्यसैगरी फेरिन्छ । आफ्नो स्वार्थ केन्द्रमा राख्दै उपियाँजस्तै फड्किने प्रचण्ड शैली पुरानै हो । तेस्रो पटक प्रधानमन्त्री भएका बेला प्रचण्डले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाइदिएको र त्यसका लागि एक व्यापारीले सघाएकोसम्मै बताएका थिए । नेपालको सरकार बनाइदिन बाह्य खेलको हात रहेको पुष्टि गर्ने अर्को प्रमाण थियो प्रचण्डको त्यो अभिव्यक्ति । काठमाडौंमै अर्को कार्यक्रममा प्रचण्डले जनयुद्धमा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएका थिए । यतिमात्र होइन झुट बोल्नमा पनि उत्तिकै माहिर छन् प्रचण्ड । सेना समायोजनको समयमा उनले हुँदै नभएको नक्कली संख्या देखाएका थिए । २०७९ साउनमा जापान भ्रमणमा गएका प्रचण्डले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेसँग नेपालमा दुई तिन पटक कुराकानी भएको भन्दै मन गढन्ते कुरा बोले । जबकी आबे नेपाल भ्रमणमा आएकै थिएनन् । यसरी बेला बेला प्रचण्डको जिब्रो चिप्लिने हुँदा उनी विवादमा तानिन्छन् ।

प्रचण्डको ओरालो यात्राको कथा
प्रचण्डले जादुयी संख्याको बलमा आफ्नो राजनीति टिकाइरहे पनि वैचारिक, नैतिक हिसाबले स्खलन्को बाटोमा छन् । २०६४ सालतिर प्रचण्डको चर्चा नेपालमा मात्र नभइ अन्तराष्ट्रिय तहमा पनि हुन्थयो । माहोल यतिसम्मय थियो कि– प्रचण्डले सीठी फुकेकै भरमा मात्र १–२ लाख युवा सडकमा आउन सक्थे । दशबर्षे जनयुद्धको त्यो प्रचण्डका लागि उपलब्धि थियो । त्यसै उपलब्धिको नतिजा पहिला संविधान सभाको निर्वाचनमा देखियो र माओवादी सबैभन्दा ठूलो दल बन्यो । ६०१ सदस्यीय संविधान सभामा प्रत्यक्ष र समानुपातिक गरि २२० सिट जित्यो । पछि मनोनित गररिएका ९ जना थप्दा माओवादी एक्लैको २२९ सिट थियो ।
तर २०७९ को निर्वाचनमा आइपुग्दा यो संख्या १८ मा झ¥यो । समानुपातिक समेत जोड्दा ३२ सिट छ ।

२०६४ सालमा २९ प्रतिशत मत पाएको माओवादी
२०७० को निर्वाचनमा १५ प्रतिशतमा सटियो ।
२०७४ को निर्वाचनमा १३ प्रतिशत र
२०७९ को निर्वाचनमा ११ प्रतिशतमा झ¥यो माओवादीको जनमत
अब २०८४ मा एक्लै चुनाव लडे माओवादी पत्तासाप हुने एक थरीको बुझाई छ ।

पार्टीको कलहले पनि उग्र रुप लिँदै छ । केही समयको लागि शान्त बसेजस्तो देखिए पनि जनार्दन शर्माले पार्टीमा प्रचण्डको खबरदारी गर्दै नेतृत्व छाड्न दबाब दिन थालिसकेका छन् । तर, माओवादीको अर्को सत्य के हो भने जबसम्म माओवादीको नेतृत्वमा प्रचण्ड रहन्छन् तबसम्म माओवादी पनि घिस्रिरहन्छ । यदि प्रचण्डको हातबाट अरु कसैमा नेतृत्व पुगे टर्च बालेर खोज्नु पर्ने दिन धेरै टाढा नहुन सक्छ । अर्थात प्रचण्डबाट पनि नचल्ने र अरु कसैले पनि चलाउने नसक्ने अवस्थामा पुगेको छ माओवादी र यसको निर्मम समीक्षा गर्नुपर्ने समय गुजारिसकेका छन् प्रचण्डले ।

