Breaking

खाद्यमा खसी खोसाखोस, कहाँ पाइन्छ सस्तो र स्वस्थ ?


काठमाडौँ – खाद्य कम्पनीले सहुलियतमा खसीबोकाको बिक्री सुरु गरेको छ । तर, कम्पनीले बजारमा मूल्यको सन्तुलन गर्न सस्तोमा बिक्री सञ्चालन गरेको दाबी गरिरहँदा निजी व्यवसायी भने सरकारले खाद्य कम्पनीलाई दिने अनुदान रकम आफूहरूलाई दिए कम्पनीले तोकेको मूल्य भन्दा निकै कम मूल्यमा बेच्ने बताइरहेका छन् ।

हिन्दुहरूको महान् चाड बडादशैंमा मासुको माग बढी हुने भएकाले यो पर्वमा खसीबोकोको बिक्री वितरण विशेष प्राथमिकतामा पर्ने गर्छ । जसका कारण दशैं भत्रासाथ खसी, बोका च्यांग्रा र भेडाजस्ता पशुहरूको किनबेचलाई नेपालीहरूले रौनककै रुपमा लिने गरेका छन् । त्यसैले प्रत्येक वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी, बोका तथा च्यांग्राको सुपथ मुल्यमा बिक्री वितरण गर्दै आएको छ ।

चाडबाडलाई लक्षित गरेर हरेक वर्ष सञ्चालन गर्दै आएको कम्पनीले यस वर्ष पनि आइतबारदेखि खसी, बोका तथा च्यांग्राको बिक्री थालेको छ । धेरै किनबेच हुने हुँदा उपभोक्तालाई राहत होस् भन्ने उद्देश्यले सरकारी स्तरबाट सहुलियत बजार सञ्चालन गरेको हो । बिक्री थालेको पहिलो दिन नै उपभोक्ताहरू कम्पनीको प्रादेशिक कार्यालय थापाथली पुगेका थिए ।

१४ सयवटा खसीबोका र तीन सयवटा च्यांग्रा बेच्ने कम्पनीले पहिलो दिनसम्ममा आठ सयवटा खसी, बोका र च्यांग्रा ल्याइसकेको गरेको छ । बाँकी नौ सय जति खसी बोकाहरू आई पुग्न अझै दुई दिन जति लाग्ने कम्पनीले बताएको छ । बाढी पहिरोले सडक अवरुद्ध भएको र सबै बाहिरी जिल्लाबाट आउने हुँदा ढुवानीमा समस्या हुँदा ढिला भएको कम्पनीको भनाइ छ । खाद्यले प्रतिकिलो जिउँदो खसीबोका र च्यांग्राको मूल्यमा १० रुपैयाँ छुट दिएको छ । जिउँदो खसीबोकालाई प्रतिकिलो ६६० रुपैयाँ तोकेको छ । जिउँदो च्याङ्ग्राको मूल्य १२ सय २० रुपैयाँ प्रतिकिलो तोकिएको छ । काठमाडाँैमा मात्रै दशैंको समयमा २० हजार खसीबोका खपत हुन्छ । ती सबै कम्पनीले उपलब्ध गराउन सक्नेस्थिति नभएको हुँदा दसैं तिहार मात्र मासुको आपूर्तिमा केही सजहता र बजार मूल्य स्थिर राख्ने हेतुले सहुलियत पसल सञ्चालन गरेको कम्पनी बताउँछ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित गरी सञ्चालन गरेको सुपथ मूल्यले आम सर्वसाधारणमा केहि राहत मिलेको छ । चर्काे मूल्य र बिचौलियाबाट हुन सक्ने ठगीबाट जोगिन उपभोक्ताहरू खाद्य कम्पनीतर्फ आकर्षित हुने गरेका छन् । खाद्यप्रति आमसर्वसाधारणको विश्वसनीयतासँगै सस्तोमा स्वस्थकर उपभोग्य वस्तु पाउने भएकाले पनि आममानिस खाद्यमा नै जाने गरेका हुन् । बार्गेनिङ गरिरहनु पर्ने झन्झट पनि नहुने र बजारमा चल्ने दर भन्दा सुपथ मूल्यमा स्वास्थ्य परीक्षण गरिएको मासु पाउने भएका कारण खाद्य कम्पनीमा नै आउनु परेको उपभोक्ताको भनाइ छ ।

खाद्य बाहेक पनि काठमाडौँमा खसी बोका बिक्री हुने ठाउँ अन्य थुप्रै छन् । टुकुचा, खसी बजार, दहचोकमा निजी व्यवसायीहरूले आफ्नै खर्चमा खसीबोका बिक्री गर्ने गरेका छन् । जहाँ तुलनात्मक रुपमा खाद्य कम्पनीको भन्दा केही रकम बढी हुने गरेको छ । आइतबारकै मूल्यसूची अनुसार लोकल खसीमा समान मुल्य राख्दा तराईको खसीमा भने ६० रुपैयाँ बढाएर प्रतिकिलो ७२० तोकिएको छ । त्यस्तै च्यांग्रा प्रतिकिलो ८० रुपैयाँ बढ्दा १३०० मुल्य तोकिएको छ, भने बोकामा भने १० रुपैयाँ कम गरेर ६५० मा बेचिरहेको छ । तर, प्रत्येक दिन मूल्य घटबढ भई रहने यस्ता पशु चौपाय बिक्री वितरण केन्द्रका सञ्चालकहरू भने आफूहरूले तोक्ने मूल्य सरकारले अनुदानमा दिएको मूल्य भन्दा धेरै कम भएको दाबी गर्छन् । खाद्य कम्पनीलाई दिने करोडौंको अनुदान आफूहरूलाई दिए खाद्यले बेच्ने रकम भन्दा धेरै कम मुल्यमा बेच्ने उनीहरूको तर्क छ ।

प्रत्येक वर्ष बजार महङ्गी बढ्दा सामान जति सस्तो भए पनि नागरिक भने मारमा परेका छन् । तुलनात्मक रुपमा अन्यत्र भन्दा खाद्यमा सस्तो हुने गरेता पनि प्रत्येक वर्ष बिक्री गर्ने परिमाण भने घटाउँदै लगेको छ । विगतका वर्षहरूमा दुई हजार, तीन हजार खसीबोकाहरू बिक्री वितरण गर्ने गरेको कम्पनीले अहिले भने यो संख्या घटाउँदै १७ सय मा झारेको छ । मकवानपुर, दाङ, सुर्खेत, रोल्पा, रुकुम धादिङ नवलपुरबाट खसीबोका र मुस्ताङका च्याङ्ग्रा काठमाडौं भित्रने गरेका छन् । दशैंमा काठमाडौं उपत्यकामा मात्रै ४५ देखि ५५ हजार वटा सम्म खपत हुने खसी बोका, च्यांग्राले ९० प्रतिशतसम्म मासुको माग स्वदेशी उत्पादनले धनिरहेको छ । सबै क्षेत्रमा भारती र चीनको सामानले बजार ओगटिरहेको अवस्थामा नेपाली कृषकको आफ्नो उत्पादनले बजार पाउँदा यसले केही राहत पनि मिलेको छ ।