अन्तर्राष्ट्रिय

एकजुुट हुँदै अरबी देश, इजरायलविरुद्ध हिजबुल्लाह र इरानकै दोहोरो फायरिङ


काठमाडौँ इजरायल र हिजबुल्लाह समूहबीच उत्तेजक झडप भएको एक हप्ता भएको छ । हमास समूहसँग युद्ध लडिरहेको इजरायलले एकाएक लेबनानस्थित हिजबुल्लाह समूहमाथि आक्रमण थालेपछि मध्यपूर्वमा युद्ध थप चर्किने खतरा बढेको छ ।

प्यालेस्टिनी हमास समूहले इजरायलमाथि भीषण आक्रमण गरेको वर्ष दिन पूरा भएको छ भने हमासको सहयोगी हिजबुल्लाहमाथि पनि इजरायलले कारबाही थालेसँगै मध्यपूर्व थप युद्धको चपेटामा परेको छ । बढ्दो युद्धले यस क्षेत्रलाई चौतर्फी द्वन्द्वमा तान्न सक्ने नजिकबाट हेरिरहेकाहरूले चेतावनी दिँदै आएका छन् । पछिल्ला केही दिनमा देखिएका युद्धका परिदृश्यले त्यसलाई वास्तविकता नजिक पु¥याएको छ ।

हमास समूहलाई ध्वस्त पारेपछि इजरायली सेनाले हिजबुल्लाह केन्द्रित आक्रमणलाई तीव्र बनाएको छ । छिमेकी मुलुक लेबनान समर्थित हिजबुल्लाहविरुद्ध युद्ध छेडेको इजरायली सेनाले लेबनानी भूमिमै प्रवेश गरेर स्थल सैन्य कारबाहीलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ । हिजबुल्लाहविरुद्ध इजरायली सेनाले सुरुमा पेजर र वाकीटकीमार्फत आक्रमणको रणनीति अगाडि बढाएको थियो । हिजबुल्लाह समूहको सबैभन्दा भरपर्दो सञ्चार सेवाको रुपमा रहेको पेजर र वाकीटकीमा विस्फोटक पदार्थ राखेर इजरायली सेनाले आक्रमणको धावा बोलेको थियो ।

त्यसबाट हिजबुल्लाह समूहले ठूलो क्षति व्यर्होनु परेको थियो । जसको बदला स्वरुप हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेर जवाफ दियो । एक वर्षदेखि गाजामा हमासविरुद्ध युद्धमा रहेको इजरायलको आक्रमण पछिल्लो समय लेबनानस्थित हिजबुल्लाह समूहमाथि केन्द्रित भएको छ । जसका कारण पश्चिम एसियामा पूर्ण रूपको युद्ध चर्कने त्रास बढ्दो छ । हिजबुल्लाहका सैन्य संरचना ध्वस्त पार्न भन्दै गत मंगलबार इजरायली सेना स्थलमार्गबाट लेबनान प्रवेश गरेको थियो । त्यसलगत्तै इरानले इजरायलमाथि एक सय ८० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो । हिजबुल्लाहसंग युद्ध सुरु भएको एक हप्ता पूरा भएको छ । यस अवधिमा कम्तीमा हमास समूहको २ सय ५० लडाकु मारिएको इजरायलले दाबी गरेको छ ।

तीमध्ये ५ जना ‘ब्रिगेड’ तहका कमान्डर रहेका जनाइएको छ । हिजबुल्लाहको आक्रमणमा एक क्याप्टेनसहित ९ जनाको ज्यान गएको इजरायली सेनाले जनाएको छ । इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले हिजबुल्लाहको क्षेप्यास्त्र तथा रकेट विभागमा निकै ठूलो क्षति पु¥याएको दाबी पनि गरेको छ । यता इजरायलको तेस्रो ठूलो सहर ‘हाइफा’मा हिजबुल्लाहले पुनः रकेट प्रहार गरेको छ । हिजबुल्लाहले हाइफाको दक्षिणी क्षेत्रमा इजरायली सेनाको अखडालाई लक्षित गर्दैै आक्रमण गरेको दाबी गरेको छ ।

सो आक्रमणबाट इजरायलका केही भवनमा क्षति पुगेको र १० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । हिजबुल्लाहले हाइफा सहरमा १ सय भन्दा बढी रकेट आक्रमण गरेको जनाइएको छ । हिजबुल्लाहको आक्रमणलगत्तै इजरायलले आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय बनाएको थियो भने केही रकेटहरुलाई आकाशमै नष्ट पारिएको थियो । उता, इजरायली सेनाले गाजामा पनि हमासलाई लक्षित गर्दै अस्पतालहरुमा भीषण आक्रमण गरेको छ ।

हमासले पनि इजरायलतर्फ चार वटा रकेट प्रहार गरेको छ । त्यस्तै इजरायलले गएराति लेबनानमा हिजबुल्लाह लक्षित अहिलेसम्मकै घातक आक्रमण गरेको छ । यसले पनि मध्यपूर्वको युद्ध अझ झाँगिएको छ । मध्यपूर्वका प्रमुख शक्तिहरू नै युद्धमा होमिएपछि विश्वव्यापीरूपमा चिन्ता बढिरहेको छ ।

पछिल्लोपटक अक्टोबर १ मा इरानले इजरायलमाथि आक्रमण गरेपछि मध्यपूर्वको युद्धले नयाँ रूप लिने निश्चित देखिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने इजरायलमाथि आक्रमण गर्नेमाथि कारबाही गर्ने दृढता व्यक्त गरेका छन् ।

यता इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इरान र यसका क्षेत्रीय सहयोगीहरू इजरायलसँग पछि नहट्ने बताएका छन् । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी आक्रमण बढाएपछि खामेनीले पछि नहट्ने बताएका हुन् । इरानले पनि इजरायलमा क्षेप्यास्त्र प्रहार गरेको थियो । एक वर्षदेखि गाजामा हमासविरुद्ध युद्धमा रहेको इजरायलको आक्रमण पछिल्लो समय लेबनानसम्म फैलिएपछि पश्चिम एसियामा संकट उत्पन्न भएको छ । यो युद्ध रोक्न अरब मुलुकका साथै विश्व शक्ति राष्ट्रहरुले प्रयास गरे पनि युद्ध विरामको सम्भावना तत्काल देखिएको छैन ।।