Breaking

दशैँको मौका छोपेर बढी भाडा असुल्ने ३१ जना प्रहरीको फन्दामा


काठमाडौँ – चाडबाडको मौका छोपेर काठमाडौंका विभिन्न स्थानबाट यात्रुसँग बढी भाडा असुल्ने ३१ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबारमात्र बल्खुबाट एउटा सवारी साधनसहित ८ जना, नयाँ बसपार्कबाट ६ जना र कोटेश्वरबाट ३ जना गरी १७ जना पक्राउ परेका हुन् ।

यस्तै सोमबार बल्खुबाट १० जना, नयाँ बसपार्कबाट २ जना र कोटेश्वरबाट २ जना गरी १४ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूलाई थप कारवाहीका लागि सम्बन्धित प्रहरी वृत्तमा बुझाइएको छ । चेकजाँचकै क्रममा निजी नम्बर प्लेटका सवारी साधनले प्रयोजनविपरीत भाडामा यात्रु बोकेको अवस्थामा २ वटा सवारीसाधनलाई समेत नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए ।

चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने समस्यालाई सम्बोधन गर्नका लागि काठमाडौं उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुको गुनासो सम्बोधन र सहजताका लागि ट्राफिक प्रहरीले अनुगमन तथा निरीक्षण गर्दै आएको छ ।

डीआईजी भरतबहादुर बोहराका अनुसार चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन विशेष कार्ययोजना-२०८१ को प्रभावकारी कार्यान्वयन गर्नका लागि आवश्यकता अनुसार जनशक्ति परिचालन गरिएको छ । यसले विशेष गरी चाडपर्वको मौका छोपी बढी भाडा लिए नलिएको, लामो दूरीका सवारी साधनमा २ जना चालक भएरनभएको, काउण्टरमा भाडादर टाँस्न लगाउनुका साथै सवारी साधनको क्षमताभन्दा बढी यात्रु राख्ने, फर्जी टिकट काट्ने र यात्रुको सुरक्षा सुनिश्चितता जस्ता विषयमा विशेष केन्द्रित भएको उनले बताए ।

गत १७ गते नयाँ बसपार्कबाट नक्कली टिकट बनाई टिकट बिक्री गर्दै गरेको अवस्थामा टिकटको ठेलीसहित एकजना भने आवश्यक कारवाहीको लागि प्रहरी प्रभाग गोंगबुको नियन्त्रणमा छन् । यात्राका क्रममा कसैले अनावश्यक दुखः हैरानी दिएमा, बढी भाडा लिएमा वा कुनै पनि समस्या भएमा तत्कालै ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन कार्यालयले अनुरोध गर्दै आएको छ ।