Uncategorized

दसैंमा मौसम खुल्दै


काठमाडौ – पश्चिम नेपालबाट मनसुन बाहिरिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको बताएको छ । मनसुनी वायु कमजोर हुदै गइरहेकाले बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले बताएको छ ।नेपाली आकाशबाट मनसुन बाहिरिन सुरु भएसँगै झरीको सम्भावना टरेको छ । पश्चिमी वायुको प्रभाव नदेखिए पनि केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । भोलि कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पर्सि कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । दसैं अवधिभरि भारी वर्षाको सम्भावना भने नरहेको मौसमविदहरूले बताएका छन् ।