Breaking

शक्ति राष्ट्रसँग आरजुको उठबस, मन्त्रीलाई काइदा देशलाई के फाइदा ?


१८ दिन विदेश सयरमा व्यस्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छिन् । यो बिचमा आरजुले क्यानडा, अमेरिका र कतारको भ्रमण गरेकी छन् । यसबीचमा महत्वपूर्ण फोरम र उच्चस्तरीय भेट गरेकी आरजुको कस्तो रह्यो १८ दिने यात्रा ?

नेपाली राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओलीपछिको रापतापमा कोही छन् भने ती हुन् परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा । आफ्नो रुचिकै मन्त्रालय पाएपछि व्यक्तिगत सम्बन्धले पनि अहिले देशभन्दा विदेशमै उनका दिन कटिरहेका छन् । सम्भवतः मन्त्री बनेपछि भएका भ्रमण र कार्यक्रमहरुमा उनको रेकर्ड नै हुनुपर्छ । मन्त्री बनेलगत्तै भारतको औपचारिक भ्रमणमा गएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत ग्रहण गरेकी आरजुले एमालेको मनमा चिसो पसाइन् । लगत्तै क्यानडा भ्रमणमा गएकी आरजु १८ दिनपछि स्वदेश फर्किएकी छन् ।

मन्त्री राणा गत भदौ ३१ गते क्यानडा प्रस्थान गरेकी थिइन् । महिला परराष्ट्रमन्त्रीको बैठक सकाएर राणा असोज ६ गते अमेरिकाको न्यूयोर्क पुगेकी थिइन् । असोज १७ गते कतारको दोहा पुगेकी आरजु १८ गते स्वदेश फर्किएकी हुन् । यसक्रममा उनले एमसीसी प्रमुख एलिसा अलब्राइटन, समकक्षी र एसिडी समूहमा आबद्ध एसियाली राष्ट्रहरुका प्रमुखसँग महत्वपूर्ण भेटवार्ता गरेकी छन् ।

आरजुको भ्रमण स्याड्युल यतिसम्म टाइट छ कि दशैंलगत्तै अमेरिकी विदेशमन्त्रीको निमन्त्रणामा फेरि अमेरिका उड्ने तालिका छ । देश विपत्तिमा परेका बेला मन्त्री र कर्माचारी आलोचित हुँदा आरजुलाई भने हाइँसञ्चो छ । प्रधानमन्त्री ओलीले भेटेकै अधिकारीहरुसँग फेरि भेटेर फोटो खिचाइरहेकी आरजुलाई देश विपद्मा परेको खासै चिन्ता छैन । हुन त नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको दायरामा ल्याइनुपर्ने माग भइरहेकै समयमा आरजु मन्त्री बनेकी थिइन् । तर, मन्त्री बनेपछि भने उनले व्यक्तिगत रुपमा केही फड्को मारेको देखिन्छ ।

आरजुले नै अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको भेट गराउन सफल भइन् । अमेरिकामा आरजु र ओली सँगै सहभागी हुने कार्यक्रममा ओलीको आलोचना हँुदा आरजु भने त्यसबाट जोगिन सफल भएको देखिन्छ । यतिमात्र नभई मध्यपूर्वमा बढ्दो युद्धको अन्त्य र विश्व शान्तिका लागि अपिल गरिन् । हमास समूहले कब्जामा राखेका कञ्चनपुरका विपिन जोशीको रिहाईका लागि अन्तर्राष्ट्रिय समूूदायलाई आग्रह गरे पनि एक्सन ओरियन्टेड काम देखिन सकेको छैन । भूकम्प लगायत अन्य प्राकृतिक विपत्तिका समयमा राहत र सहानुभूतिका लागि छिमेकी र अन्तर्राष्ट्रिय दातृ निकायको ओइरो लाग्थ्यो । तर, आरजुले यत्तिसम्म पनि पहल नगर्दा उनले फड्को मारेका सबै काम देशका लागि नभई आफ्ना लागि मात्रै लाभदायक भएको कांग्रेस नेताहरुकै विश्लेषण छ ।

आरजुको यो भ्रमणलाई ओली–मोदी सम्बन्ध सुधारको सेतुका रुपमा हेरिँदा यसकै लागि अनेक प्रयाससमेत भएका छन् । यसवर्षको दशैंका लागि नेपालको चुच्चे नक्सा अंकित नयाँ नोट छापिएको थियो । तर, भारतलाई थप नचिढ्याउनकै लागि छापिसकेका नोट समेत वितरण नगरेको चर्चा छ । भारतको सदासयताका लागि नेपालले यतिसम्मको कुर्बानी गर्दा पनि तत्काल भारतले ओलीलाई विश्वास गरेको देखिँदैन । यसको छनक अमेरिकामै पाईसकिएको छ । ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदा मोदीले भने भारत बोलाएका थिएनन् । आरजुको सफलता भनिएको मुख्य विषय नै असफल बन्नु र १८ दिनमा भएका भेटघाटले देशका लागि तात्विक प्रभाव नपार्ने भएकाले आरजुुको विदेश भ्रमण घुमघाम र रमाउने मौका मात्र भएको विज्ञहरुको बुझाइछ ।

अहिले सार्क राष्ट्रको अध्यक्षता नेपालले गरेको छ । तर, मन्त्री राणाले अमेरिकामै सार्क राष्ट्रका विदेशमन्त्रीको बैठक गर्न खोजे पनि भारतकै कारण बस्न सकेन । बढ्दो भूराजनीतिक प्रभाव र विश्वमै द्वन्द्व बढेकै समय अमेरिकाबाट सरकार र कांग्रेसका लागि आरजुले ल्याउने सन्देश महत्वपूर्ण हुनेछ । यस्तो अवस्थामा एमालेको चीन झुकाव, प्रचण्डको कम्युनिस्ट एकताका नाममा उथलपुथलको संकेत लगायत गतिविधिको परिणाम देखिन बाँकी नै छ । अर्कोतर्फ मन्त्री बनेदेखि नै विदेश भ्रमणमा व्यस्त आरजुको प्राथमिकतामा चीन भ्रमण नपर्नुलेसमेत केही संकेत गरिरहेको छ ।