प्रचण्ड स्खलनको तीतो सत्य

१. विलासी जीवनशैली
जनयुद्धमा रहदा प्रचण्डको रुप कसैलाई याद छ ? यदि छैन भने यो दृश्य हेर्नुुहोस् । मध्यम वर्गीय परिवारका ती प्रचण्ड अहिले २ लाखको घडी लगाउने अवस्थामा कसरी आइपुगे ? फ्याट्ट जवाफ आउन सक्छ– तीन पटक देशको प्रधानमन्त्री भइसकेको मान्छेले यत्ति गर्नु ठिकै हो । अथवा कसैले उपहार दिएका हुन् लगाउनै प¥यो । प्रचण्डले सांसद बनेवाफत पाएको तलबले मात्रै यो फुर्तीफार्ती होला त ? अनि छोरीलाई दुई करोडको झोला भिराईदिने जीवनशैली जनयुद्धको कुन चाहिँ वाचासँग मेल खाने रहेछ ? के निम्न वर्गलाई उचालेर बन्दुक बोकाउने प्रचण्डको धनयुद्ध र धनक्रान्ति यही थियो ?
जनयुद्धका बेला आफ्ना लडाकूको जनवादी विवाह गराइदिने प्रचण्ड नातिनीको विहे भने
महँगोमध्ये पर्ने गोकर्ण रिसोर्टमा धुमधामका साथ गराइदिन्छन् । जबकी जनयुद्धमा श्रीमान् मारिएर सिन्दुर पुछिएर पनि १८ वर्षसम्म न्याय नपाएकी एक दिदी÷आमाको मनमा धनवादी विवाह देख्दा के बित्दो हो ? वर्गीय, जातीय, क्षेत्रीय र लैङगिक असमानताको डम्फु बजाएर प्रचण्डले तीनलाई शक्ति आर्जनको औजार बनाए । अनि प्रचण्ड कसरी भए सर्वहारा वर्गका नेता ? जबकी भारतविरुद्ध सुरुङ युद्ध छेड्ने भनेका प्रचण्डले भारतमै शरण लिएर बसेका बेला पहिलो मोर्चामा बन्दुक बोक्ने वर्ग अहिले बिहान खाए दिउँसो के खाने भन्ने चिन्तामा दिन बिताउँछ । तर, प्रचण्ड र उनका नेताहरुले यो पीडा बुझ्न सकेनन् । नेता कारमा र जनता हाहाकारमा बाँचिरहे ।

२.सत्ताका लागि जे पनि

माआवादीकै नेता भन्छन् कि – प्रचण्डलाई अरु केही नभएपनि हुन्छ तर सधैँ शक्तिमा भइरहनुपर्छ र सत्ता चाहिन्छ । त्यसैले त ९ वर्षसम्म लगातर सत्तापक्ष भइरहे प्रचण्ड । शान्ति प्रकृयापछि १८ वर्षमा प्रचण्ड सत्ताको दैलो उघार्न बारम्बार यता–उता भौँतारिए । विश्वास योग्य नेता भएनन् । बरु अस्थिरताका पर्याय बने । यो समयमा उनी सत्ताको खेलमा यति कुटील र अनुभवि खेलाडी भए कि जनयुद्ध र जनता सबै बिर्सिए तर दूर्भाग्य प्रतिपक्षमा पुग्ने बित्तिकै अहिले उनैलाई जनताको यादले भतभती मन पोलेर जनता सम्झनुप¥यो । सत्ताकै लागि नेकपा बनाए, जनयुद्धका बेला एमालेलाई फोहोरको डंगुर देख्ने र त्यो डंगुरलाई सफाई गर्नु पर्ने बाहेक विकल्प नदेख्ने प्रचण्ड नै सत्ता स्वार्थका लागि त्यही डंगुको अर्को फोहोर बने । उनले मान्ने पवित्र माओवाद र माक्र्सवादको सिद्दान्त पनि प्रचण्डका लागि जंगलदेखि सत्तासम्मको यात्रामा मात्रै सीमित बन्यो ।

