Breaking

भुटानमा पूर्वराजा ज्ञानेन्द्रको जयजयकार, बहाना पारिवारिक–उद्देश्य राजनीतिक


पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा छन् । भुटानका राजा जिग्मे खेशर नामग्याल वाङचुकको निमन्त्रणामा भुटान पुगेका पूर्वराजा ज्ञानेन्द्रको भ्रमण निजी भए पनि भुटानले गरेको भव्य स्वागत र उच्चस्तरीय भेटघाटले नेपालको राजनीतिक वृत्त तरंगित बनेको छ । पूर्वराजाको भुटान यात्रा निजी भनिए पनि त्यसमा राजनीतिक गन्ध रहेको विश्लेषणसमेत भइरहेको छ ।


पूर्वराजा ज्ञानेन्द्र शाह अहिले सपरिवार भुटान भ्रमणमा छन् । भुटानका राजा जिग्मे खेशर नामग्याल वाङचुकका पिता जिग्मे सिङगे वाङचुकको निमन्त्रणामा उनी भुटान पुगेका हुन । भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एयरलाइन्सबाट थिम्पु पुगेका पूर्वराजपरिवारको स्वागतमा भुटानी अधिराज कुमारी पेमाल्हादेन वाङचुक विमानस्थल पुगेकी थिइन् । छोरी प्रेरणा, भतिजी शिताष्मा, पारिवारिक सदस्य राजु सिंहसहित पाँच सदस्यीय पारिवारिक टोलीसहित बिहीबार थिम्पुमा अवतरण गरेका पूर्वराजालाई भुटानले विमानस्थलमै रेड कार्पेट बिच्छ्याएर भव्य स्वागत ग¥यो । स्वागतपछि कारकेडसहित राजकीय अतिथि गृह पु¥याइएको थियो । अतिथि गृहमा शाही धर्मगुरूले अभिषेक र आशिरवचन प्रदान गरे । शुक्रबार भुटानका बडामहारानी, आफ्ना पुराना सहपाठी जिग्मे सिङगे वाङचुकका साथै भुटानका वर्तमान राजा जिग्मे खेशर नामग्याल वाङचुकसँग पनि भेटघाट गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह र भुटानी राजा जिग्मे खेशर नामग्याल वाङचुकका पिता जिग्मे सिङगे वाङचुक सहपाठी हुन् । उनीहरु दार्जिलिङमा अध्ययन गर्दा सहपाठी थिए । यति मात्र नभई नेपालका पूर्वराजपरिवार र भुटानको राजपरिवारबीच पारिवारिक सम्बन्ध धेरै पुरानो मानिन्छ । त्यसैले पनि पूर्वराजपरिवारको भुटान यात्रा र भेटघाटलाई पारिवारिक भनिएको छ । तर पूर्वराजा ज्ञानेन्द्रको भुटान भ्रमण पारिवारिक भ्रमणको रुपमा मात्र विश्लेषण गर्नु अपरिपक्वता हुनेछ । पारिवारिक भनिएको पूर्वराजा ज्ञानेन्द्रको भुटान बसार्इं मुख्यतः राजनीतिक भएको विश्लेषण हुन थालेको छ । अर्थात भारतको इसारामा भुटानले ज्ञानेन्द्रलाई स्वागत गरेको चर्चा छ ।

भारतीय संस्थापनले भुटानी राजामार्फत आफ्नो सन्देश पूर्वराजा ज्ञानेन्द्रलाई दिन खोजेको बुझिएको छ । यसलाई नकार्न सकिने अवस्था पनि छैन । किनभने भुटान सार्वभौम मुलुक भए पनि यहाँको शासन सत्ता भारत निकट मानिन्छ । भुटानको शासन सत्ता पूर्णत भारत निर्भर छ । कारण भुटानी राजा भारत निकट भएर शासन चलाइरहेको तथ्य छर्लङ छ । भुटानमा पूर्वराजाले भुटान सरकारका उच्च पदस्थ पदाधिकारीसँग मात्र नभई पारिवारिक भेटघाटको बहानामा भारतीय प्रतिनिधिहरुसँग पनि भेटघाट गर्ने बुझिएको छ ।

