दुर्घटना

हुम्लामा जीप दुर्घटना, दुईजनाको मृत्यु


काठमाडौँ— हुम्लाको ताँजकोट गाउँपालिका–४, तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । हुम्लाबाट बाँकेको नेपालगन्जतर्फ जाँदै गरेको लु१ज २३४३ नम्बरको जीप आज दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा नेपालगन्ज उपमहानगरपालिका–२० निवासी ४९ वर्षीय विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका–६ का करिब ६ वर्षीय बालक अभिषेक बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

रोकिराखेको जीप आफैँ पछाडितर्फ गुडेर ३०० मिटर तल खसेको बताइएको छ । ज्यान गुमाएका परियार दसैँ मनाउनका निम्ति सदरमुकाम सिमकोटबाट घरतर्फ र उनीसँगै बालक बुढा पनि मामाघर गइरहेका थिए ।