३. परिवारवादमा र्चुर्लुम्म प्रचण्ड
प्रचण्ड जब शक्तिमा लामो समय रहिरहे । त्यसपछि जनयुद्ध र जनता बिर्सिएको चर्चा माथि नै गरिसके । त्यसपछि प्रचण्डको ध्यान गयो ,परिवार र नातागोतामा । बरु गोरु बेचेको साइनो लगाएरै भएपनि उनीसँग नाता लगाए मात्रै गणतन्त्रको फल चाख्न पाइने अवस्था बन्यो । आफू शक्तिमा हुँदा पद र ओहदा भेटाउन उनका नातेदारमध्ये सायद कोही मात्र बाँकी छन् होला । उनका ज्वाइँ जीवन आचार्यलाई कोशी प्रदेशको मन्त्री बनाउने आफ्नै पार्टीका सभामुखको जाखिर प्रचण्डले खोसिदिए । एकपटक मात्र हो र दुई पटक उनै ज्वाइँलाई मौका दिए । बुहारी बिना मगरलाई मन्त्री र भाइ नारायण दाहाललाई राष्ट्रियसभा सदस्यसम्म बनाए । स्वकीय सचिवालय प्रमुख त छोरी गंगा नै थिइन् । विदेश भ्रमणमा जाँदा समेत प्रोटोकलको खिल्ली उडाएर परिवारकै सदस्य गंगालाई साथमा लिएर हिँडे प्रचण्ड । काका नाता लाग्नेलाई राजदूतसम्म बनाए । तर घनश्यामलाई प्रचण्ड बनाएर शक्तिमा पु¥याउने जनयुद्धका सहयात्री कहिल्यै सम्झिएनन् । मन्त्री बनाउन कुनै सर्वहाराको छोरा प्रचण्डको छनौटमा परेनन् । अनि कसरी जिन्दगीभर हिरो बनिरहन्थे प्रचण्ड ?


यसबाहेक शान्ति प्रकृया समयमै टुंग्याउन नसक्नु पनि प्रचण्डको अर्को गल्ती भयो । भलै यो बिषय प्रचण्डको मात्रै नभएर शान्ति प्रकृयामा सहभागि दल र अन्र्तराष्ट्रिय संस्थाहरुको चासोको बिषय पनि हो । तर, छिटो टुंग्याउन आवश्यक दबाब दिने काम प्रचण्डबाट हुन सक्थ्यो तर त्यो हुन सकेन । जुन प्रचण्डको अर्को गल्ती थियो ।

यसबाहेक प्रचण्ड अन्र्तराष्ट्रिय शक्तिकेन्द्रका गोटी बनिरहे । जनयु्द्धमा भारतविरुद्ध सुरुङयुद्ध गर्ने भन्ने प्रचण्ड अहिले भारतकै विश्वासपात्र किन छन् ? भारतकै लागि आफ्नो देशको सीमाना मिचिँदा पनि मुखमा टेप टास्नुपर्ने अवस्थामा प्रचण्ड किन छन् ? १२ बुँदै दिल्लीमै किन गरियो । र प्रचण्डले कस्तो सुरुङयुद्ध गरेका थिए र उनलाई आज उग्र राष्ट्रवादी नेता जनताले करार गरिदिउन् ?