केही समय अघि मात्र भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री ल्योन्पो जेम छिरिङ नेपाल आएका थिए । यो अवधिमा भारत र भुटानबाट ठूलै संख्यामा अदृश्य भ्रमण तथा भेटघाट भइरहेको कतिपयको दाबी छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पटक पटक भेट्ने योजना असफल भएपछि पूर्वराजा ज्ञानेन्द्रले भुटानलाई माध्यमका रुपमा रोजेनन् भन्न सकिँदैन । किनभने पूर्वराजा ज्ञानेन्द्रले भारतसँग नजिकिने रणनीतिकै कारण चीनलाई निरन्तर इग्नोर गर्दै आएका छन् । चीनले भ्रमणको निम्तो दिए पनि उनले चीन जाने चेष्टा गरेनन् । व्यवस्था फेरिएको यत्तिका वर्ष बिते पनि नेपाली नागरिकको अवस्था ज्यूका त्युँ छ । राजनीतिक नेतृत्वप्रति नागरिकको वितृष्णा आकाशिएको छ । दल र नेताहरु जति अलोकप्रिय हुँदै गएका छन्, यसबीचमा पूर्वराजाको क्रेज बढिरहेको छ । यो विषयलाई भारतले निगरानीमा राखी नै रहेको छ । नेताहरुको नाडी छामेर थाकेको भारतले अब राजाको नाडी छाम्ने कसरत थालेको त होइन भन्ने तर्क विज्ञहरुको छ ।

अर्को भारतले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै भर गरेको छैन । भारत निकट परराष्ट्रमन्त्री डाक्टर आरजु राणामार्फत नेपाल–भारत सम्बन्ध सुधार्ने ओलीको योजना भारतीय प्रधानमन्त्री मोदीकै इग्नोरेन्सले सफल हुन सकेको छैन । ओलीले मोदीलाई पटक पटक नेपाल भ्रमणको निम्तो दिए पनि पहिलो विदेश भ्रमण भारतबाट थालनी गर्ने उनको सपनामा भारत नै बाधक बनिरहेको छ । मोदी अझै ओलीलाई स्वागत गर्न तयार देखिँदैनन् । नेपालमा हिन्दुराज्य र राजासंस्थाको माग गर्दै हुने गरेका आन्दोलनले भारतलाई मलजल मिलेको छ । दुई ठूला शक्ति मिलेर सरकार बनेपछि अन्य शक्तिहरु थप सल्बलाएका छन् । जसको कारण राजसंस्थाको बहस चुलिएकै छ । एकले अर्काको अस्तित्व स्वीकार्नै नसक्ने राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटलाई लिन सकिन्छ । राजाको पक्षमा रहेका रविन्द्र र भारत निकट प्रचण्डको भेटले प्रश्न उब्जाउनु स्वभाविक हो । दुुबैले देश यथास्थितिमा अघि बढ्न नसक्ने निष्कर्ष निकालेका थिए । विज्ञहरु नेताले राजसंस्था फर्काउनेमा विश्वास गर्दैनन् तर बहस गर्माउनमा भने भूमिका खेलेको तर्क गर्छन् ।

बदलिएको विश्व भूराजनीति र दक्षिण एसियामा भारतले आफ्नो भूमिका खोजी गरिरहेको छ । विगतमा आफ्नो प्रभृत्व रहेका नेपालसहित अन्य छिमेकी मुलुकहरुमा अरु नै शक्तिको बढ्दो प्रभावले भारत शशंकित छ । सोही कारण राजसंस्था र हिन्दु राज्य पुनःस्थापनाका लागि भारतले उथलपुथलको भूमिका नखेल्ला भन्न सकिँदैन । यद्यपि, नेपाली जनताले लामो संघर्षपछि हटाएको व्यवस्था तत्काल फर्किनेमा भने कमैले विश्वास गरेका छन् ।