देश

भारत र चीनसँगको सम्बन्धलाई बराबर प्राथमिकता दिनुपर्छ : नारायणकाजी श्रेष्ठ

yohokhabar

काठमाडौँ— नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालले भारत र चीन दुवै छिमेकीसँगको सम्बन्धलाई बराबर प्राथमिकता दिनुपर्ने बताएका छन् ।

नेपाललाई समृद्ध बनाउन भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई समानतामा आधारित भएर अगाडि बढाउनुपर्ने उनले बताए ।

आज काठमाडौंमा आयोजित नेपाल–भेनेजुयलामैत्री संघ घोषणा कार्यक्रममा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले नेपालले जहिले पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने धारणा राखे ।

‘कुनै एउटासँग घनिष्ट सम्बन्ध, अर्कोसँग अलि दूरीको सम्बन्ध हामी त्यसको पक्षमा छैनौं । मुख्यतः हामी भारत र चीन दुवैसँग मैत्रीपूर्ण सम्बन्धलाई अगाडि बढाउन चाहन्छौं । र त्यो मैत्रीपूर्ण सम्बन्ध हाम्रो स्वभाविक रुपमा समनिकटताको आधारमा हुन्छ दुवै देशसँग समानताको आधारमा हुन्छ’, उनले भने । नेता श्रेष्ठले विश्व राजनीति एशिया केन्द्रित भइरहेकाले नेपालले पनि भूराजनीतिक संवेदनशीलतालाई बुझेर परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने बताए । राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर सबैसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने नीतिलाई नेपालले अघि बढाउनुपर्ने उनको भनाइ छ ।

‘हामीले स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने, पञ्चशीलको मान्यतालाई अवलम्बन गर्ने, संयुक्त राष्ट्र संघको बडापत्रलाई मूल आधार बनाउने, असंलग्नतालाई स्वीकार गर्ने र आफ्नो देशको राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर अगाडि बढने र सबैसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने नीतिलाई अगाडि बढाउनुपर्छ’, उनले भने ।