भ्रष्टाचारमा र्चुर्लुम्मै
माओवादी र प्रचण्डमाथि भ्रष्टाचारको आरोप लगाउँदा एक शब्द नछुटी आउँछ । त्यो हो क्यान्टोनमेन्ट । अर्थात लडाकु शिविरमा अनियमितता ।
१२ बुँदे दिल्ल सम्झौतापछि पुर्व लडाकूहरूलाई नेपाली सेनामा समायोजन प्रक्रिया सुरु भयो । त्यसबेला संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)ले प्रमाणीकरण गरेका १९ हजार ६०२ लडाकू मध्ये १५ हजार ६३० जना लडाकू ‘स्वेच्छिक अवकाश’ रोजेर घर फर्किए र १ हजार ४२१ जना नेपाली सेनामा समायोजन भए । यो प्रकृया पूरा गर्न ६ वर्षमा १९ अर्ब ७१ करोड ५२ लाख खर्च भयो । तर पुनः वर्गीकरण गर्दा २ हजार ४५६ लडाकू अनुपस्थित भेटिए । अर्थात लडाकू शिवीरमै नरहेका उनीहरुको नाममा चार अर्ब घोटला भयो । युद्धका बेला बैंक लुटपाटमा ंलग्न माओवादीले त्यसपछि नक्कली लडाकूका नाममा पैंसा संकलन ग¥यो ।

जसको छानविन गरेर आफू निर्दोष देखिने आँट प्रचण्डले पनि गरेनन् र छानविन गरी दोषीलाई कारवाही गर्ने आँट अरु दलले पनि देखाएनन् ।

एनसेल काण्ड
एनसेलको कर छुट सेयर खरिदविक्री प्रकरणमा प्रचण्डकै परिवार तानिएको छ । अर्थात छोरी गंगा दाहालकै सेटिङमा १४३ अर्बको सम्पतिलाई मात्र ६ अर्ब मूल्यांकन गरि फेरि १३७ अर्ब रुपैयाँको करमा घोटाला गरेको आरोप लाग्यो । खुलेआम ऐन कानुनविपरित गएर एनसेलको खरिद–बिक्रि भयो । नेपाली मूलका सिंगापुरे नागरिक शतीललाल आचार्यले एक युरो डलरको कम्पनी खडा गरी सेयर किने । जसको सरासर अर्थ २५ वर्षपछि नेपालकै सम्पत्ति हुने टेलिकम सरकारको हुनबाट रोक्ने ठूलो सेटिङ थियो । यसबारे छानविन गर्न समिति बनाइयो । समितिले प्रतिवेदन पनि बुझायो । आफ्नो तेस्रो कार्यकालमा प्रचण्डले ललिता निवास, वालमन्दीर बाँसबारीजस्ता जग प्रकरणको फाइल खोले । तर, एनसेल प्रकरणमा आफ्नै छोरी संलग्न रहेको फाइल लुकाइदिए । सुनकाण्डमा पनि अनुसन्धानको दायरामै नल्याइ आफ्ना नेता जोगाउने काम गरे ।
कुकुल्याण्ड काण्ड
कुकु्ल्याण्ड काण्डमा प्रचण्डको नाम रहेको दाबी गर्दै सार्वजनिक लेखा समितिमा उजुरी नै परेको छ । खासमा यो काण्ड हो चाहिँ के भने– प्रचण्डको आशीर्वादले सीमित व्यापारी कसरी मालामाल भए भन्ने उल्लेख छ । खासगरी टेलिकम क्षेत्रमा भएको व्यापक चलखेल र भ्रष्टाचार तथा त्यसमा प्रचण्ड पनि संलग्न रहेको खुलासा गरिदिएको छ । यसमा प्रचण्डका घरबेटी, व्यपारिक साझेदार अजयराज सुमार्गी, नीजि टेलिकम कम्पनी र पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँसमेतको संलग्नताको फेहरिस्त छ ।

र अन्त्यमा अब प्रचण्ड ?
मैले माथि नै भनिसके कि यति हुँदा पनि प्रचण्डको रापताप कम भएको छैन । पार्टीमा उनि निर्विकल्प जस्तै हुन् ।

यस्तो अवस्थामा पहिलो विकल्प हो, पार्टीमै गम्भीर समीक्षा । शान्ति प्रकृयापछि प्रचण्डका अयोग्यता र उनका कारण पाएका अपजसहरुको पार्टीले आन्तरिक छानविन गर्नुपर्छ र जसले जिम्मा लिने हो लिनुपर्छ । देशको सबैभन्दा ठूलो दल तेस्रोमा खुम्चिनुको जिम्मा कसले लिने ? हतारमा एमालेसँग मिले पनि एकता जोगाउन नसकेको जिम्मा कसले लिने ? ठिकै चलिरहेको सत्ता गुमाउनुको जिम्मा कसले लिने ? पार्टीका संगठन भताभुंग पार्नुमा दोषी को ?

पार्टीलाई नै बदनाम गर्ने क्यान्टोनमेन्ट, एनसेल, कुकुल्याण्डजस्ता काण्डको शती को जाने ? माओवादी छरिएर बस्न बाध्य हुनुको मूल कारक को ? परिवारवाद हावी पार्ने को ? उच्च खानदानी र पुँजीपति जीवनशैली बिताएर जनता बिर्सिने को ? ९ वर्ष सत्तापक्ष बन्दाको उपलब्धी के ? सर्वहारा जनताका लागि पार्टीले के कति काम ग¥यो ? के कति आवाज उठायो । २०५२ सालमा जंगल पस्दा शेरबहादुर देउवालाई बुझाइएको ४० बुँदे ज्ञापन पत्रमध्ये माओवादी सरकारमा हुँदा कति बुँदाको समाधान खोजियो ? यी बिषयमा निर्मम समीक्षा नगरे माओवादीको मिसन चौरासी, ०८४ साल नपुग्दै सकिने पक्का छ ।

यसबाहेक प्रचण्ड सुध्रिएर पार्टीलाई पुर्नजागरण गर्ने विकल्प हो । १८ वर्षदेखि बिगारेको काम यीनै प्रचण्डले १–२ वर्षमा सुधार्ने सम्भावना नै छैन । जुन असम्भव हो । पार्टी आन्तरिक रुपमा मात्रै बिग्रिएको र जनतामा राम्रै छाप भए अर्को पाटो हो । तर, जनताले नै माओवादीको विकल्प खोज्न थालिसकेपछि यो असम्भ नै हो । प्रचण्डको विकल्पमा कोही अरु नै नेतृत्वमा आएर पार्टीलाईलाई पहिलेको अवस्थामा पु¥याउँछु भन्नु अब असम्भव जस्तै हो । किन कि प्रचण्ड ब्राण्ड नै असफल र उनको फोटो ने विक्न छाडेको निष्कर्ष नेताहरुले निकाल्दा अरुको हातबाट दाल गल्नु फलामको चिउरा चपाउनु सरह नै हो । हुन त अहिले संविधान संसोधनको मुद्दा उठाएर जनतामा जाने सुुनौलो मौका माओवादीलाई छँदैछ ।

माओवादी क्रान्तिको मुद्दा जीवितै छ । तर, त्यसलाई सदुपयोग गर्न जान्नुप¥यो ।
त्यसकरण अहिलेको बिन्दुबाट हेर्दा माओवादीको पहिलो विकल्प नै– थप क्षति हुन नदिने हो । चुनावमा १०–१५ सिट जित्न र बार्गेनिङ पावर बढाउन एमालेबाट लखेटिएका सहित पूर्व माओवादीहरुलाई पनि एकता प्रकृयामा ल्याउनु वा मोर्चाबन्दी गर्नु नै हो । अर्काे महत्वपूर्ण कुरा अर्को विद्रोह नै चाहिँ नगर्ने पक्षमा प्रचण्ड पनि छन् । तर विदेशी शक्तिहरुले नेपालमा अस्थिरतालाई प्रश्रय दिन प्रचण्डलाई अस्त्र चाहिँ बनाउन सक्छन् ।